Loading...
सप्तरी घटनाको छानविन गर्न मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको माग

धनुषा ,किरण कर्ण ।  मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको अध्यक्ष रोशन जनकपुरीले सप्तरीमा प्रहरीबाट भएको घटनाले स्तब्ध तुल्याएको बताएको छ । सप्तरीको राजविराजमा प्रदर्शन गरिरहेका जनसमूह माथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यू र दर्जनौँ घाइते भएको घटनाले स्तब्ध तुल्याएको अध्यक्ष रोशन जनकपुरीले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

 

यस घटनालाई नृशंसको संज्ञा दिदैँ अध्यक्ष जनकपुरीले नृशंस घटनामा संलग्न रहेको दोषी माथि कडा कारवाहीको माँग गरेको छ । अध्यक्ष जनकपुरीले जारी गरेको विज्ञप्तिमा नृशंस हत्याकाण्डले राज्यको दमनकारी र जनविरोधी चरित्र एक पटक फेरी नांगिएको उल्लेख छ । यस वर्तमान राज्य व्यवस्था संकीर्ण शासक जातीय चरित्रको रहेको पनि प्रष्ट भएको सो विज्ञप्तिमा लेखिएको छ । “राज्य प्रति जन आक्रोशको कारण अप्रिय स्थिती उत्पन्न हुने सम्भावना हुदाँ हुँदै पनि समस्याको राजनीतिक समाधान खोज्नुको साटो शासकीय जातिको दम्भ प्रदर्शन गर्दै जनईच्छा विपरित प्रहरी प्रशासनको बलमा एमालेको कार्यक्रम गराउन खोज्नुले नै यो अप्रिय स्थिती सृजना भएको हो” अध्यक्ष जनकपुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष जनकपुरीले जारी गरेको विज्ञप्तिमा नेकपा एमाले तर्फ ईंगित गर्दै उनले चुनावी राजनीतिमा वर्चस्व र तागत प्रदर्शन गरेर भोट बैंक निर्माण गर्ने संघर्षको परिणतीकै कारण सप्तरी घटना हुनु दुखदायी हो । “अभिजात्य वर्गीय पारम्परिक शासक जाति र विस्तारवादीहरुको हीत साधनको हतियार वर्तमान संविधान र संसदीय व्यवस्थामा मधेशी समुदायले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् । हाम्रो दृष्टिकोण न त निर्वाचन न त संविधान संशोधनले नै मधेशी जनतालाई अधिकार दिलाउन सक्दछ ।

 

वस्तुतः यस संविधानले वास्तविक अर्थमा आत्मनिर्णय र स्वायत्ततालाई आत्मसात गर्न सकेको छैन, जुन मधेश आन्दोलन लगायत उत्पीडित समुदायका विभिन्न आन्दोलन र संघर्षबाट अभिव्यक्ति भएको छ ।” अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो जारी विज्ञप्तिमा मधेशी समुदायले अन्य उत्पीडित समुदाय र उत्पीडित वर्गहरुसंग समन्वय गरी वर्तमान फासिस्ट चरित्रको व्यवस्था र संविधानको खारेजी र प्रगतिशील चरित्रको जन गणतान्त्रिक संघीय संविधानको निर्माणको विकल्प छैन, र यसको निम्ति संयूक्त संघर्षमा जुट्नु आवश्यक छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *