
गेल- रंगना हेराथले ६ विकेट लिँदै विश्वको सर्वाधिक सफल बायाँ हाते स्पिनर बन्दा श्रीलंकाले पहिलो टेस्टको पाँचांै तथा अन्तिम दिन शनिबार बंगलादेशमाथि २ सय ५९ रनको सानदार जित हात पार्दै दुई टेस्ट म्याचको शंृखलामा १–० को अग्रता लिएको छ।
नियमित कप्तान एन्जेलो म्याथ्युज चोटका कारण टोलीबाट बाहिरिएपछि कप्तानीको जिम्मेवारी सम्हालेका हेराथले बंगलादेशको मध्य तथा तल्लो क्रमका ब्याट्सम्यानलाई सस्तोमा पवेलियन फर्काएपछि भ्रमणकारी टोली १ सय ९७ रनमा अलआउट भयो।
६७–० बाट पाँचौं दिनको खेल सुरु गरेको बंगलादेशलाई जितका लागि ३ सय ९० रन अवश्यक थियो।
बंगलादेशका ओपनर सौम्य सरकारले ५३ रन जोडे पनि उनी एसेला गुणरत्नेको बलमा बोल्ड हुँदै पवेलियन फर्केपछि बंगलादेशको विकेट पतन सुरु भएको थियो। ४९ बल खेलेका सौम्यले ६ चौका र १ छक्का प्रहार गरे।
कप्तान मुस्पि्ककर रहिमले लिटोन दाससँग छैटौं विकेटका लागि ५० रनको साझेदारी गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। ९८ बल खेलेका मुस्पि्ककरले २ चौकाको मद्दतमा ३४ रन प्रहार गरे। दासले ६२ बलमा २ चौकाको मद्दतमा ३५ रन जोडे। त्यस्तै मेहदी हसन मिराजले २८ रनको योगदान दिए।
२७औं ओभर खेल्दा तीन बलको अन्तरमा शाकिब अल हसन र मोहमदुल्लालाई पवेलियनको बाटो देखाउँदै न्युजिल्यान्डका पूर्वकप्तान ड्यानियल भेट्टोरीको ३ सय ६२ विकेटको कीर्तिमान बराबरी गरेका हेराथ दासको विकेट लिँदै सर्वाधिक सफल बायाँहाते स्पिनर बनेका हुन्।
उनले ५९ रन खर्चंदै ६ विकेट लिए। यसअघि उनले पहिलो इनिङमा ३ विकेट लिएका थिए। त्यस्तै दिलरुवान परेराले २ विकेट लिए।
पहिलो इनिङमा १ सय ९४ रन जोडेका कुशल मेन्डिज म्यान अफ दी म्याच घोषित भए।
Facebook Comments