
राजविराज, ३० फागुन । सप्तरीमा प्रहरीको गोलीबाट मारिएकाहरुको स्मरणमा सप्तरीमा होली पर्व रौनकता देखिएन ।
विगतका वर्षहरुमा होली पर्वका दिन विहानैदेखि होरी गायन, एक–अर्कालाई रङ्ग अबीर लगाउने तथा हिलो छ्यापेर मनाईने गरिएकोमा यो वर्ष भने मलेठ घटनाको शोकमा होली नमनाईएको हो । सोमवार विहान संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीको आह्वानमा सदरमुकाम राजविराज स्थित गजेन्द्र चौकमा सामुहिक मुण्डन कार्यक्रमको आयोजना गरेको छ । अधिकारप्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेकाहरुका शहिदहरुको आत्माको चीर शान्तिको कामना गर्दै आयोजना गरिएको मुण्डन कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका तराई मधेश प्रदेश मुख्य सचिव शम्भु झा, फोरमका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डल, फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव, सद्भावना पार्टी केन्द्रीय सदस्यहरु दिनेश यादव, दिपेन्द्र प्रसाद चौधरी, विनोद यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष समेत रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झा, जिल्ला अध्यक्ष सतिश कुमार सिंह, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसी, फोरमका युवा नेता सुभाष यादव, नवनित झा, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष तारकेश्वर यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव, महेश यादव, दिनेश साह, मनोज राउत, महेश ठाकुरलगायतले सामुहिक मुण्डन गरेका छन् । यसैगरी संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव र प्रेस युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वासले समेत शहिदहरुको आत्माको चीर शान्तिको कामना गर्दै मुण्डन गरेका छन् । यसैगरी सप्तरीका मारवाडी समुदायले आधिकारिक रुपमै यसवर्ष होली नमनाउने घोषणा गरेका छन् । यस्तै मैथिली साहित्य परिषद राजविराजले होलीमा कुनै कार्यक्रम नगर्ने घोषणा गर्दै तडकभडकका साथ उल्लासमय होली नमनाउन प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका छन् । नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली सिङ्गो सप्तरी मात्र नभई मधेश शोकमा रहेको अवस्थामा आफुहरुले होली पर्व शोककै रुपमा मनाएको बताएका छन् ( From Newstoday.com.np)
Facebook Comments