
नेपालगञ्ज १, चैत्र । बाँकेमा मधेशी मोर्चाको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीको ठूलो समूहले स्थानीय समुदायको घरघरमा पसेर तोडफोड गरेको छ । मोर्चासँग रिस फेर्न प्रहरीले सोनपुरका स्थानीय मधेशी समुदायका जनताको घरघरमा प्रवेश गरी गुण्डागर्दी शैलीमा तोडफोड गरेको छ ।
तोडफोडका क्रममा अश्लील गाली गलौच गर्दै घरमा रहेका महिलाहरुलाई पनि प्रहरीले कुटपिट गरेको छ । प्रहरीको ज्यादतीपूर्ण कुटाईले केही महिलासहित दुई दर्जन स्थानीय घाइते भएका छन् । प्रहरीले बालबालिकालाई समेत कुटपिट गरेको छ ।
प्रहरीले स्थानीय जनताको घरमा पसेर तीन वटा मोटरसाइकल पनि तोडफोड गरेको छ । शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न प्रहरीको ज्यादती बढेपछि स्थानीय प्रशासनको अभद्र रवैयाप्रति जनताको आक्रोश चुलिएको छ ।
बाँकेको सोनपुरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जनतामाथि प्रहरी अन्धाधुन्ध अश्रुग्यास तथा लाठी प्रहार गर्दा ३० भन्दा बढी स्थानीय घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते भएका १४ जना उपचारका लागि मेडिकल कलेज नेपालगञ्जमा भर्ना गरिएको संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राईनले जानकारी दिएका छन् ।
शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरी दर्जनौं राउण्ड गोली प्रहार गरेको छ । प्रहरीको गोली कसैलाई नलागेको बताइन्छ ।
नेपालगञ्जदेखि करिब ६ किलोमिटर पश्चिम सोनपुरस्थित खजुरा–गुलरिया सडक खण्डमा प्रहरीले आन्दोलनकारी माथि अत्यधिक बल प्रयोग गरेको छ । सप्तरी घटनाको विरोधमा मोर्चाले मंगलबार बाँके बन्दको आह्वान गरेको थियो ।
मंगलबार नेपालगञ्जमा एमालेले आयोजना गरेको मेचीकाली सभालाई सफल बनाउन एमालेको निर्देशनमा प्रहरीले स्थानीय जनतामाथि हदैसम्मको बल प्रयोग गरेको बताइन्छ ।
Facebook Comments