Loading...
दिवंगत आत्मा शान्ति पूजा सम्पन्न

धरान । मृतकको आत्मा शान्ति पूजा (मानी मोलम) वृहत रुपमा सम्पन्न गरिएको छ । नेपाल तामाङ महिला घेदुङ सुनसरी र श्री हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बाका आङी समूहको संयुक्त आयोजना पूजा सम्पन्न भएको हो । धरानमा यस्तो पूजा ३ वर्ष देखि हुंदै आएको छ । हरेक फागु पुर्णेको दिन मृतकहरुको आत्मा शान्ति र मुक्तिका लागि बौद्धधर्मावलम्वीहरुमा यो पूजा गर्ने परम्परा रही आएको छ । यो दिन भगवान बुद्धले आफुले प्राप्त गरेको ज्ञान र शक्तिको परिक्षामा सफल भई दिवंगत माता मायादेवीको आत्मा कहां कस्तो अवस्थामा छ भनि ध्यान गरी हेर्दा बत्तिसकोटी देवता रहेको देवलोकमा पुर्नजन्म लिएको पाएपछि सबै मृतकको यसरी नै स्वर्गवास, वैकुण्ठवास होस्, मुक्ति र शान्ति प्राप्त होस् भनि भगवान बुद्धले प्रार्थना गरेकाले यस दिनलाई महत्वका साथ मृतकको मुक्तिका लागि प्रार्थना र पूजा गर्ने दिनको रुपमा बौद्धमार्गीहरुले मान्दै आएको गुम्बाका अध्यक्ष हर्कबहादुर गोलेले बताए ।
शुरु वर्ष करिव सयको हाराहारीमा सहभागि भएकोमा गत वर्ष करिव पांचसय र यस वर्ष सातसय भन्दा बढीको संख्यामा सहभागिहरु आएको महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तानले बताए । धरानका बौद्धमार्गी समुदायहरुले धरान–८ स्थित बौद्धदाह संस्कार परिसरभित्र निर्माण गरेको छोर्तेन(माने) मा गुम्बाका धर्म गुरु लामा खेम्पो तेन्जिङ वाइवाको नेतृत्वमा पूजापाठ र प्रवचन भएको आङी समूहका अध्यक्ष पूर्णिमाया गोलेले बताए ।
गुम्वा वा घरमा बनाईएको पूजा कोठा (छोसेम) मा मृतकका परिवारले आफ्नो परिवारको दिवंगत सदस्यको आत्माको शान्तिको लागि पूजा गर्ने परम्परालाई वृहत रुपले सार्वजानिक स्तरमै पूजाको आयोजना गर्नाले फागु पूर्णिमाको धार्मिक महत्व दर्शाउन र बौद्ध धर्मप्रति चेतना एवम् जागरण फैलाउन ठूलो मद्दत पुगेको नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार तथा पूर्व केन्द्रिय उपाध्यक्ष सुजेन्द्र तामाङले बताए ।
पूजामा धनकुटा, सुनसरी, मोरङ, झापा, उदयुपुर, भाजेपुर, तेहथुम लगायतको जिल्लावाट तामाङ, गुरुङ, शेर्पा, नेवार, मगर र थारु समुदायहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *