Loading...
संविधान संशोधन बिना चुनावमा जाँदा देश मुठभेडमा जान्छ – मात्रिका यादव, नेता माओबादी केन्द्र

मात्रिका यादव, नेता नेकपा माओबादी केन्द्र

अहिलेको संविधानले उत्पीडित राष्ट्रियतालाई खासै सम्बोधन गरेको छैन । संघीयता लेखिए पनि उत्पीडितहरुको माग यो संविधानमा राम्ररी अनुवाद भएको छैन । देशलाई बचाइराख्ने, एकताबद्ध बनाइराख्ने र थप सुदृढ बनाउने हो भने उत्पीडित राष्ट्रियतालाई अधिकार दिनैपर्छ । उत्पीडितहरुको भावनालाई समेट्नैपर्छ । उत्पीडित राष्ट्रियताको आन्दोलनको मुख्यतः यतिबेला मधेसी मोर्चाले नेतृत्व गरिरहेको छ । उसले उठाएका धेरैजसो मुद्दाहरु विगतमा माओवादीले नै उठाएका हुन् । माओवादीले दहोसँग नसमातेकाले मोर्चाले मुद्दा लगेको हो । यसको स्वामित्व लिने अवसर माओवादीलाई फेरि छ ।

देशको नेतृत्व अहिले माओवादीको हातमा छ । मण्डले राष्ट्रवादले बेस्सरी टाउको उठाएको बेला छ । प्रगतिशील राष्ट्रवाद कमजोर भएको अवस्था छ । प्रचण्डले प्रगतिशील राष्ट्रवादको नेतृत्व गरिरहेका छन् । संविधानलाई सर्वस्वीकार्य बनाउन र यसलाई समृद्ध बनाउँदै जानका लागि पहल बढाउन आवश्यक छ ।  निर्वाचनको घोषणा र संविधान संशोधनको प्रक्रियालाई सँगै लैजाने काम गरेर प्रचण्ड सरकारले राम्रो काम गरेको छ । संविधान संशोधन नगर्ने हो भने देशमा प्रतिक्रियावादी शक्ति हावी बन्नेछ । संघीयताको ठाउँमा एकात्मकता, गणतन्त्रको ठाउँमा कुनै पनि प्रकारको राजतन्त्र र धर्मनिरपेक्षताको ठाउँमा धर्मसापेक्षता स्थापित हुने खतरा हुन्छ । यसैले परिवर्तनका पक्षधर सबै मिलेर संविधान संशोधनमा गएर प्राप्त उपलब्धिको रक्षा, थप उपलब्धिका लागि ढोका खोल्ने र देशलाई एकताबद्ध र समृद्ध गर्न जरुरी छ ।

मधेसी मोर्चाको मागलाई सम्बोधन गर्नुको अहिले विकल्प छैन । संविधान संशोधन र निर्वाचनले राष्ट्रिय एकतालाई सुदृढ गर्छ । संविधान संशोधनबिना चुनावमा जाँदा देशलाई मुठभेडमा लैजान्छ । चुनावको घोषणा भइसकेको स्थितिमा संविधान संशोधनको प्रक्रियालाई तत्काल अगाडि बढाउनु पर्छ । स्थानीय तहमा जनसङ्ख्याको आधारमा केही सङ्ख्या थप्न आवश्यक छ ।  एमालेले संविधान संशोधनमा अहिलेसम्म बखेडा झिकिरहेको छ । अब उसले धेरै समय बखेडा नगरी रहला । एमाले संविधान संशोधनको प्रक्रियामा आएन भने ऊ उत्पीडित मधेसी र जनजातिको विरोधी सावित हुनेछ । देशलाई विखण्डनको दिशामा लैजाने कामको अगुवाइ गर्नेछ । मधेसमा पनि विखण्डनमा जान खोज्नेहरुलाई प्रोत्साहित गर्नेछ । बल दिनेछ ।

प्रचण्डको नेतृत्वमा सरकार बनेपछि मधेसमा आशा पलाएको हो । प्रचण्डको सकारात्मक पहल भएकाले अहिलेसम्म धैर्यता भएको हो । देशलाई एकताबद्ध बनाइराख्न नदिन र भाँडभैलो मच्चाउनका लागि एमालेले आधार निर्माण गरिरहेको अधिकांश जनतालाई परिरहेको थियो । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिरहेको भए देश सानो–ठूलो मुठभेडमा गइसक्थ्यो । एमालेले अब धेरै बखेडा नगर्ला ।  यो स्थितिमा उत्पीडित जनसमुदायले विद्रोह गरे भने उत्पीडित वर्ग र परिवर्तनको पक्षमा लागेकाहरु किनारामा उभिइरहन सक्तैनन् । त्यसबेला जनताका बीचमा जानुपर्ने हुन्छ । मण्डले राष्ट्रवाद र संकीर्णतामा जाने हो भने मधेसमा विद्रोह हुनसक्छ । उत्पीडितहरुले पहाडमा विद्रोह गर्न सक्छन् । माओवादीको नेतृत्वको अहिलेको सरकारले देशलाई एकताबद्ध बनाउन र उपलब्धिको रक्षा गर्नका लागि पहल बढाएको छ । यो सकारात्मक हो ।

यो बेलामा उत्पीडित जनता र जनयुद्धका क्रममा सहिद भएका परिवार, दुःख पाएकाहरुलाई उच्च प्राथमिकताका साथ सहयोग गर्न आवश्यक छ । त्यतातिर प्रचण्ड सरकारको ध्यान विशेष ढङ्गले गयो भने निराश भएर रहेकाहरु फेरि माओवादीको अभियानमा सामेल हुनेछन् । अजेण्डासँगै उत्पीडित जनता र परिवर्तनका लागि लडेका योद्धा र तिनका परिवारलाई जोड्न सकिन्छ । jhilko.com बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *