Loading...
जबसम्म मधेशका  मागहरु सम्वोधन गरिँदैन तबसम्म आन्दोलन चलिरहन्छ – महन्थ ठाकुर

काठमाडौँ , ७ चैत्र तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले संविधान संशाधन भएसम्म आफूहरु कुनै पनि चुनावमा नजाने बताएका छन् ।

मलेठ घटनामा प्रहरीको गोलीबाट मारिएका परिवारहरुसँग भेंटघाट गर्न सोमवार सप्तरी आइपुगेका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो कुरा बताएका हुन् । उनले सिमांकनलाई तत्काल थाती राखेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कुनै पनि हालतमा चुनावमा नजाने दावी गर्दै भने ‘सरकारले चुनाव गरेर देखाओस्, जबसम्म संविधान संशोधन हुदैन तबसम्म कुनै पनि चुनावमा हामी जाँदैनौं, सिमाङ्कनको मुद्दा थाती राखेर चुनावमा जाने बिलकुलै गलत हो ।’
विगतमा मधेसी जनतासँग गरिएका सम्झौताहरू कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै जनआन्दोलन, मधेश आन्दोलनलगायतका विभिन्न आन्दोलनका उपलब्धिहरुलाई खेर जान नदिनकालागि आफूहरु सचेत रहेको बताउँदै उनले भने ‘विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन हुनुपर्छ, विभिन्न संघर्षहरुका उपलब्धिलाई जोगाउनु आवश्यक छ ।’ वार्ता र सम्वाद पनि संघर्षकै चरण अन्तर्गतको विषयवस्तु भएको तर्क गर्दै आन्दोलनसँगै वार्ता र सम्वाद पनि चलिरहने अध्यक्ष ठाकुरले प्रष्ट्याए । कहिलेसम्म आन्दोलन चलिरहन्छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने ‘जबसम्म हाम्रा मागहरु सम्वोधन गरिँदैन तबसम्म आन्दोलन चलिरहन्छ ।’
नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा गत फागुन २३ गते प्रहरीको गोलीबाट मारिएकाहरुको विषयमा न्यायीक छानविन गरी दोषीलाई कानूनी कठघरामा उभ्याउने उनले प्रतिवद्धता गरे । शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले गरेको दमनको विषयमा अन्तर्राष्टिय निकायहरुको समेत ध्यानाकर्षण भएको अध्यक्ष ठाकुरले बताए । पीडित परिवारलाई २५ हजार रुपैयाँका दरले अध्यक्ष ठाकुरले प्रदान गरेका छन् । उक्त अवसरमा पार्टीका केन्द्रीय नेताहरुहरुको समेत उपस्थिति रहेको थियो ।

From newstoday.com.np

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *