Loading...
मधेश थरुहट आन्दोलन उच्च स्तरीय छानविन आयोगद्वारा जनकपुरबाट मधेश आन्दोलनमा भएका घटनाहरुको स्थलगत अनुसन्धान सुरु

किरण कर्ण -धनुषा ,चैत ९ । मधेश थरुहट आन्दोलन उच्च स्तरीय छानविन आयोगले धनुषा जिल्लाको सदरमुकाम जनकपुरबाट मधेश आन्दोलनमा भएका घटनाहरुको स्थलगत अनुसन्धान सुरु गरेको छ । तराइ, मधेश र थरुहटमा भएको आन्दोलनको क्रममा भएका हत्या, हिंसा, आगजनी, तोडफोड, कुटपिट लगायतका घटनाहरुको सत्य तथ्य छानविनका लागि आयोगको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको हो ।

उच्च स्तरीय छानवीन आयोगका अध्यक्ष तथा पूर्व न्यायधिश गिरिश चन्द्र लालको संयोजकत्वमा गठित टोलीले मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका ठाउँहरुको स्थलगत अनुगनमन गरेको छ । जनकपुरको मिल्स एरिया, भानु चोक, शिवचोक, पिडारी चोक, रामानन्द चोक, विश्वकर्मा मन्दिर लगायतका स्थानहरुमा प्रहरीको गोली लागि हत्या भएको प्रत्यक्षदर्शी तथा परिवारजनसंग प्रत्यक्ष रुपमा भेटघाट गरी जानकारी लिएका छन् ।

धनुषामा मृत्यु भएका आन्दोलनकारीहरुको घटना स्थल, गोली लागेको स्थानको दुरी मापन, गोली चलाईएको अवस्था बारे जानकारीका साथै घटनाको बेला प्रत्यक्षदर्शी तथा आन्दोलनकारीसंग घटनाको विस्तृत अध्ययन गरिरहेका छन् ।

उच्च स्तरीय आयोगका अध्यक्ष लालको संयोजकत्वमा खटेको ५ सदस्यीय टोलीले सरकारद्वारा शहिद घोषणा गरिएका नितु यादवका बुवा श्रीनारायण यादवका, दिलिप यादवका बुवा रामनरेश यादव, संजय चौधरीका दाजु राजु कुमार चौधरी, र रोशन ठाकुर रमणका भाई सुमित ठाकुरले घटनाको बारेमा विस्तृत जानकारी गराएको थियो ।

आयोगको टोली समक्ष आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाईत भएको, अंगभंग भएको, कुटपिट लागेको, तोडफोड भएको लगायतका अन्य घटनाहरुको बारेमा समेत जानकारी गराईएको थियो ।

घटनाका पिडित परिवार तथा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै अध्यक्ष लालले सम्पुर्ण विषयवस्तुमा श्रोत, परिधि, प्रमाण, घटनास्थल आदि सबैको विषयवस्तुलाई गहन रुपमा अध्ययन गदै जाने र यसको प्रतिफल जनतासामु आउनेमा सबैलाई विश्वस्त हुन आग्रह गरेका थिए । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा वहाँले भन्नुभन्यो – “ कारवाही हुन्छ वा हुदैन भन्ने विषयमा अहिले केही बताउन सक्दिन, अनुसन्धानको विभिन्न चरणहरु छन् ती सबै चरणहरुको प्रतिवेदनले नै टुङ्गो लगाउछ ।”

अनुसन्धान तथा अन्वेषनका लागि आयोगको तर्फबाट अध्यक्ष गिरिश चन्द्र लालको नेतृत्वमा सदस्यहरुमा पूर्व न्यायधिश सुर्य प्रसाद कोईराला, पूर्व अनुसन्धान विभाग प्रमुख नवराज ढकाल, सुखचन्द्र झा र सुजन लोपचन त्यासैगरी तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्सका) मिडिया कोर्डिनेटर विविता कुशवाहा, क्षेत्रिय निर्देशक सुनिल कुशवाहा तथा आयोगका अन्य कर्मचारीहरुको संयुक्त टोली रहेको मानव अधिकार अधिकृत किरण कर्णले जानकारी दिएका छन् ।

धनुषा सहित मधेश तथा थरुहटका १८ जिल्लाहरुबाट ३ हजार १ सय उजूरी,तथा निवेदन प्राप्त भएको आयोगका अध्यक्ष गिरिश चन्द्र लालले जानकारी दिएका छन् । गत मंसिर १६ गते देखि पीडित पक्षहरु, सरोकारवालाहरु, मानवअधिकार, सम्बन्धित संघ संस्थाबाट उजूरी आव्हान गरे बमोजिम मधेश र थरुहटका जिल्लाहरुबाट उजूरी परेको हो ।

यसैगरी चैतको ११ र १२ गते महोत्तरी जिल्लाको जलेश्वर लगायतका स्थानहरुमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाईएको छ । अनुगमन तथा निरिक्षणको क्रममा जिल्लाका सम्पुर्ण उजूरीकर्ता, सरोकारवाला, मानवअधिकारसंग सम्बन्धित संघ संस्थाहरुको मार्फत घटनासंग सम्बन्धी भएका फोटो, श्रव्य दृश्य, कागजातका प्रमाणहरु संकलन गरिरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *