Loading...
प्रधानमन्त्री पुष्पकमल दाहाल बोआओ मञ्चमा सहभागी हुन चीनको हैनान प्रान्तको बोआओ प्रस्थान

चैत ११- काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल बोआओ मञ्चमा सहभागी हुन चीनको हैनान प्रान्तको बोआओ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीलाइ बिदाइ गर्न उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

चीन भ्रमणमा प्रधानमन्त्रीका साथमा उहाको धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी रहेका छन् । बोआओमा प्रधानमन्त्रीले यही चैत ११ गते चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल र १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन अपराह्न दाहाल बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिन पिङ्गसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा छलफल गर्नुहुनेछ ।

प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध: समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन दाहालले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ। त्यहाँ नेपाल र तिब्बत सरकारबीच छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्किनु हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *