Loading...
‘पानीको फोहरा हुँदाहुँदै छाति र टाउकोमा गोली प्रहार गरेकोले प्रहरी दोषि’ रहेको छानबिन टोलीको प्रतिक्रिया

सप्तरी १०, चैत्र । सप्तरीको मलेठमा एमालेको सभामा प्रहरीको गोलीले पाँच जनाको ज्यान गएको घटनामा प्रहरी नै मुख्य दोषि रहेको छानबिन टोलीले प्रतिक्रिया दिएको छ । टोलीका संयोजक मोख्तार अहमदले मलेठ घटनामा प्रहरीले अन्यायपूर्ण व्यवहार देखाएको टिप्पणी गरेका छन् ।

‘पानीको फोहरा, रबरको गोलीका विकल्पहरु हुँदाहुँदै प्रहरीले देखाएको व्यवहार साँच्चिकै अन्यायपूर्ण देखिन्छ’, अहमदले सञ्चारकर्मीसँग भने, ’गोली चलाउनै पर्ने स्थितिमा पनि घुडाँमुनि चलाउँदा हुन्थ्यो, तर सोझै छाति र टाउकोमा गोली हान्ने कार्यलाई कुनै पनि हालतमा जायज भन्न मिल्दैन ।’

आफूहरुले तयार पारेको रिपोर्ट संसदको समाजिक न्याय तथा मानवाधिकार समितिसमक्ष बुझाउने र उक्त समितिले सरकारलाई आवश्यक निर्देशन दिने उनले बताए । ‘पीडितलाई सहिद घोषणा गर्न र आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनेजस्ता कुरा प्रतिवेदनमा प्रमुखतासाथ राख्नेछौं’ उनले भने ।

समितिले बिहीबार स्थानीय राजनीतिक दलका प्रतिनिधि, मधेसी मोर्चाका नेता, स्थानीय मानवाधिकारकर्मी, पत्रकार तथा नागरिक समाजका अगुवाहरुसँग भेटेर मलेठ घटनाको वस्तुस्थितिबारे छलफल गरेको छ ।

व्यवस्थापिका संसदको समाजिक न्याय तथा मानवाधिकार समितिले सप्तरीको मलेठ घटना छाविनका लागि कांग्रेस सांसद अहमदको नेतृत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । समितिमा एमालेका बसुन्धरा रोकाया, माओवादी केन्द्रका दुलारी हरिजन, राप्रपा नेपालका श्यामसुन्दर टिबडेवाल र संघीय समाजवादी फोरम नेपालकी उषा यादव छन्।

नेकपा एमालेको मेची–महाकाली अभियानको क्रममा गत फागुन २३ गते सप्तरीमा भएको घटना छानविन गर्न संसदीय टोली सप्तरी आइपुगेको छ । सांसद मुख्तार अहमदको नेतृत्वमा पाँच सदस्यीय टोली घटना छानविन गर्न सप्तरी आइपुगेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *