
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एकल जातीय अहंकारवादी सोचका कारण देशमा विखण्डनको बिऊ रोपिएको बताएका छन् ।
महोत्तरीको वर्दिवासमा विहीवार आयोजित राष्ट्रिय एकताको लागि हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय अभियानलाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । आफूलाई राष्ट्रघाती भन्नेहरुप्रति आक्रोश पोख्दै प्रश्न गर्दै उनले भने ‘यो देश मेरा बाउबाजेले बनाएको हो, म राष्ट्रवादी हुँ, मेरो रगतमा, मेरो डिएनएमा राष्ट्रियता छ, म यो देशलाई बचाएर एकताबद्ध बनाएर राख्छु ।’ उनले अगाडि थपे ‘म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु तर, मलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर, तिमीहरुको राष्ट्रियता के हो ?’
नेपालको निर्माणमा मधेशी समुदायहरुको योगदानको चर्चा गर्दै उहाँले सीता, गौतमबुद्ध सबैलाई नेपाली भनेर गर्व गर्ने समुदायले मधेशमा बस्ने मधेशीलाई गैरनेपाली देख्नु नै गलत भएको बताउँदै सबै समुदायलाई एकताबद्ध गराउने सूत्र भनेको संघीयताको उचित प्रबन्ध नै भएको स्पष्ट पारे । संयोजक भट्टराईले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र सबैलाई विदेशीले ल्याइदिएको भन्नेहरुप्रति प्रतिप्रश्न गर्दै अग्रगामी कुराजति विदेशीको र पछाडि परेका कुराहरु चाहिं स्वदेशी भनेर दिल दिमाग भुट्ने गरेको धारणा राखे ।
‘संघीयता भनेको एउटै घरमा दाजुभाइहरुलाई फरकफरक कोठा दिनुजस्तो मात्र हो, के यसो गर्दा घर टुक्रिन्छ ? घरमा अशान्ति हुन्छ ?’ उनले प्रश्न गरे । केही बेइमान र ठगहरुले इतिहासलाई बङ्ग्याएर उपलब्धिलाई न्यूनीकरण गरेर भ्रम सिर्जना गरेको बताउँदै नेपालमा सबै समुदायहरु रहेकाले सबैको साझा चित्र नै नेपाल रहेको र त्यसलाई व्यवस्थापन गर्नु नै अहिलेको आवश्यकता रहेको डा. भट्टराईले आवश्यकता औंल्याए ।
Facebook Comments