Loading...
अहिंसात्मक आन्दोलनमा राज्यले दमन नरोके मधेश युवाहरु हतियार उठाउन बाध्य हुने मधेशी मोर्चाका नेताहरुको चेतावनी

चन्दन रौनियार- राजविराज, १३ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक उपेन्द्र यादवले शान्तिपूर्ण एवम अहिंसात्मक आन्दोलनमा राज्यले दमन नरोके मधेश युवाहरु हतियार उठाउन बाध्य हुने चेतावनी दिएका छन् । सप्तरीको मलेठमा गत फागनु २३ पाँच जना प्रहरीको गोली लागेर मुत्यु भएकाहरुको पुण्यतिथिमा आइतवार आयोजित विशाल शोकसभालाई सम्वोधन गर्नुहुँदै उनले यस्तो कुरा बताएका हुन् । शान्तिपूर्ण संघर्षका क्रममा सरकारले निहत्था मधेशी जनतामाथि गोली चलाएर हत्या गर्ने कार्यलाई उनले कायरताको संज्ञा दिए । ‘शान्तिपूर्ण एवम् अहिंसात्मक आन्दोलनमा राज्यले दमन गरेर निहत्था जनताको हत्या गर्दैआएको छ, महात्मा गान्धी, गौतम बुद्ध, जनकको अहिंसात्मक मार्गलाई आत्मसात गरेर अगाडि बढि रहेका छौं’ उनले अगाडि थपे ‘तर दमन नरोके जुन दिन मधेश युवाहरु हतियार उठाउन बाध्य हुनेछ, त्यो दिन शासकवर्गलाई उभिने ठाउँसम्म रहँदैन, अब त्यो दिन पनि दुर छैन ।’ राज्य पुनर्संरचनाको मुद्दालाई कुनै पनि हालतमा थाती राख्न वा छोड्न नमिल्ने बताउँदै उनले संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने उद्घोष गरे ।

संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले संविधान संशोधन गरेर राज्य पुनर्संरचनाको सवाललाई सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै उनले भने ‘पहिचान, सम्मान र स्वाभिमानकालागि मधेशका लाखौं युवा लड्न तयार छ ।’ मधेशी, आदिवासी, दलित, जनजाती एवम् सिमान्तकृतवर्गको अधिकार वर्तमान संविधानमा नलेखिएसम्म आफूहरुको कुनै पनि चुनावमा नजाने प्रतिवद्धता उनले दोहर्याए । संविधान संशोधन नगरी जबरदस्ती चुनाव गराउन खोजिए तात्कालीन राजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तै हुने बताउँदै उनले भने ‘जबरदस्ती लादिएको संविधान संशोधन हुँदैन तबसम्म मोर्चा कुनै पनि चुनाव जादैन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर चुनाव गराईए, देशमा महाप्रलय हुनेछ, जनआन्दोलन, जनविद्रोहबाट आठौं संविधान लेखिनेछ ।’ तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सप्तरीको मलेठमा भएको घटना मानव अधिकारको घोर उल्लंघनको नमूना भएको भन्दै दोषीलाई कडा कार्वाही हुनुपर्नेमा जोड दिए । आफूहरुको माग सम्वोधन बिना मधेशमा कुनै निर्वाचन नहुने र यसकालागी जनतालाई तयार रहन आग्रह गरे । राज्य पुनर्संरचनाको मुद्दालाई थाती राखेर चुनाव जाने कुरा गलत रहेको भन्दै मोर्चाले त्यसतो कुनै पनि सम्झौता नगर्ने प्रतिवद्धता नेता ठाकुरले व्यक्त गरे ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश विरोधी पार्टीको रुपमा नेकपा एमाले प्रस्तुत भएको भन्दै उक्त पार्टीमा लागेका नेता तथा समर्थकहरुलाई जनताले स्थानीय स्तरबाटै सामाजिक वहिष्कार गर्नुपर्नेमा जोड दिए । मधेशी जनताको टाउका र छातीमा गोली हान्न लगाउने पार्टीको रुपमा एमालेलाई परिभाषित गर्दै उनले एमालेमुक्त मधेश निर्माणमा जुट्न आह्वान गरे । आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहेको भन्दै हतियार उठाउनुपर्ने अवस्था अहिले नआईसकेको भन्दै संयमित रहन अध्यक्ष महतोले आग्रह गरे । ‘अहिले नै हतियार उठाउनुपर्ने अवस्था आएको छैन, पहिला जनताले बिना हातहतियार स्थानीय स्तरबाट शान्तिपूर्ण हात उठ्नु जरुरी छ । मधेशी जनता कमजोर नरहेको भन्दै राज्य र सरकारको निती र रवैयालाई हेरेर आवश्यकता अनुसार मधेशी जनताले त्यसको जवाफ दिन बाध्य हुने नेता महतोले बताए । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामाथि शंका नगर्न भन्दै अधिकारप्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताए । सम्पूर्ण मधेशवादी दलहरु एकतावद्ध संघीयता विरोधी पार्टी विरुद्ध सशक्त रुपमा प्रस्तुत आफूहको जीत सुनिश्चित हुने उनले विश्वास व्यक्त गरे ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले वर्तमान सरकार सामन्तवादी सोचबाट ग्रसित रहेको भन्दै मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिमलगायतका सिमान्तकृत वर्गलाई अधिकार दिन नचाहेको प्रष्ट पारे । प्रमुख तीन दलले मधेशमाथि ‘फूट डालो और राज करो’को सिद्धान्त तहत मधेशीलाई फुटाउन चाहिरहेकोले त्यस्ता पार्टीहरुको झुटो एवम् भ्रमपूर्ण कुरामा विश्वास नगर्न नेता भण्डारीले आग्रह गरे । मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेशी जनतालाई अधिकार दिन नचाहने दलहरुको पहिचान मधेशी जनताले गर्नुपर्ने आवश्यकता औंल्याए । सम्पूर्ण मधेशवादी दलहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने ‘मधेशी पार्टीका नेताहरुको एउटै पार्टी र एउटै छाप भए हाम्रो जीत सुनिश्चित छ, यसकालागी म तयार छु ।’ नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेशी जनतालाई शासकवर्ग अझैं दास बनाएर राख्न खोजिरहेको बताए । मधेशको माग सम्वोधन नभएसम्म मधेशमा कुनै पनि चुनाव नहुने दावी गर्दै मधेशको विषयमा राष्ट्रिय मिडियाहरुसमेत पूर्वाग्रही मानसिकताबाट ग्रसित रहेको बताए ।

संघीय लिम्बुवान मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्गदेन, ताम्सालिङ्ग संघर्ष समितिका संयोजक जयगोले तामाङ्ग, शेर्पा स्वायत प्रदेश संघर्ष समितिका संयोजक लाक्पा शेर्पालगायतका नेताहरुले मधेशी जनताको हिमाल र पहाडका आदिवासी, जनजाती, दलित एवम् सिमान्तकृतवर्गको साथ रहेको बताए । हिमाल, पहाड, मधेशी जनता मिलेर एकल जातीय नश्लीय राज्यसत्तालाई ध्वस्त पार्नुपर्नेमा उनीहरुले जोड दिए । मोर्चाका सप्तरी संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्दोलनका घाइते सद्भावना पार्टीका केन्द्रीय सदस्य भीमराज यादवले सम्पूर्ण मधेशवादी पार्टीहरुलाई एकतावद्ध भएर सधैंकालागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

शोकसभामा शहिद परिवारलाई नेताहरुले दोसल्ला ओढाएर सम्मान गरेका छन् । फोरम गणतान्त्रिकका नेता हरेराम यादवद्वारा सञ्चालित कार्यक्रममा कैलाश झा, पायल झालगायतले मधेश आन्दोलन सम्वन्धि गीत प्रस्तुत गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *