
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलले न्यायाधीश कल्याण श्रेष्ठमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । व्यक्ति हत्यामा सर्वस्वसहित जन्म कैद सुनाइएका माओवादी केन्द्रका नेता तथा ओखलढुंगाका पूर्वसांसद् ढुंगेलले आफूविरुद्ध उक्त फैसला गर्ने तत्कालीन न्यायाधीश श्रेष्ठमाथि आक्रमण गर्ने चेतावनी दिएको भिडियो सार्वजनिक भएको छ ।
फैसला कार्यान्वयन गर्न पटक पटक गृह प्रशासनलाई निर्देशन तथा आदेश दिँदा समेत पक्राउ पर्न नसकेका ढुंगेलले तत्कालीन न्यायाधीश तथा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको फिला नचिरि जेल नजाने धम्की दिएका हुन् ।
माओवादी युद्धका बेला १० असार २०५५ मा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो भने संवैधानिक इजलासले पटक पटक फैसला कार्यान्वयन गर्न आदेश दिँदै आएको छ ।
तर, ढुंगेल निर्धक्कसाथ ओखलढुंगामा हिँडिरहेका र पछिल्लो समय विभिन्न संघसंस्थाले उनलाई अभिनन्दन गरेको तस्बीर तथा भिडियो सार्वजनिक भएका छन् । प्रहरीको खोजी सूचीमा रहेका उनी यसरी खुलेआम हिँड्दा र न्यायाधीश र स्थानीयको सम्पत्ति कब्जा गर्ने चेतावनी दिँदा समेत पक्राउ पर्न सकेका छन् ।
‘तपाईंहरुले अपराधी करार नगरेसम्म संसारकै जुनसुकै ताकतले अपराधी करार गरेपनि मेरो दिलको अदालतले खारेज गरिदिन्छ’, ओखलढुंगाको एक कार्यक्रममा ढुंगेलले भने, ‘भिमसेन थापाको फिला चिरेर कुकुरलाई खुवाउने देश हो, कल्याण श्रेष्ठको फिला चिर्न हामीले हुँदैन ?, कल्याण श्रेष्ठको फिला नचिरिकन जेल जान्न, बालकृष्ण ढुंगेल आत्मसमर्पण गर्दै बलिदानी दिन्छ ।’
from sundaykhabar.com
Facebook Comments