
धनकुटा । संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन बिनाको निर्वाचनलाई स्वीकार गर्न नसक्ने अडान दोहर्याएका छन् । संविधान संशोधन बिना चुनाव गराउनु भनेको सरकारको मिथ्या भ्रम मात्र भएको यादवले टिप्पणी गरे ।
संघीय समाजवादी फोरम नेपालको पहिलो धनकुटा जिल्ला अधिवेशनको उदघाटन मन्तव्यका क्रममा यादवले भने,– ‘संविधान संशोधनलाई थाती राखेर चुनाव गराउन सरकारले सोचेको हो भने त्यो भ्रम मात्र हो, हामीलाई संशोधन बिनाको चुनाव स्वीकार छैन । पहिलो संशोधन अनि चुनाव हुन्छ ।’ संविधानले आदिवासी जनजाति तथा मधेसी समुदायलाई समेट्न नसकेको भन्दै उनले मुलुकको ठुलो समुदायलाई उपेक्षा गरेर अधिकार कुण्ठित बनाएको आरोप लगाए । सरकार उल्टो बाटो हिडेको भन्दै यादवले स्थानीय निकायको निर्वाचन प्रदेशसभाले क्षेत्राधिकार रहेको प्रष्ट गरेका छन् । उनले एक प्रसँगमा एमाले र माओवादी दुबइ पार्टी गरीब जनताको लागि बाधक भएको हुनाले दुईटै पार्टी सर्बहारा पार्टी नभएर सर्बमारा पार्टी भएको बताउनु भयो ।
‘केन्द्रीय सरकारले गर्ने भनिएको स्थानीय निकायको निर्वाचन औचित्य छैन’, उनले भने, ‘यो निर्वाचन प्रदेशसभाले गरे मात्र हामी स्वीकार गर्ने छौं ।’ मधेसी समुदायले चुनावको विरोध नगरेको दाबी गर्दै गलत तरिकाले गर्न लागिएको निर्वाचनको प्रकृयाप्रति मात्र असन्तुष्टि रहेको यादवको भनाई थियो । यसैगरी मधेसका एउटै गाउमा ७० हजारसम्म जनसंख्या रहेको उल्लेख गर्दै यादवले स्थानीय तहको निर्वाचनलाई सरकारले असहज स्थिति तर्फ धकेलेको आरोप लगाए । कार्यक्रममा फोरमका उपाध्यक्ष रकम चेम्जोङ्, सचिव परशुराम बस्नेत, केन्द्रीय सदस्य अर्जुन थापा र आरसी तुम्बा, जिल्ला अध्यक्ष बलबहादुर राई लगायतले समेत अधिवेशनलाई सम्बोधन गरेका थिए । बिहिबार धनकुटाको प्रथम एकता अधिवेशन उद्घाटन भएको छ ।