Loading...
एमाले टुक्रा टुक्रा हुने संकेत, काठमाण्डौमा समानान्तर समिति गठन

काठमाडौं । स्थानीय तहको चुनावको मुखमा काठमाडौं एमालेको विवाद बढ्दै जाँदा आइतवार माधव नेपाल पक्षले समानान्तर भेलाको आयोजना गरेको छ ।संस्थापन पक्षले प्रदेश कमिटीको निर्णय समेत नमानेपछि समानान्तर कमिटी गठन गर्न आयोजित भेला शीर्ष नेतृत्वको आग्रहपछि चुनावी भेलामा परिणत भएको स्रोतले जनाएको छ । नयाँबजारस्थित नेपा बैंक्वेटमा करीव ५ सय अगुवा कार्यकर्ताको सहभागितामा भएको समानान्तर भेलामा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र पार्टी सचिव योगेश भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरले अध्यक्षता गरेको भेलामा बरिष्ठ नेता खनाल र नेपालले माथिल्लो कमिटीको निर्णयलाई समेत चुनौति दिनेहरुमाथि कारवाही हुने बताए । उनीहरुले बिधिसम्मत पार्टी सन्चालन गर्नुपर्ने भन्दै समानान्तर भेला आयोजना गर्नुपर्ने परिस्थिति किन निम्तियो भन्ने समीक्षा हुने बताए । नेताहरुले चाँडै पार्टीको स्थायी कमिटीले यो विषय हल गर्ने भन्दै बिधिको लडाईमा आफूहरुले साथ दिने बताए । सचिव योगेश भट्टराईंले नवौं महाधिवेशनको म्याण्डेट अब उल्टिसकेको बताए । उनले आफ्नो एकलौटी जिल्ला कमिटी भएको ठाउँमा एकलौटी ढंगले उम्मेदवार सिफारिस भएमा चितवनमा ओली पक्षको कसैलाई पनि सिफारिस नगर्ने चेतावनी दिए ।

आइतवारको भेलामा नवगठित कमिटीले सपथग्रहण गर्ने कार्यक्रम राखिएको भए पनि शीर्ष नेताहरुले पर्खिन आग्रह गरेकाले भेला चुनावमा एमालेलाई जिताउने विषयमा केन्दि्रत भएको प्रस्तावित सहसंयोजक बसन्त मानन्धरले बताए । मानन्धरले भने- ‘कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल लगायतको आग्रहमा हामीले सपथग्रहणको कार्यक्रम परिवर्तन गरेर चुनावी भेला गरेका हौं । नेताहरुले सकारात्मक ढंगले काठमाडौंको समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।’

एमालेको काठमाडौं जिल्ला कमिटीमा ७ वर्षदेखि अधिवेशन हुन सकेको छैन । हालैमात्र ३ नम्बर प्रदेश कमिटीले कृष्ण राई संयोजक, बसन्त मानन्धर सहसंयोजक र विद्यासुन्दर शाक्य सचिव रहेको कमिटी गठन गरेको थियो । तर राई पक्षले सो निर्णय अश्वीकार गरेर अलग्गै भेला गरेपछि नेपाल पक्षले पनि समानान्तर भेला आयोजना गरेको हो । सोमवार स्थायी कमिटी बैठकमा नेपाल पक्षले यो विषय उठाउनेछ । स्थायी कमिटीले समाधान नगरे समानान्तर कमिटी बन्ने सम्भावना छ । चुनावको बेला कार्यकर्तालाई बिभाजित हुन नदिन नेतृत्व सचेत हुनुपर्ने मानन्धरले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *