Loading...
मलाई तानाशाह पनि स्वीकार्य छ, यदि ••••••••••-भावना पाण्डेय (जापान कोबे)

हाम्रा राजनीतिकर्मीहरूको व्यवहारले मानिसमा निराशा बढाएको मात्र छैन, राजनीति र राजनीतिकर्मीप्रतिको सम्मान, भरोसा र विश्वासमा समेत अपूरणीय क्षति पुर्‍याएको कुरामा दुई मत छैन । जनता राजनीतिक दलहरूको कब्जामा छन्, व्यापार व्यवसाय सीमित व्यक्तिको नियन्त्रणमा छ, अवसर सत्तासीनहरूको निगाहमा मात्र उपलब्ध हुने अवस्था छ, तर पनि हामी नेपाली देश बन्ने बनाउने र आफ्नो भविष्य सुन्दर हुने आशाबाट पूर्णरूपले विमुख भइसकेका छैनौँ ।

हामीले चरणबद्धरुपमा आशा राख्दै आयौं । राणाशासनले एक सय चार वर्षमा पूरा गर्न नसकेको हाम्रो सपना प्रजातन्त्रले पूरा गरिदिने आशा राखियो, प्रजातन्त्रले दिन नसकेको उपलब्धि पञ्चायती व्यवस्थाबाट पूरा हुने ठानियो, पञ्चायतले दिन नसकेको सुख, दसुविधा संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय प्रजातन्त्रले दिन सक्छ भन्ने विश्वास गरियो र प्रजातन्त्रले नदिएको सुख, धर्मनिरपेक्षता र सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रले उपलब्ध गराउन सक्ने ठानियो ।

अहिले राजनीतिक रूपमा सबभन्दा उन्नत दाबी गरिएको व्यवस्था अस्तित्वमा आउँदा हामी नेपाली सबभन्दा दयनीय जीवन गुजार्न बाध्य छौँ, किन ? मुलुकमा देशप्रति इमानदार र दूरदर्शि नेताको जन्म नहुनुनै प्रमुख कारण हो भन्ने मलाई लाग्छ । त्यसैले पनि आज जनताको राजनीतिकर्मीहरूप्रतिको दृष्टिकोणमा अवस्य भारी परिवर्तन आएको छ । नेपाली राजनीतिमा सान छ, तर त्यसप्रति जनताको सम्मानभाव विलोप हुँदै गएको छ । दूरदर्शी, इमानदार, देशभक्त, दृढनिश्चयी र क्षमतावान नेतृत्व कुनै पनि मुलुक निर्माणका लागि अपरिहार्य हुन्छन् भन्ने पनि तथ्यहरूले देखाएको छ । र उत्पादन बडाए मात्रै समृद्ध देश बन्छ भन्ने कुरा सिद्ध भएको छ । यसको ज्वलन्त उधारण हो दक्षिण कोरिया र न्यिजिल्यान्ड ।

प्राकृतिक स्रोत न्यून रहेका दक्षिण कोरिया र न्युजिल्यान्डजस्ता मुलुकले पनि समृद्धिको शिखर चुमेका छन् । दक्षिण कोरियाले औद्योगिक उत्पादनलाई आफ्नो समृद्धिको आधार बनाएको छ भने न्युजिल्यान्ड पशुपालन र दुग्ध उत्पादनबाट समृद्ध बनेको छ ।उत्पादनका लागि वातावरण बनाउन र गुणस्तरीय उत्पादन गर्न सकियो भने समृद्धि टाढा हुँदैन भन्ने दृष्टान्त कोरिया र न्युजिल्यान्डजस्ता मुलुक बनेका छन् ।

उत्पादन नबडाए मुलुक बिकास हुदैन भन्ने सत्य एकातिर छ । स्वदेशी र बैदेशीक लगानीकर्ताहरु राजनीतिक स्थिरता र शु-शासनको पर्खाईमा अर्ककातिर छन् । तर हामी भने राजनीतिक कार्यकर्ताको उत्पादन बढाएर, धेरै भन्दा धेरै मानिसलाई राजनीतिक क्रियाकलापमा सहभागी गराएर र पछाडि परेका सबै समुदायलाई सत्तामा पुर्‍याएर देश समृद्ध बन्न सक्छ भन्ने ‘अलौकिक’ अभ्यास गर्दै छौँ । यो राष्ट्रको लागी विडम्बना हो । हामी थाहा नै छ इटालीको बारेमा , व्यापार व्यवसायको क्षेत्रमा विकसित ‘सिन्डिकेट र कार्टेलिङ’ प्रवृत्तिले नेपालमा इटालीको भन्दा खतरनाक माफियाको जन्म गराउँदै छ । कसैले चाहेर कुनै व्यवसाय सुरु गर्न पाउने या सक्ने स्थिति छैन । बस या ट्रक व्यवसायमा सिन्डिकेट छ, सीमित व्यक्तिहरूले सडक कब्जामा राखेका छन् । इन्धनको व्यापारमा माफियाको अर्को विकराल रूप देखिन्छ । कसैको वितरकका लागि सरकारबाट अनुमति लिनुपर्‍यो भने उसले डिलरवाला (एसोसिएसन) को सिफारिस अनिवार्य रूपमा लिनुपर्ने हुन्छ, जुन उनीहरू कसैलाई पनि दिन चाहँदैनन्, दिनै परे पनि अनधिकृत रूपमा निकै मोटो रकम लिएर मात्र दिन्छन् । पेट्रोलियम पदार्थको ढुवानीमा पनि वितरणमा झैँ माफियाले आफ्नो नियन्त्रण कायम राखेका छन् । कुनै नेपालीले पेट्रोलियम ढुवानीका निम्ति एउटा ट्याङ्कर खरिद गरेर व्यवसाय गर्न चाह्यो भने आजको दिनमा त्यो सम्भव छैन । सीमित केही व्यक्तिले मात्र ट्याङ्कर सञ्चालन गरेका छन्, कुनै नयाँ व्यक्तिलाई यो व्यवसायमा प्रवेश हुन निषेध गरिन्छ र यस्तो माफियातन्त्रलाई सरकारी यन्त्रले समेत कुनै न कुनै रूपमा सहयोग पुर्‍याइरहेको छ ।
तरकारी, फलफूल र अन्न उत्पादनको कार्य निकै कष्टपूर्ण छ, त्यसैले यी वस्तुको उत्पादनमा माफियागिरी देखिँदैन । तर, तरकारी र फलफूलको बिक्री, वितरणमा माफियाले नियन्त्रण गर्ने गरेको छ । ढुङ्गा, गिटी, बालुवाजस्ता निर्माण सामग्रीको उत्पादन र व्यापार गुण्डा र माफियाहरूको कब्जामा छ । न्यून लगानीका र बिक्री या बजारको सुनिश्चितता भएका कुनै पनि व्यवसाय यतिबेला माफियाहरूको पूर्ण नियन्त्रणमा छ । नाफा निश्चित भएका हरेक व्यापार, व्यवसायसम्बद्ध सीमित व्यक्तिहरू मिली सङ्घ खडा गर्ने र बाँकी जनतालाई ‘उक्त’ व्यवसायमा प्रवेश नै गर्न नदिने काम सर्वत्र भइरहँदा पनि यसको नियन्त्रण या अन्त्यका निम्ति राज्यका तर्फबाट कुनै प्रकारको पहल भइरहेको छैन । यसर्थ कार्टेलिङ र माफियागिरीलाई संस्थागत गर्न राज्य संयन्त्रबाट नै सहयोग पुगिरहेको छ भन्न कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

एउटा सत्य कुरा , मानव जीवनमा आशाको महत्त्व र प्रभाव सर्वोपरि रहन्छ । सुन्दर भविष्यप्रतिको आशा र विश्वासले मात्र मानिसलाई बाँच्ने प्रेरणा र निरन्तर क्रियाशीलताको निम्ति उत्प्रेरित गरिरहने हो । आशाको विसर्जनपछि मानिस एक निर्जीव कायामा रूपान्तरित हुन्छ र त्यस्ता व्यक्तिले न समाज र परिवारलाई केही दिन सक्छन्, न आफ्नै जीवनको रूपान्तरण गर्न सक्छन् । हामी नेपाली जनता विश्वकै कष्टप्रद जीवन बाँचिरहँदा पनि सम्पूर्ण आशा मारिसकेका छैनौं । स्वदेशमा आफ्नो सपना पूरा गर्न नसक्दा पराया भूमिमा श्रम गरेर भए पनि जीवनमा आशा जगाउन प्रयत्नशील छौं । तर, देशभित्र आफ्नो सपना पूरा हुनेमा भने जनताको विश्वास उल्लिखित अनेकौँ कारणले क्रमश: ह्रास हुँदै गएका छन् ।

नहोस् पनि कसरी ? अबको नेपनलमा सम्पूर्ण व्यापार, व्यवसाय माफियाको कब्जामा, राजनीतिकर्मी माफियाको नियन्त्रणमा, जनता राजनीतिकर्मीको कब्जामा र कानुन कर्मचारीको खल्ती, खल्तीमा भएपछि नयाँ पुस्ताका युवा र प्रतिभावान् एवम् क्षमतावान् कुनै पनि व्यक्तिले नेपालमा भविष्य नदेख्नु या भविष्यप्रतिको आशा डगमगाउनु स्वाभाविक छ । जोस, जाँगर र लगनशीलतासम्पन्न युवा तथा योग्य व्यक्तिहरू निराश तथा पलायन हुनुपर्ने अवस्था आउनुको मूल कारण यहाँ ‘होप’ अर्थात् आशाको अन्त्येष्टि भएकोले हो । यिनै राजनीतिकर्मी, यिनै कर्मचारी, यो समयकै शिक्षक, प्राध्यापक र बुद्धिजीवीहरूले आममानिसमा ‘होप’ जगाउन सक्ने सम्भावना देखिएको छैन । आशाको अन्त्येष्टि भएको मुलुकले समृद्धितर्फको पाइला चाल्ने सम्भावना पनि रहँदैन । त्यसैले नेपालमा एउटा पार्क चुङ ही या लिक्वान यू जस्तै आशाको जागरण गराउन सक्ने नेताको अभाव खट्किएको छ, देशप्रति इमानदार र दूरदर्शि छन् भने बरु ती तानाशाह नै भए पनि स्वीकार्य हुन सक्दछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *