
राजविराज, २७ चैत । आन्दोलनरत पक्षको माग सम्वोधन नगरी घोषणा गरिएको चुनाव विरुद्ध आफूहरुले तालाबन्दी गरेको भन्दै अवज्ञा नगर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले स्थानीय निकायको ध्यानाकर्षण गराएको छ । मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय निकायका सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराएका हुन् । ‘सरकारले एक्कासी चुनाव गराउन खोजेकैले हामीले स्थानीय निकायका कार्यालयहरुमा तालाबन्दी गरेका छौं’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘मागहरु सम्बोधन नभएसम्म ताला नखोलिने हाम्रो प्रष्ट अडान रहेको छ ।’
ताला लगाइएको अवस्थामा पनि कतिपय स्थानीय निकायको कार्यालयमा कामकाज भइरहेको सुनिनमा आएको भएको भन्दै मोर्चाको यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ताला लगाइएको अवस्थामा पनि कामकाज नगर्न, नगराउन मोर्चा सम्बन्धित निकायका प्रमुख र कर्मचारीहरुसँग अनुरोध गर्दै आफूहरुको आग्रहलाई वेवास्ता गरिए त्यसबाट हुने परिणामको जवाफदेही स्वयं सरकारी निकाय संयोजक यादवद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
तालाबन्दीको अवस्थामा पनि कामकाज भइरहेको भन्ने सन्दर्भमा मोर्चाको शनिवार बसेको बैठकले अनुगमन गर्ने निर्णय गरेको भन्दै यसकालागी १०१ सदस्यीय घुम्ती टोली निर्माण गरेका विज्ञप्तिमा जनाईएको छ । समितिले सबै स्थानीय निकायका कार्यालयहरुको अनुगमन गर्ने भन्दै उक्त कार्यमा सहयोग गर्न मोर्चाले आग्रह गरेको छ ।
सरकार र मुख्य दल अझंै पनि समस्या समाधान नगरी सिधै निर्वाचनमा जान खोजेको भन्दै संविधान संशोधन नगरी चुनावमा जानु भनेको आन्दोलनको मर्म र मधेशी, आदिवासी, जनजाती, दलित, मुश्लिम, पिछडिएका वर्गको अधिकारलाई कुण्ठित गर्नु रहेको प्रेस विज्ञप्तिमा ठहर गरेको छ । स्थानीय तह पुर्नसंरचना आयोगले बनाएको स्थानीय तह अवैज्ञानिक रहेको भन्दै प्रदेश सरकारद्वारा गराइनुपर्ने स्थानीय तहको निर्वाचन केन्द्र सरकारद्वारा गरिनुले संघीयता समाप्त पार्ने षड्यन्त्रका रुपमा आफूहरुले लिएको प्रेस विज्ञप्तिमा जनाईएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निरन्तर आन्दोलनमा रहेको चर्चा गर्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘निर्वाचन मुलुकलाई चाहिएको छ र हामीलाई पनि चाहिएको छ, तर समस्या समाधान नगरी गरिने निर्वाचनले मुलुकलाई शान्ति बनाउनुभन्दा पनि अशान्तितर्फ धकेलिने हाम्रो ठहर छ ।’
पहिला संविधान संशोधन हुनुपर्ने अवैज्ञानिक तरिकाले बनाइएको स्थानीय निकायलाई सच्चयाउँदै जनसंख्याको आधारमा निर्माण गरिनुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । सप्तरी मोर्चाको सोही बैठकले सञ्चार क्षेत्रसँग सहकार्य र समन्वय गरी मजबुत तरिकाले सूचना प्रवाह गर्न संघीय समाजवादी फोरम नेपाल मधेश प्रदेशका मुख्य सचिव शम्भु झालाई संयोजनको जिम्मा दिईएको संयोजक यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
newstoday बाट
Facebook Comments