Loading...
नीतिगत सुधारको निम्ति पहल गर्छु: शेखर गोल्छा

बिष्णु घिमिरे काठमाडौं
महासंघको आगामी नेतृत्वका लागि उम्मेदवारी दिँदै गर्दा मैले यसको गरिमा र गौरवलाई बिर्सेको छैन। पचास वर्षको गौरवशाली इतिहास बोकेको यो संस्थाले पछिल्लो पचास वर्षलाई पनि दिशानिर्देश गर्नेछ। हिजो एउटा कोठाबाट सुरु भएको यो महासंघमा आज देशभर सञ्जाल विस्तार भएको छ।

चुनाव क्रममा देशका विभिन्न जिल्ला तथा नगरमा भ्रमण गर्ने अवसर पाएँ। लामो समयदेखि स्थानीय चुनाव नहुँदा हाम्रै व्यवसायी मित्रहरूले विकासको नेतृत्व गर्नुभएको पाएँ। यो पनि हाम्रा लागि थप गौरवको विषय हो। इतिहासले यसलाई उच्च मूल्यांकन गर्नेछ।

हामीले नारा दिएका दिएका छौं, आर्थिक समृद्धि। यो सम्भव होला कि नारा मात्र हो भन्ने प्रश्न उठ्न सक्छ। तर, म के भन्छु भने देशमा चुनौती पनि छन्, सम्भावना पनि उत्तिकै छन्। यसपालि विज्ञहरूले आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन्। जतिबेला सरकारले ६ प्रतिशत वृद्धिको लक्ष्य लिएको थियो, त्यतिबेला वास्तविक वृद्धि जम्मा १ प्रतिशत थियो। तर, अहिले सबैले अर्थतन्त्र राम्रो भइरहेको विश्वास गरेका छन् र यसको कारण निजी क्षेत्र नै हो।

हामी भन्छौं नेपालको कृषि क्षेत्र कमजोर भएको छ, तर यो वर्ष आजसम्मकै धेरै उत्पादन भएको छ। व्यापार पनि सुदृढ हुँदै गएको छ। यो पनि सकारात्मक सन्देश हो। अर्को कुरा, हामी विश्वकै सुन्दर देशमा बस्छौं तर हामीले पर्यटक आकर्षित गर्न सकेका छैनौं। भनेपछि हामीसँग सम्भावना धेरै छ।

सबैभन्दा सकारात्मक कुरा के भने नेपालका ६० प्रतिशतभन्दा बढी जनता श्रममा संलग्न छन्। यो विकास र समृद्धिका लागि सबैभन्दा सकारात्मक संकेत हो। यसलाई कार्यान्वयनमा लैजान हामीसँग इच्छाशक्ति मात्र चाहिन्छ।

भर्खरै भएको लगानी सम्मेलनले पनि नेपालमा लगानी गर्न धेरै देश इच्छुक रहेको देखाउँछ।यहीबीचमा विभिन्न व्यवसायसँग सम्बन्धित कानुनहरू आएका छन्, जसले औद्योगिक तथा लगानीको वातावरणलाई थप मजबुत बनाउनेछन्।

हामीले लामो समयदेखि उठाउँदै आएका नीतिगत सुधारका कुरा पूरा हुने क्रममा छन्। यी व्यवहारिक रूपमा कार्यान्वयनमा आए हामीले लिएका लक्ष्य पूरा गर्न सक्छौं। तर, जिल्लामा घुम्दै गर्दा मैले आफैसँग प्रश्न गरेँ, ‘के म यो सबै पूरा गर्नसक्छु, के यसको नेतृत्व लिनसक्छु?’ जिल्ला–नगरका साथीहरूको महासंघप्रतिको अपेक्षा के छ त? उनीहरूको एउटै अपेक्षा छ, नीतिगत सुधार। कालोबजारी ऐन, वातावरण ऐनजस्ता कानुन आउनुपर्छ भन्ने उनीहरूको माग छ। आर्थिक स्रोत मजबुत हुनुपर्छ भन्नेमा धेरै साथीहरूले जोड दिनुभएको छ। जिल्लामा हुने महोत्सव तथा मेलाजस्ता कार्यक्रम जसले पायो त्यसले गर्ने गरेका छन्, त्यसले वाणिज्य संघहरूमाथि चुनौतीको स्थिति छ भन्ने कुरा पनि आएको छ। यसलाई म महत्वपूर्ण रूपमा उठाउने छु।

उनीहरूले महासंघको सचिवालयबाट पनि केही अपेक्षा गरेका छन्। महासंघमा आउँदा आफ्नै अफिसमा आएजस्तो भान हुँदैन भन्ने प्रतिक्रिया पाएको छु। सूचना प्रविधि पनि व्यवस्थित छैन भन्ने गुनासो छ। मैले वरिष्ठ उपाध्यक्षमा जितेँ भने जसरी निजी व्यवसायको कर्पोरेट अफिस हुन्छ, त्यस्तै महासंघको पनि हुनुपर्छ र त्यसमा पारदर्शिता र जवाफदेहिता हुनुपर्छ।

अहिले हामीले अदालतमा जाँदा ५० प्रतिशत धरौटी राखेरमात्र जानुपर्छ। यही एउटा समस्या समाधान भए पनि धेरै राहत हुन्छ। म यसका लागि लागिपर्ने छु।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *