
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालगञ्जस्थित राझा ब्यारेकमा शनिबार दिएको गम्भीर मन्तव्यले धेरै राजनीतिकर्मीलाई झस्काएको छ । मध्यपश्चिमाञ्चलस्तरीय भूपु सैनिक सम्मेलनको अवसर छोपेर प्रधानसेनापति क्षेत्रीले अहिलेको राजनीतिक परिस्थितिप्रति कठोर टिप्पणी मात्र गरेनन्, अखण्डतामा आँच पुगे सेना चुप लागेर नबस्ने शालिन चेतावनी पनि दिए । प्रधानसेनापति क्षेत्रीले यस्तो मन्तव्य दिँदै आए पनि अहिलेको सन्दर्भमा यसलाई रुटिन मन्तव्यका रूपमा मात्रै नबुझ्न निकटस्थहरूलाई उनले आग्रह गरेका छन् ।
स्रोतका अनुसार प्रधानसेनापति क्षेत्रीले मधेसी मोर्चालाई नल्याई निर्वाचनमा गए देशमा पहाड र मधेसको अलग पहिचान स्थापित हुने अनि देशको राष्ट्रिय पहिचान र सुरक्षामा पनि आँच पुग्ने सुझाव सरकारलाई दिएका छन् । अहिले सेनाको बुझाई छ कि ‘निर्वाचनका लागि राजनीतिक दलहरूको इच्छाशक्ति (पोलिटिकल विल) को कमी छ, सुरक्षा निकाय, कर्मचारीतन्त्र, निर्वाचन आयोग र आमरूपमा सर्वसाधारणको सक्रियताले दलहरूलाई जति दबाब पर्नुपर्ने हो, त्यो अझै परेको छैन ।’ बताइएअनुसार सेनाले आठ दस दिन निर्वाचनको मिति सारेर केही फरक नपर्ने, तर देशैभरि एकैपटक स्थानीय निर्वाचन सुनिश्चित गर्नुपर्नेमा जोड दिइरहेको छ ।
प्रधानसेनापति क्षेत्रीको गत शनिबारको लिखित मन्तव्यमा भनिएको छ– ‘राज्य संकटमा पर्दा हिजो नेपाली सेनाले बगाएको रगत पसिनाको कारण यो देशको राष्ट्रिय अखण्डतामा आँच नआएको हो । नेपाली जनताले गरेको सेनामाथिको अगाध विश्वास, आस्था, भरोसा नै नेपाली सेनाको लागि हौसला र ऊर्जाको स्रोत हो ।’ उनले राष्ट्रलाई संकट परेका बेला सेना जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको र त्यो भूमिकालाई सहयोग र समर्थन गर्न गरेको आग्रहलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
‘राष्ट्रको अन्तिम विकल्पका रूपमा जहाँसुकै पनि सेनालाई हेरिने गरिएको छ । तुलनात्मक रूपमा नेपालमा सेनाको भूमिका जहिले पनि सत्ताधारीहरूको आदेश पालना गर्नेमा मात्रै सीमित छ, यो हिसाबले ऊ मूलधारको राजनीतिक प्रणालीलाई मान्छ । अहिले पनि सेनाले गणतन्त्रमाथि प्रश्न उठाएको छैन, जनस्तरमा विवादित भए पनि धर्मनिरपेक्षता, संघीयताजस्ता मुद्दामा उसको शंका छैन । तर यी सबै कुराले देशको अखण्डता र सामाजिक सद्भावमा आँच नआओस् भन्नेमा सेनाको चिन्ता बेलाबेलामा मुखरित भइरहेको छ,’ नेपाली सेनाका एक अधिकृतले भने ।
प्रधानसेनापतिले सधैं शक्तिआर्जन गरेको महसुस गरिरहेको हुन्छ, यसमा वर्तमान प्रधानसेनापति पनि अपवाद नहोलान् । तर क्षेत्रीले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापासमेतलाई अनौपचारिक रूपमा भनेका छन्, मधेसको समस्या समाधान नभए देशमा अमनचैन सम्भव छैन । भूराजनीतिक परिवेश र घरेलु आन्तरिक परिवेशको सूक्ष्म अध्ययनका आधारमा प्रधानसेनापतिले अहिलेको सन्दर्भमा पनि मोडरेट फोर्सका रूपमा चिनिएका मधेसी मोर्चासम्बद्ध दललाई मिलाएर मात्रै निर्वाचनमा जान सल्लाह दिइरहेका छन् । यद्यपि राज्यले अठोट गरेको अवस्थामा सम्भावित परिणामको ख्याल नगरी निर्वाचन गराउने प्रतिबद्धता पनि सेनाले सघाउने जनाउँदै आएको छ ।
यति मात्र होइन, सेनाले मधेसमा विखण्डनवादी गतिविधिविरुद्ध काउन्टर प्रोपोगान्डा सुरु गरेको छ । सामाजिक कार्यमार्फत सेनाले तराईमा नेपाली सेना छ र यो देश सबैको हो भन्ने भावना जागृत गराइरहेको छ । अघिल्लो साता रौतहटको गौरमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर सेनाले तराईका जनताको मनोविज्ञान जाँच्न गरेको थियो । उक्त शिविरमा लाभान्वित भएजति सबैले सेनाको गुणगान गाए, नेपाल सरकारको प्रशंसा गरे । यस्ता गतिविधि तराईभरि गर्ने योजना सेनाको छ । जनकपुरमा गंगा सागर सफाइमा सेना संलग्न छ, तराईमा हरेक सामाजिक अभियानमा सेनाको उपस्थिति हुने गरेको छ । राजनीतिक इच्छाशक्ति र तराईका मोडरेट फोर्सलाई सहमतिमा ल्याउने अवस्था भए तराईमा यसपटक सबैभन्दा लोकतान्त्रिक वातावरणमा चुनाव गराउन सकिने विश्वास सेनाको छ ।
sundaykhabar
Facebook Comments