
बैशाख ४ , काठमाडौँ नेपाल पत्रकार महासंघसम्बद्ध सप्तरी शाखाका क्रियाशील पत्रकारहरूले करिब दुई वर्षदेखि भोग्दै आएका समस्याहरूबारे पटकौं–पटक महासंघको केन्द्रीय समितिमा औपचारिक र अनौपचारिक रुपमा अनुरोध र पहल गर्दा पनि समाधान हुन नसकिरहेको परिस्थितीमा चार बुँदे मागहरू राखी सप्तरीबाट काठमाडौं आएर महासंघको केन्द्रीय कार्यालय, सञ्चारग्राम, काठमाडौंमा तालाबन्दी गर्दै गत चैत ३० गतेदेखि धर्ना बसिरहेकोप्रति संघीय प्रेस फोरम, केन्द्रीय तदर्थ समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धर्ना बसेको ५/५ दिन बितिसक्दा समेत महासंघको केन्द्रीय नेतृत्वले लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाअनुरुप वार्ता र संवादमार्फत समस्या समाधानतर्फ गम्भीर ध्यान नदिइरहेकोप्रति प्रेस फोरमले दुःख र निन्दा व्यक्त गरेको छ । महासंघको सप्तरी शाखाले उठाएका मागहरू सजिलै र तुरुन्तै सम्बोधन गर्न सकिने भएता पनि सम्पूर्ण क्रियाशील पत्रकारहरूको साझा र छाता संगठन पत्रकार महासंघलाई नेतृत्वले नीजि संगठनजस्तो व्यवहार देखाएको प्रति संघीय प्रेस फोरमले आपत्ति व्यक्त गरेको छ ।
सप्तरी शाखाले उठाएका मागहरूलाई यथासक्य छिटो सम्बोधन गरेर सम्पूर्ण पत्रकारहरूको वास्तविक साझा र छाता संगठनको रुपमा नेपाल पत्रकार महासंघको गौरवलाई बचाउन र समाजको सचेत र चौथौं अङ्गको रुपमा स्थापित तथा सम्मानित पत्रकार जगतलाई अलोकतान्त्रिक विधि, पद्धतिमा सञ्चालन नगर्न नगराउन समेत प्रेस फोरमले विशेष आग्रह गरेको छ । त्यसैगरी १३ बुँदे मागहरू राखेर गत चैत २३ गतेदेखि पत्रकार भावना विद्रोही आमरण अनसन बसिरहेको सन्दर्भमा समेत संघीय प्रेस फोरमले पत्रकार महासंघलाई गम्भीर ध्यानाकर्षण गराउँदै उठाइएकामध्ये जायज मागहरू सम्बोधनका लागि अबिलम्ब पहल गर्न गराउन विशेष आग्रह गरेको छ ।
यथासक्य छिटो वार्ता र संवादबाट समस्या समाधान गर्न नखोजिए संघीय प्रेस फोरमले पत्रकार महासंघको नेतृत्वबिरुद्ध तुरुन्तै कडाभन्दा कडा कदम उठाउन बाध्य हुने जनाएको छ ।
Facebook Comments