Loading...
किन १ वर्षमै जिम्मेवारीबाट मुक्त हुँदैछन् एनसेलका प्रमुख कार्यकारी सिमोन पार्किन्स ?

एनसेलका प्रमुख कार्यकारी सिमोन पार्किन्स १ वर्षमै जिम्मेवारीबाट मुक्त हुँदैछन् । सूत्रका अनुसार उनले पदबाट राजीनामा गरिसकेका छन् । पार्किन्स टेलियाबाट एनसेलको व्यवस्थापन एक्जियाटाले लिएपछि गतवर्षको अप्रिलमै एनसेलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। उनको राजीनामा र उत्तराधिकारीबारे एनसेलले आधिकारिक जानकारी गराएको छैन।

यो खबर सुजित महतले आजको अन्नपूर्णमा लेखेका छन्। एक थरिले एनसेलमा नेपाली साझेदार सतिशलाल आचार्यसँग विवादका कारण उनले कम्पनी छाड्न लागेको बताएका छन् । आचार्यले एनसेलको नेपाली लगानीकर्ताको २० प्रतिशत स्वामित्व श्रीमती भावनासिंह श्रेष्ठको नाममा खरिद गरेका छन् । उनले कम्पनीमा हस्तक्षेप गर्न थालेपछि पार्किन्सले छाडेको बताइएको छ । कम्पनीमा डिलर परिवतर्न गर्ने एनसेलको योजना पनि असफल भएको छ । पुरानै डिलरसँग एनसेलले व्यापार गर्ने सहमति डिलर र एनसेल व्यवस्थापनबीच भएको छ । एनसेलले केहीअघि एनसेलका डिलरले कम्पनीको प्रोफाइलसहित व्यापार विस्तारका कार्ययोजना पेस गर्न सूचना जारी गरेको थियो । अप्रिल ३० सम्म प्रोफाइल र कार्ययोजना पेस गर्न भनिएको थियो । तर, डिलरले यही बहानामा आफूलाई हटाएर नयाँ डिलर नियुक्ति गर्ने योजना सुइँको पाएपछि आन्दोलित भएका थिए । तिनले नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय घेराउ पनि गरेका थिए ।

एक्जियाटाको मुम्बइस्थित कार्यालयबाट आएका प्रतिनिधिले वार्ता गरी विवाद मिलाएका थिए । एक जना डिलरका अनुसार प्रोफाइल/कार्ययोजना पेस गर्नुपर्ने सूचनानै रद्द भएको छ । व्यापार विस्तारका क्रममा थप केही गर्ने भए अहिलेकै डिलरमार्फत गरिने भनिएको छ । एनसेलका पाँचजना डिस्ट्रिब्युटर र एक सय पाँचजना डिलर छन् । उसले डिलर परिवर्तन गरी आफन्त, शक्तिकेन्द्र आदि रिझाउने गरी नयाँ डिलर नियुक्ति गर्ने योजना थियो । स्रोतका अनुसार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका छोरानै डिलर नियुक्ति गराउन प्रयासरत थिए । लेखा समितिले पुँजीगत लाभकर असुल्न निर्देशन दिनुका साथै चौतर्फी दबाब परेपछि ठूला करदाता कार्यालयले कर असुल्न सक्रियता देखाएजस्तो गरे पनि एनसेलले असहयोग/अटेर गर्ने क्रम जारी राखेको छ । लेखा समितिको निर्देशनपछि कार्यालयले ड्युडेलिजेन्स अडिट रिपोर्ट (डीडीए), सेयर खरिद सम्झौता (एसपीए) मागगरे पनि एनसेलले दिएको छैन । उसले यी रिपोर्ट नेपाल कार्यालयमा नभएको जवाफ पठाएको छ । यसअघि माग गर्दा उसले खरिदकर्ता एक्जियाटासँग नभएको भन्दै बिक्रेता टेलियासँग माग्नु भनेर जवाफ दिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *