Loading...
ज्ञानेन्द्रको खतरनाक योजनामा ओलीको नक्कली राष्ट्रवाद : अदालत मार्फत सफ्ट कु गर्ने षड्यन्त्र यसरी भयो पराजित

काठमाडौं, २० बैशाख । नेकपा(एमाले)का अध्यक्ष खड्ग ओली पूर्व राजा ज्ञानेन्द्रको असली मतियार बनेको पछिल्ला राजनीतिक घटनाक्रमहरुले पुष्टि गरेको छ । संविधान संशोधननमा उनले देखाएको बालहठ, राजनीतिक रुमपा दोग्ला चरित्र र राष्ट्रवादको नाममा देखाएको नाटकका पछाडि ज्ञानेन्द्रको हात रहेको प्रष्ट भएको छ । पछिल्ला दिनमा खड्ग ओली, राप्रपा परित्याग गरेका डा प्रकाशचन्द्र लोहनी र ज्ञानेन्द्रकोबीचमा गतिलो मित्रता मात्रै होइन सहकार्य समेत हुन थालेको छ । व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भयो । संविधान संशोधन प्रस्तावलाई असफल बनाउन खड्ग ओलीले ज्ञानेन्द्रसँग सहयोग मागे र प्रकाशचन्द्र लोहनी मार्फत संशोधन प्रस्ताव असफल बनाउने योजना बनाइयो ।

सोही योजनाअनुसार नै ज्ञानेन्द्रको निर्देशनमा राप्रपाका १० सांसदको मोबाइल अफ गर्न लगाइयो र सदनमा संविधान संशोधन प्रस्ताव नै दर्ता भइहाले पनि थप तीन जना सांसदले मतदान नगर्ने स्थितीको सिर्जना गरियो । सरकारमा रहेका दलहरुले निकै मेहनतका साथ संविधान संशोधनको पक्षमा ३९८ मत पु¥याएका थिए । खड्ग ओली, ज्ञानेन्द्र गठबन्धनका कारण संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न सकेन । सतहमा हेर्दा यी विषय संसद् भित्रका विषय जस्ता लागेपनि ज्ञानेन्द्रसँग जोडिएको लगन गाँठो र त्यसको प्रमुख खेलाडीका रुपमा खड्ग ओली देखिएका छन् । मधेसवादी दललाई भारतीय भनेर बिच्क्याउन पनि ओली लागि परेका छन् । संविधानको कमा र पूर्णविराम समेत परिवर्तन गर्न नदिने उनको चरित्र निर्माण हुनुको पछाडि राष्ट्रवाद नामको भूतले काम गरेको छ ।

यसका पछिाडि केही कारण र तथ्यहरु पनि रहेका छन् । महाकाली सन्धीको विषयलाई लिएर एमाले फुटेको सन्दर्भमा खड्ग ओलीहरुमाथि तत्कालीन मालेले लगाएको केही आरोपरुपी तथ्यहरुको स्मरण गर्नु जरुरी हुन्छ । एमालेका हालका प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल र एमाले छाडेका स्वतन्त्र लेखक नारायण ढकालले २०५५ सालमा लेखेको पुस्तक ‘राष्ट्रघाती विर्सजनवादी एमाले नेतृत्व गुटको ५१ अपराध’का विषयमा चर्चा गर्नु उपयुक्त हुन्छ ।

उक्त पुस्तकमा लेखिएको छ तत्कालीन नेकपा(माले)को चौथो महाधिवेशन र तत्कालीन नेकपा(एमाले)को पाँचौ महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना गर्ने लक्ष्यलाई माधव केपी (माधवकुमार नेपाल र खड्ग ओली) गुटले छैटौ महाधिवेशनमा उठाइएको गणतन्त्रको प्रस्ताव परित्याग गरि आफ्नो दस्तावेजमा कहीकतै गणतन्त्रको ग समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रुपमा समेत एमालेलाई राजावादी पार्टीमा परिणत गरायो ।

योगेश भट्टराईहरुले त्यतिखेर लगाएको आरोपको श्रृखलामा अहिले खड्ग ओली र ज्ञानेन्द्र शाहबीच भइरहेको गठबन्धनलाई लिन सकिन्छ । बरु राजा र दरबारसँगको टसलपछि गिरिजाप्रसाद कोइराला सहजै रुपमा गणतन्त्रवादी बनेका थिए । नेपालको इतिहासमा कोइरालाको योगदान स्वर्ण अक्षरमा लेखिएको छ । ‘एमाले त्यसको नेतृत्व विशेष गरी खड्ग ओली न त विगतमा गणतन्त्रवादी थिए, न त राष्ट्रवादी नै । उनी त खास अर्थमा राजतन्त्रका पहरेदार नै हुन् । कमल थापाहरु बरु गणतन्त्रवादी होलान् तर खड्ग ओलीहरु गणतन्त्रवादी बन्नै सक्दैनन् र हुँदैनन् पनि’ योगेश भट्टराईहरुले लगाएको आरोप हो यो ।

महाकाली सन्धी पारित गर्ने समयमा उनै खड्ग ओलीहरुले तत्कालीन काँग्रेसको नेतृत्वसँग रु पाँच करोडको डिल गरेको विषय पनि सार्वजनिक भएको थियो ।

यस्तै तत्कालीन गृहमन्त्री समेत रहेका खड्ग ओलीले नियमविपरित गृह मन्त्रालयका लागि खरिद गरेको सवारी साधनमा भ्रष्टाचार गरेको प्रतिवेदनसंसद्को सार्वजनिक लेखा समितिको सम्पत्तिको रुपमा अझै पनि सिंहदरमा सुरक्षित छ । यो नागरिकले लगाएको आरोप होइन, उनै योगेश भट्टराई र घनश्याम भुसालहरुले निकालेको पुस्तकमा उल्लेख गरिएको विषय हो । बागबजारमा पुस्तक पसल र स्टेशनरीहरुमा अझै पनि सो पुस्तक पाइन्छ ।

यस्तै मदन भण्डारी र जीवराज आश्रितको हत्याकाण्डको सन्दर्भमा तयार पारिएको भिसेरा रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरा लुकाइयो । तत्कालीन राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेललाई खड्ग ओलीले दासढुंगा हत्याकाण्डलाई हत्या भएको होइन, दुघर्टना मात्र हो भनी सही गर्न लगाइयो आम मान्छेले लगाएको आरोप होइन, उनै भुसाल र भट्टराईले एमाले नेतृत्वलाई भनेको विषय हो । माओवादीले काँध थापिदिएर एमालेका तीन नेता प्रधानमन्त्री भए । विद्या भण्डारी राष्ट्रपति भइन के एमाले तयार छ ? मदन भण्डारी र जीवराजको हत्यारा पत्ता लगाउन । स्थानीय तहको निर्वाचन सुरु भएको छ । तपाईको घरमा भोट माग्न आउने एमालेका नेतालाई सोधिदिनु मदन र जीवराजको हत्यारा कहिले पत्ता लगाउनुहुन्छ ? हत्यालाई दुर्घटनाको जलप लगाएको एमाले नेतृत्व अहिले पनि उही छ । जो राष्ट्रवादको नाममा नेपाली जनतामाथि राष्ट्रघात गरिरहेको छ ।

मुखले राम राम बगलीमा छुरा खड्ग ओलीको परिचय हो । कान्तिपुर प्रकाशन गृहको सहप्रकाशन नेपाल साप्ताहिकले केही समय पहिले मैमत्त कमरेड भन्दै ओलीको विषयमा जे हो त्यही लेख्यो । ओलीले एमाले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने त्यो समाचार लेख्ने पत्रकार र पत्रिका पनि चिनेको छु, समय आएपछि विचार गरौला । त्यो भनाइको तात्पर्य के हो ? प्रतिपक्षमा रहँदा समेत अधिनायकवादी शासन चलाउन खोज्ने ओली पूर्ण बहुमतका साथ सरकार चलाउने अवस्थामा पुगेभने आफू विरुद्ध बोल्ने सबैलाई जेल हाल्न तयार छन् । उनी विरोधी जति सबैलाई सिध्याइदिन चाहन्छन् भन्ने देखिन्छ । भारतमा दंबग प्रधानमन्त्री नरेन्द्र मोदीले प्रजातन्त्रको नाममा अधिनायकवाद चलाइरहेका छन् । खड्ग ओली आफूलाई मोदीसँग तुलना गर्छन । यसले पनि के देखाउँछ भने उनी आफ्ना विरोधीलाई पूर्ण रुपमा मरियामेट पार्न चाहन्छन् । हुन त झापा विद्रोहका क्रममा अरुका बाउका टाउका काट्ने र आफ्नाका भने जोगाउने भन्दै पूराना वाम नेता मोहनचन्द्र अधिकारीले भनेकै हुन् ।
अब सन्दर्भ रह्यो पछिल्ला दिनमा खड्ग ओली र ज्ञानेन्द्रबीचको गठबन्धन कसरी बन्यो भन्नेमा । राष्ट्रपति विद्या भण्डारीले छोरीको विवाह गरिदिइन, प्रमुख पाहुना बने ज्ञानेन्द्र शाह । ज्ञानेन्द्रले नातीको ब्रतबन्ध गरे प्रमुख पाहुना बनीन राष्ट्रपति भण्डारी । सामाजिक परम्पराको आवरणमा सम्बन्ध विस्तार भएको सतहमा देखिन्छ । तर खास अर्थमा भने शिशु गणतन्त्रको घाटी निमोठ्न ओलीहरु सक्रिय छन् । माधव नेपाल त दाम राखेर राजाको खुट्टा ढोग्न गएका व्यक्तित्व नै हुन् । झलनाथ खनाललाई दक्षप्रजापतिको टाउकोले सधै सताइरहन्छ । इश्वर पोखरेलहरु नेता कम व्यापारी बढी हुन् । जसलाई राजनीतिको नाममा व्यापार गर्नु छ । खानेपानीको ट्याकीमा लुकाइएको पैसाको कारण अख्तियारले डामेको घटना पूरानो भएको छैन । मान्छेहरुले पोखरेललाई अहिले पनि तेल मन्त्री भनेर चिन्छन् । भीम रावलमाथि लागेको साउथ चाइना जहाज प्रकरणको १४ करोडको भ्रष्टाचार, पाइलट हडतालका कारण नेपाल वायु सेवा निगमको गुमेको ६० करोड बढीको व्यापारको विषयले अझै पिरोलीरहेको छ । धमिजा काण्डको मुद्दा सर्वोच्चमा चलीरहेको छ ।दिनेश धमिजालाई गलत तवरले दिइएको रु १८ करोड छुटको विषयमा भीम रावल तानिने सम्भावना छ । यी सबै घटनाक्रमले एमालेको सिंगो नेतृत्व क्रमशः भ्रष्टाचारीमा परिणत भएको पुष्टि हुन जान्छ । यी सबै घटनाक्रम र तथ्यहरुलाई ओझेलमा पार्न र नेपाली जनतालाई मूर्ख बनाउन एमालले राष्ट्रवादको नाममा ज्ञानेन्द्रसँग मितेरी साइनो लगाएको हो । आफ्ना सबै काला कर्तुतहरु जोगाउनका लागि बनेको राष्ट्रवादको साइनो नेपाली जनताका सामु प्रष्ट भइसकेको छ ।

अझ पछिल्ला दिनका गतिविधि हेर्ने हो भने एमाले विजुलीचोरको मतियार हो । नेपाल विद्युत् प्राधिकरण डुबाउने सबैभन्दा ठूलो खेलाडी एमाले नेतृत्व हो । सार्वजनिक संस्थानहरु डुबाउने एमाले हो । त्यसको नेतृत्व हो । पछिल्लो दिनमा त एमालेले अदालतको आडमा सफ्ट कु नै गर्ने योजना बनाएको तथ्य सार्वजनिक भएको छ । सुशीला कार्कीले ठूलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मानहानीको मुद्दा चलाउने, प्रधानमन्त्री प्रचण्डलाई द्वन्द्वकालीन घटनाको नाम र अदालतको अपहेला गरेको नाममा मुद्दा चलाउने, नेपाली सेनाका उच्च अधिकारीलाई पनि सोही बाहानमा बर्खास्त गर्ने, मुलुकलाई अराजकताको भूमरीमा फसाउने र नेपाल प्रहरीको प्रमुखमा किर्तेकाण्डका प्रमुख मतियार नवराज सिल्वाल ल्याउने र सफ्ट कु गर्ने एमाले र खड्ग ओलीको योजना थियो । त्यो योजना महाअभियोग प्रकरणपछि क्रमशः साम्य भएको छ । देश र जनता विरुद्ध चालिएका यस्ता हर्कतलाई जोगाउन पनि एमालेले राष्ट्रवादको माला जप्नु आवश्यक देखिएको छ । जुन अन्ततः राष्ट्रघातको अर्को श्रृखला हो । योगेश भट्टराई र घनश्याम भुसालहरुले २०५५ सालमा लगाएको आरोप आज पनि उत्तिकै समय सान्दर्भिक छ, उत्तिकै तर्कसंगत छ, जुन खड्ग ओलीहरुप्रति परिलक्षित थियो ।

khabardabali.com बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *