Loading...
फोरम नेपालले न त मधेशको मुद्धा छोडेको थियो, न त छोडेको छ, न त छोडने छ , गलत आरोप लगाउनेहरु आफै नाङ्गिञ्छ – उपेन्द्र यादव

काठमाडौं २१, वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) प्रति खरो टिप्पणी गरेका छन् । यादवले संविधान संशोधनअघि निर्वाचनमा नजाने पूर्वप्रतिबद्धता तोडेको भनी राष्ट्रिय जनता पार्टी (राजपा) ले लगाएको आरोपको खण्डन गरेका हुन् । मधेशी दलहरुले उठाउँदै आएको एजेण्डालाई बीचमै छाडेर यादवले चुनावमा गएको भन्दै राजपा नेताहरुले आरोप लगाएपछि यादवले आफूहरुविरुद्ध भ्रम फैलाउने काम भएको टिप्प्णी गरे । संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा गएको उनको प्रष्ट गरे ।

संघीय समाजवादी फोरम नेपालले आफ्नो केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले देशमा घट्ने सम्भावित घटनालाई मध्यनजर गर्दै आफ्नो पार्टी चुनावमा सहभागी भएको बताए । ‘संघीय गणतन्त्रको रक्षाका लागि हाम्रो पार्टीले चुनावमा भाग लिनेको हो’, यादवले भने, ‘ मधेसको माग र एजेण्डाबाट पछि हटेका छैनौं । मेरो विरुद्धमा भ्रम फैलाउने काम भइरहेको छ ।’ मंगलबार राजपाको बैठकले यादवले चुवानमा गएर धोका दिएको भन्दै अब मधेसी मोर्चाको औचित्य समाप्त भएको बताएको थियो । तर यादवले मोर्चाको महत्व आफूले जति अरु मधेसी नेताले नबुझेको भन्दै ‘कसैले मोर्चाको औचित्य समाप्त भएको भन्छ भने उसकै औचित्य समाप्त भएको बुझ्नुपर्ने’ बताए ।  यादवले भने– मोर्चाको औचित्य समाप्त भएको कसैले भन्छ भने उसकै औचित्य अब सकिएको बुझ्नुपर्छ । मोर्चा सकिए मधेस आन्दोलननै समाप्त हुन्छ । ‘पूर्वराजा ज्ञानेन्द्रको नातिको ब्रतबन्धमा केही दिनअघि चिप्लो लुगा लगाएर सोल्टी होटल जानेले हामीलाई लोकतन्त्र र संघीयताको पाठ सिकाउने ?’ राजपा नेताहरुप्रति इंगित गर्दै यादवले भने, ‘ हामीलाई चुनावमा गएको भनी आरोप लगाउने साथीहरु (राजपा) नै निर्वाचन आयोगमा चुनाव चिन्ह चाहियो भनेर गएको पनि देखियो ।’

उनले राजपाले पनि चुनाव चाहेको भन्दै खाली दल दर्ता नभएको र चुनाव चिन्ह नपाएकाले मात्रै बार्गेनिङ गरिरहेको टिप्पणी गरे । आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनुको कुनै तुक नरहेको भन्दै यादवले पार्टीले चुनावमा भाग लिएपनि चुनावअघि संशोधन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताए ।  मधेस र मधेसी जनताको अधिकारको लागि कुनै सम्झौता नहुने पनि यादवले प्रष्ट पारे ।  यादवले बैशाख ३१ गते हुने पहिलो चरणको चुनावको मतगणना र दोस्रो चरणको सँगै गरिनुपर्ने पनि बताए ।  यादवले पहाडमा प्रभावै नभएको राजपाले अहिले उम्मेदवारी दिनु आवश्यक नै नभएको भन्दै आफ्नो पार्टीको भने ७५ वटै जिल्लामा संगठन भएकाले उम्मेद्वारी दर्ता गराएको बताए ।

पहिचान र अधिकार प्राप्तिको संघर्ष जारी राख्दै जनताको संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र, लोकतन्त्रलगायत उपलब्धीहरूको रक्षा गर्न घोषित स्थानीय तहको पहिलो चरणको निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल सहभागी भएको उनले बताए ।  ‘स्थानीय निर्वाचनमा सहभागी हुँदैमा संविधान संशोधनको मुद्दा कदापि छोड्दैनौं,’ पत्रकारहरूसँग कुरा गर्दै यादवले भने, ‘सरकारले गठबन्धन र मोर्चासँग गरेको प्रतिबद्धता अनुसार संविधान संशोधन नभए दोश्रो तहको निर्वाचन तराई–मधेसमा हुन सक्दैन ।’ संविधान संशोधनका लागि व्यवस्थापिका–संसदमा आवश्यक दुई तिहाई मत पुग्ने अवस्था सुनिश्चित भएको बेला नाटकीय रुपले राजनीतिक घट्नाक्रम विकसित भएकोले परिवर्तन पक्षधरहरूमा शंका उत्पन्न भएको समेत यादवको भनाइ थियो ।

‘मधेसी, आदिवासी जनजाति, शिल्पी, धार्मिक अल्पसंख्यक लगायतको अधिकार सुनिश्चित नभएसम्म पार्टीले जुनसुकै बेला र जुनसुकै खाले लडाइँ लड्ने कुरा स्पष्ट छ । निर्वाचनमा जानुको अर्थ मुद्धा छोडिएको होइन बरु परिस्थितीअनुसार संघर्षको स्वरुपमा अघि बढिएको हो– अध्यक्ष यादवले भने ।  पुष्पकमल दाहाल नेतृत्वको सरकारले ६ जना मधेसी जनताको हत्या गरेकाले सरकारलाई दिइएको समर्थन फिर्ता गरिएको जिकिर गर्दै नेता यादवले भने, ‘तर राजपाका साथीहरूले किन त्यही सरकारलाई समर्थन गर्नुभयो त्यो उहाँहरूको अधिकारको कुरा हो ।’ अर्को प्रसंगमा यादवले आईजीपीको बहानामा प्रधानन्यायधीशमाथि लगाएको महाअभियोग गलत भन्दै तुरुन्त महाभियोग फिर्ता लिन पुनः माग गरेका छन् ।  महाभियोग फिर्ता गर्न आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटिसकेको पत्रकार सम्मेलनमा उनले उल्लेख गरे ।

स्थानीय तहको पहिलो चरणको प्रदेश नं. ३, ४ र ६ को निर्वाचनमा संघीय समाजवादी फोरम र नयाँ शक्तिले गत मंगलबार संयुक्त रुपमा उम्मेदवारीहरु दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *