Loading...
बैठक नै नबसी राजपाका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नामलाइ भजाएर किन खानु भयो ? महन्थ ठाकुरजी, जवाफ चाहियो ! – महेश चौरसिया
संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ । राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गर्नु आफैमा हास्यास्पद छ । उक्त विज्ञप्ति संघीय गठबन्धनको आधिकारिक हुनै सक्दैन ।
ठाकुरजीको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरुबीचको भावी सम्बन्ध कस्तो हुनेछ अनुमान गर्नु भएको छ ? मधेशका जनताले यसलाई कुन रुपमा लिनेछन् ? राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन् । जसको जवाफ राजपा अध्यक्ष महन्थ ठाकुरले दिन जरुरी छ । गठबन्धनमा आबद्ध घटक दल, प्रादेशिक र जातीय मोर्चालाई खबर नै नगरी राजपा अध्यक्ष ठाकुरले कुन नैतिकताले विज्ञप्ति जारी गरेका हुन् ? आखिर संघीय गठबन्धनको बैठक बोलाउँछ कसले ? राजपा अध्यक्ष ठाकुरलाई गठबन्धनको बैठक बोलाउने अधिकार कसले दियो ? संघीय गठबन्धनको नाममा विज्ञप्ति निकाल्ने अधिकार उनलाई कसले दियो ? पर्दा पछाडि यसभित्र गम्भीर डिजाइनले काम गरेको हाम्रो ठम्याई छ । जसले संघीय गठबन्धनको आन्दोलनलाई सँधै बहिष्कार गर्यो, आन्दोलनको कार्यक्रममा गएन, बैठकमा सहभागी भएन, उसलाई आज गठबन्धनको याद कसरी आयो ? उसलाई गठबन्धनको आवश्यकता किन पर्यो ? राजपा अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्ति राजपाको निर्णय हो, गठबन्धनको निर्णय होइन ।
गठबन्धनको निर्णय भन्दै राजपाले सुनियोजित रुपले जनतामा भ्रम सिर्जना गर्न खोजेको छ ।  मोर्चा सम्मिलित संघीय गठबन्धनले गएको बैशाख ९ गते एक महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर, वालुवाटारमा सहमति गरेर राजपा नेताहरुले आन्दोलन किन फिर्ता लिए ? आन्दोलन स्थगित गरेर राजपाले चुनाव चिन्ह माग्न निर्वाचन आयोग किन गएको थियो ? पार्टी दर्ता नभएकोले आयोगले चुनाव चिन्ह अस्वीकार गर्यो ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रदेश नं. ३, ४ र ६ नं. प्रदेशमा राजपाको कुनै अस्तित्व नै छैन । त्यहाँ राजपाको न मतदाता छन्, न उम्मेदबार ? अनि केका लागि उम्मेदबारी देऊन् ? तसर्थ, पहिलो चरणको चुनावमा राजपाले भाग लिनु वा नलिनुको कुनै अर्थ नै भएन । पार्टी एकीकरण ताका संघीय समाजवादी फोरम नेपालसँग कुनै सल्लाह वा परामर्श गरिएन । अनि फोरम नेपाल एकीकरण प्रक्रियामा आएन भनेर किन झूठा प्रचार गरिँदैछ ? चुनावमा भाग लिने वा नलिने बारे निर्णय गर्न हरेक पार्टी स्वतन्त्र छन् । फोरम नेपालले मधेशी मोर्चा वा संघीय गठबन्धनको तर्फबाट चुनावमा गएको होइन ।
मोर्चा र गठबन्धनको संयुक्त निर्णयका आधारमा सरकारबाट समर्थन फिर्ता लिइएको थियो । तर, अहिले मोर्चा र गठबन्धनमा छलफल नै नगरी राजपाले कुन नैतिकताको आधारमा प्रचण्ड सरकारलाई समर्थन दिने निर्णय गर्यो ? फिर्ता लिई सकेको समर्थन फेरि किन दिइनु पर्यो ? जसले सँधै गठबन्धनलाई अपमान गर्यो, बहिष्कार गर्यो, उसलाई गठबन्धनको नाम दुरुपयोग गर्ने अधिकार कसले दियो ? राजपाको एकलौटी निर्णयले मधेशी मोर्चालाई किन भंंग गरियो ? मोर्चा विघटन हुनुअघि छलफल हुनु पर्थेन ? मधेशमा ऐतिहासिक आन्दोलनको अगुवाई गरेको मोर्चालाई भंग गर्ने राजपाको निर्णय कसरी सही हुन सक्छ ? संघीय समाजवादी फोरम नेपाल चुनावमा गएको मोर्चा छोपेर राजपाका नेताहरु दुईचार दिनका लागि क्रान्तिकारी बन्ने लहडमा लागेकोले यस्तो विज्ञप्ति आएको प्रष्ट छ । मधेश आन्दोलन, माग, सवाल र संविधान संशोधनलाई कमजोर गर्न अन्तैबाट परिचालित भई राजपाले यस्तो हर्कत गरेको हाम्रो बुझाई हो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि अहिले सुनियोजित ढंगले चौतर्फी प्रहार हुँदैछ । राजपाको ताजा विज्ञप्ति पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कमजोर बनाउन खोजिएको एउटा कदम मात्र हो । मधेश विरोधी शक्तिहरुलाई बलियो बनाउन राजपाले यस्तो षड्यन्त्र गरेको छ । मधेश आन्दोलन र संविधान संशोधनलाई कमजोर पार्न यस्तो सुनियोजित षड्यन्त्र रचिएको हाम्रो ठहर छ ।
प्रेस संयोजक
उपेन्द्र यादव– अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *