Loading...
विस्फोटकसहित विप्लव माओवादीका कार्यकर्ता पक्राउ, गौरिवासमा सेल्टर स्थापना गरी गतिविधि संचालन

बिष्णु घिमिरे

महोत्तरी २५,  प्रहरीले विस्फोटक र दस्तावेजसहित नेकपा माओवादी विप्लव समूहका ३ कार्यकर्ता पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषा नपा–५ का ५५ वर्षे जनकपुर व्युरो सदस्य मोहमद आदन राईन , धनुषाधाम नपा–८ का ३६ वर्षे कार्यालय सदस्य तिलक भन्ने प्रानकुमार लामा तथा सोही नपा–३ की ५१ वर्षिया मिथिला चौहान रहेको जिल्ला प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले आइतबार बिहान ७ बजेतिर पक्राउ गरे पनि साँझ साढे ४ बजेमात्र जिल्ला प्रहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई बर्दिवासस्थित इलाका प्रहरीका डिएसपी शालिग्राम शर्माको कमाण्डमा गएको टोलीले बर्दिवास नपा–३, गौरीडाँडास्थित ज्ञानप्रसाद पौडेलको घरमा छापा मारी नियन्त्रणमा लिएको हो । उनीहरुले पौडेलको घरलाई बाहालमा लिई केही समयदेखि पार्टी गतिविधि संचालन गर्दै आएको प्रहरीले जनाएको छ ।
छापामारीका क्रममा ‘स्थानीय निर्वाचन खारेजी गर’ लेखिएका २ सय थान पर्चा र पोष्टर, टाईम बम बनाउन तार सेट गरिएका २ थान भित्ते घडी, ६ थान डेटोनेटर, घडी, टेस्टर, २ बोतल तेजाव, ३ सय ग्राम बारुद बनाउने धुलो पनि बरामद भएका छन् ।  प्रहरीले नियन्त्रणमा लिएका अन्य बिस्फोटकमा सोल्डिङ तार, आइरन र पेस्टहरु, कुकर बम वनाउने सामग्री, २ केजी गन्धक, आल्मुनियम फसफेट, बम पड्काउने योजनासहितका पेन्सिलले स्केच गरिएको नक्सा छन् । यस्तै २ थान ल्यापटप , ६ सेट मोवाईल, कांग्रेसको रुख छाप भएका टिसर्ट, पार्टी नविकरणका फाईललगएत सामग्री बरामद भएका छन् । बरामद सबै सामग्री प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

प्रहरी उपरीक्षक राजकुमार लम्सालले आसन्न निर्वाचनलाई बिथोल्ने नियतले गौरिवासमा सेल्टर स्थापना गरी गतिविधि संचालन गर्दै आएको बुझिएको जनाए । १७ कर्यालयलाई लक्षित गरी बिस्फोट गराउने गरी उनीहरुले गतिविधि संचालन गरिरहेको बरामद नक्साका आधारमा प्रहरीले अर्थ लगाएको छ । साथमा रुख छाप अंकित टिसर्ट पनि बरामद भएका छन् । यसलाई पनि प्रहरीले अर्थपूर्ण रुपमा लिएको छ ।
‘रुख छापको टिसर्ट लगाएपछि कांग्रेस कार्यकर्ता भएको भान पारेर कार्यालय वा कार्यक्रममा सहज प्रवेश गर्ने र अवान्क्षित गतिविधि गरी सुरक्षित फर्कने रणनीति अन्तर्गत रुख छाप भएको टिसर्ट राखेको हुनुपर्छ,’ एसपी लम्सालले संचारकर्मी समक्ष भने ।  त्यस्तै छापामारिका क्रममा अल्मुनियम फोस्फेट समेत वरामद भएको छ । यस्तो कडा विषादी उनीहरुले किन राख्नु पर्यो अध्ययन भइरहेको पनि लम्सालले बताए । ‘अल्मुनियम फोस्फेट घातक विषाधी हो,’ लम्सालले भने, ‘मिलिटेन्टहरुले यस्ता विषादी पक्राउ पर्न थालेपछि सुसाडटका लागि सेवन गरेको देखिएको छ, यिनीहरुले के प्रयोजनका लागि राखेका हुन् बुझ्ने काम भइरहेको छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *