
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चुनाब अघि संबिधान संशोधन भएन भने पहिलो चुनाबको बक्साहरु डम्पिङ्ग साइटमा फ्याली दिने चेतावनी दिनु भएको छ । फोरम नेपालका अध्यक्ष यादवले दोस्रो चरणको चुनाव अघि नै परिमार्जनसहित संविधान संशोधन पारित हुनु पर्ने, मतदाता नामावली थप्न समय दिनु पर्ने, पहिलो र दोस्रो चरणको मतगणना र मतपरिणाम एकै पटक हुनु पर्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै, चुनावमा सेना परिचालन गर्न नहुने, मधेश आन्दोलनका दौरान पक्राउ परेका नेता कार्यकर्ताको रिहाई एवं उनीहरुको मुद्दा खारेज हुनु पर्ने, मधेशमा गाउँपालिका एवं नगरपालिकाको संख्या जनसंख्याको अनुपातमा बृद्धि गर्नुपर्ने र सरकारले स्थानीय चुनावपछि मात्र बजेट ल्याउने गरी प्रस्ताव गरेका छन् । भेटवार्तामा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दाहरु बारे एक शब्द पनि बोलेनन् । छलफल अवधिभर मौन बसेका अध्यक्ष ठाकुरले अन्त्यमा राष्ट्रपति भण्डारीलाई श्रीलंका यात्राको शुभकामना दिए ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि सरकार गम्भीर रहेको जानकारी दिँदै दोस्रो चरणको चुनावअघि नै संशोधन पास गराउने प्रयास जारी रहेको बताए ।
त्यस्तै, छलफलमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्बाङले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

Facebook Comments