
काठमाडौँ २९, वैशाख । स्थानीय तहको घोषित चुनावको लगातार विरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालले आफै दल दर्ताको लागि निर्वाचन आयोग धाउने गरेको पाइएको छ । जनतामा देखाउनलाई चुनावको विरोध गर्ने अनि भित्रि रुपले पटक पटक निर्वाचन आयोग पुगेर राजपाले दल दर्ताको लागि आग्रह गरिसकेको छ । राजपाले शुक्रबार पनि निर्वाचन आयोग पुगेर आफ्नो दल दर्ताको लागि आग्रह गरेको बुझिएको छ । देखाउनलाई चुनावको विरोध गरेपनि राजपाले निर्वाचनमा भाग लिनको लागि आगामी जेठको पहिलो साताभित्रै निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी गरेको ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सकिएकाले एकीकृत पार्टीलाई दलको मान्यता र नयाँ निर्वाचन चिह्न दिन अस्वीकार गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलपछि राष्ट्रिय जनता पार्टीका एक नेताले स्थानीय तह निर्वाचनमा एकीकृत दलका रुपमा सहभागी हुन सम्भव नभए पनि निर्वाचनमा एकीकृत दलका तर्फबाट सहभागिताका लागि दल दर्ता गर्न लागिएको स्वीकार गरेका छन् ।
आयोगसँग एकीकृत दलको नाम, निर्वाचन चिह्न र दल दर्ताको प्रक्रियालगायतका विषयमा छलफल भएको ती नेताले बताए । यसै महिनाको पहिलो साता तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो । तर, राजपा नेपाल दलको रुपमा निर्वाचन आयोगमा दर्ता भएको होइन । निर्वाचन आयोगले राजपालाई दलको मान्यता, पार्टी झन्डा र चुनाव चिन्ह दिएको छैन ।
छलफलमा वृषेशचन्द्र लाल, जीतेन्द्र सोनल, मनिषकुमार सुमन, केशव झा, डा कौशलेन्द्र मिश्र, सिपी सिंह र दीपेन्द्र चौधरी सहभागी थिए ।
Facebook Comments