
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेस विजयी भएको छ । ओली बस्दै आएको बालकोट एमालेको गढको रुपमा मानिन्छ । तर, एमालेको मजबुत वडा काँग्रेसको पोल्टामा गएको छ ।
वडामा कांग्रेसका कमलनाथ आचार्य विजयी भएका छन् । वडामा महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार, खुला सदस्यमा सुवासकुमार कार्की विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा विश्वराज विष्ट विजयी भएका छन् ।
नवनिर्वाचित वडाध्यक्षले भने- ओलीज्यूलाई कुनै समस्या परे सहयोग गर्छु
नवनिर्वाचित अध्यक्ष कमलनाथ आचार्यले मतदानको दिन आफूलाई एमाले अध्यक्ष केपी ओलीले ‘आँखा तरेको’ बताएका छन् । ओली बसोबास गर्ने बालकोट त्यही वडामा पर्छ । ‘मतदानको दिन भोट हालेपछि उहाँसँग मेरो जम्काभेट भएको थियो। उहाँले मलाई आँखा तरेर हेर्नुभयो, किन हो थाहा छैन,’ निर्वाचन परिणाम घोषणापछि आचार्यले भने, ‘उहाँले आँखा तरे पनि म उहाँलाई आँखा तर्दिनँ, नम्र आँखाले हेर्छु।’
‘केपी ओलीज्यूको वडा भए पनि जनताले मलाई विश्वास गरे,’ नवनिर्वाचित वडाध्यक्ष आचार्यले भने, ‘म जनताको विश्वास कम हुन दिन्नँ, जनतालाई खुसी राख्छु।’ आफू जनताको हितमा काम गर्ने विश्वास दिलाउँदै उनले ओलीको क्षेत्र भएकाले उनलाई पनि अप्ठ्यारो परेका बेला आफू सहयोग गर्न सधैं तयार रहने बताए। ‘ओलीज्यूको वडा हो, यो समग्र वडाको समस्या मेरो सरोकारको विषय हो, ओलीज्यूलाई कुनै समस्या पर्यो भने म त्यसलाई पनि ध्यान दिन्छु र सुल्झाउन प्रयत्नरत रहन्छु,’ उनले भने।
Facebook Comments