Loading...
एमालेको खोक्रो राष्ट्रवादले स्वर्ण पदक जित्न सकेन केपी ओली, पछार्न सकेन काँग्रेसलाई

काठमाडौं । स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न हुनुभन्दा अगाडि धेरैको आकलन थियो कि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र अब अवसानको बाटोतर्फ झर्दैछन् । त्यसको सट्टामा राष्ट्रवादी नारा बोकेर चर्चामा आएको नेकपा एमाले र उसैको पछिपछि हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्मानजनक भोट पाउनेछन् ।

त्यही जनमतको पछिपछि नेकपा एमालेका नेताहरुको हुँकार पनि बढ्दै गयो । दिनपछि रात र रात पछि दिन सुरु हुँदै जाँदा बैशाख ३१ गतेको निर्वाचन सम्पन्न भयो । मतगणना सुरु भयो । त्यससँगै विस्तारै एमालेका नेताहरुको हुँकार पनि साम्य हुँदै जान बाध्य भयो । कारण थियो निर्वाचनमा देखिएको एमालेको लागि अनपेक्षित परिणाम ।

अहिले नेकपा एमालेले स्थानीय निर्वाचनको पहिलो चरणको मतगणना चल्दैगर्दा अग्रता हाँसिल गरिरहेको छ । उसको पछिपछि नेपाली काँग्रेस छ । तर एमालेले आफूले बढी स्थानीय तहमा विजय हाँसिल गरिरहँदा पनि यो परिणामलाई अनपेक्षित भनेर चर्चामात्रै गरिररहेको छैन । यो धाँधली गरेको भनेर सरकारलाई आरोप समेत लगाईरहेको छ । बिहीबार बसेको व्यवस्थापिका संसद्मा नै एमाले नेता राजेन्द्र पाण्डेले सरकारले निर्वाचनमा धाँधली गरेको आरोप लगाए । तर किन त आफूले जित्दा पनि यस्तो त्रास र रोदन चलिरहेको छ एमालेको ? यो पक्कै पनि धेरैको लागि चासोको विषय हुनसक्ला ।

अहिले जुनजुन क्षेत्रमा निर्वाचन भएको थियो यी सबै क्षेत्रलाई नेकपा एमालेले आफ्नो पकड क्षेत्रको रुपमा सम्झिएको थियो । अहिलेको समयमा दुई तिहाई स्थानीय तहमा आफूले विजय हाँसिल गर्न सकेको खण्डमा दोस्रो चरणमा हुने निर्वाचनमा तराईबाट मत नआए पनि आफू पहिलो पार्टी बन्न सक्ने आकलन एमालेको थियो । तराई मधेशका जनताप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले समयसमयमा दिने गरेको विवादास्पद भाषणहरुका कारण तराई मधेशमा एमालेको मत शुन्यप्रायः बनेर आउने आकलन गरिएको छ । यसबारे एमालेलाई पनि राम्रोसँग थाहा छ । तर, अहिले चुनाव भएको क्षेत्रमा उग्र राष्ट्रवादको नाराले भोट तान्ने प्रपञ्च पनि असफल भएपछि एमाले नेताहरुमा छटपटी सुरु भएको हो ।

त्यसैमाथि पनि केपीओलीको खोक्रो राष्ट्रवादले प्रभाव पार्ने क्षेत्र पनि यिनै तीन प्रदेश र प्रदेश नं १ हो । त्यसैले अब प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो चरणको निर्वाचनमा केही स्थानीय तहमा आफ्नो विजय हाँसिल गर्न सक्छ भने प्रदेश नं १ बाट अलिअलि विजय हाँसिल गर्ला । होईन भने अन्यत्रबाट भोटपाउनु एमालेको लागि दिवा स्वप्न सरह हो । एमालेले यस बाहेकका २, ५ र ७ नं प्रदेशबाट लज्जास्पद हार बेहोर्ने निश्चित प्रायः नै छ ।

यससँगै एमालेको खोक्रो राष्ट्रवाद आफ्नै पकड क्षेत्रमा समेत ओईलाएर गएको र आफ्नो मुख्य प्रतिद्वन्दी मानेको नेपाली काँग्रेसले नै आफ्नो हाराहारीमा भोट ल्याएपछि एमालेको पहिलो पार्टी बन्ने सपना समेत तुहिने भएको छ । त्यसैले पनि एमालेका नेताहरु विभिन्न ठाउँमा पुगेर सरकारले धाँधली गरेको आरोप लगाउँदै हिँड्ने गरेका छन् ।

पछिल्लो अपडेट अनुसार कहाँ कसले जिते ?
हामीलाई प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेले अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तहमा विजय हाँसिल गरेको छ । उसले प्रदेश नं ६ मा ९ नगरपालिका र १२ गाउँपालिका सहित कूल २१ स्थानीय तहमा विजय हाँसिल गरेको छ भने उसको पछि पछि रहेको नेपाली काँग्रेसले ६ नगरपालिका र १२ गाउँपालिका सहित कूल १८ स्थानीय तहमा विजय हाँसिल गरेको छ । ६ नं प्रदेशमा माओवादीको १६ ठाउँमा विजय हाँसिल भएको छ । यहाँ दुई जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

त्यस्तै, प्रदेश नं ४मा एमाले ८ नगरपालिका र २२ गाउँपालिका सहित ३० स्थानीय तहमा, काँग्रेस १३ नगरपालिका र २५ गाउँपालिका सहित ३८ स्थानमा माओवादी ५ गाउँपालिका, स्वतन्त्र १ गाउँपालिका र राष्ट्यि जनमोर्चाका उम्मेदवार एउटा गाउँपालिकामा विजयी भएका छन् ।

त्यस्तै, प्रदेश नं ३ मा आईपुग्दा एमालेले अहिलेसम्म ४३ स्थानीय तहमा विजय हाँसिल गरेको छ । त्यस्तै, नेपाली काँग्रेसले कूल ३१ र नेकपा माओवादी केन्द्रले जम्मा १५ स्थानमा विजय हाँसिल गरेको छ ।

एमालेको मेयरमा अहिलेसम्म १३ जना गाउँपालिका अध्यक्षमा ३० जना गरी कूल ४३ जना प्रदेश नं ३ बाट विजयी भएका छन् भने कांग्रेसका मेयरमा ६ जना, अध्यक्षमा २५ जना गरी ३ नं प्रदेशमा कूल ३१ जनाले विजय हाँसिल गरेका छन् । त्यस्तै, माओवादी केन्द्रबाट मेयरमा ३ जना, गाउँपालिकाको अध्यक्षमा १२ गरी कूल १५ जनाले विजय हाँसिल गरेका छन् । राप्रपा र नयाँशक्तिले एकएक वटा गाउँपालिकामा आफ्नो प्रतिनिधित्व देखाएको छ ।

यसरी कूल स्थानीय तहको हिसाव गर्दा २५० स्थानीय तहको मत परिणाम आउँदासम्म एमालेले १००, काँग्रेस ९९, माओवादी ४५ स्थानमा विजयी भएका छन् ।

स्रोत : नेपाल पाना

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *