
जेठ,नरेन्द्र साह। रौतहट । पटक-पटक परिवर्तन भएको दोश्रो चरणको निर्वाचनको मिति र गाँउपालिका तथा नगरपालिकाको बदलिदो सँरचनाले रौतहटमा चुनावीमाहोल अझै तातिएको छैन । गाँउपालिकाको सीमाना कहाँ सम्म हुने र नगरपालिकाहरु कति वटा हुने भन्ने बारे उम्मेदवार र मतदाता दुवै अन्यौलमा छन्।केही दिन अघि सरकारले रौतहटमा थप ११ नगरपालिको घोषणा गरेपछि गाँउपालिकाको अध्यक्षमा मनोनयन दिने मनसाय बनाएका उम्मेदवारको क्षेत्र नै हरायो ।
तर सर्वोच्च अदालतले सरकारको सो निर्णय तत्कारलकार्यान्वयनमा रोक लगाए पछि अबको संरचना र गाँउ तथा नगरको सिमाना बारे अझै जनताहरु स्पष्ट भइसकेका छैनन् । १३ गाँउपालिका र ३ नगरपालिका भएको रौतहटमा केही स्थानीय तहहरु अझै थप्नपर्ने माग राजनितिक दलका प्रतिनिधिहरुको छ ।
सरकारले पनि एउटा ठोस निर्णय गरेर राजपासहित सबै दललाई समेटेर दोश्रो चरणको निर्वाचनको माहोल बनाउन जरुरी रहेको जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झाले बताए ।तराई मधेशमा निर्वाचनको मिति घोषणा गर्दासमेत सरकारको परिपक्वता नदेखिएको झा बताउछन् ।
केटाकेटीको कुरा जस्तो मिति घोषणा गर्ने अनी फेरि सार्ने, त्यसैगरी कहिलेगाँउपालिका बनाउने कहिले नगरपालिका बनाउने गरेर सरकारले नै जनतालाई भ्रमित बनाएको अध्यक्ष झाको तर्क छ । रौतहटका जनता निर्वाचनका लागि उत्साहित रहे पनि राजनीतिक दलहरुले जनताको भावना बुझ्न नसकेको उनको आरोप छ ।
‘हामीले जनसंख्याका आधरमा र पायक पर्ने गाविसहरुलाई एक ठाँउमा गाभेर केही स्थानीय तह थप्नुपर्छ भन्छौं ।’ राजपाका नेता अजय गुप्ताले भने, ‘स्थानीय संरचना थप्न भन्दा सबै ठाँउलाई नगरपालिका नै बनाउँ भनेको होइन ।’ नेता गुप्ताले थपे, ‘१६ वटा स्थानीय तह भएको रौतहटमा चारदेखि पाँच वटासम्म गाँउपालिका वा नगरपालिका थप्दा हुन्छ ।’
निर्वाचनको मिति नजिकिँदै जाँदा पनि आन्दोलनमै रहेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता भने पर्ख र हेरको स्थितिमा छन । मधेशी जनताको प्रश्न अझै यथावत नै रहेकोले र सरकारले सँविधान संशोधन लगायतका माग सम्बोधन नगरेकोले आफूहरु आन्दोलनमा जानु परेको नेता अजय गुप्ताको ठम्याई छ ।
यता निर्वाचनको मिति घोषणापछि संघीय समाजवादी फोरम नेपाल भने रौतहटमा आˆनो कार्यक्रम तीव्र बनाइरहेको छ ।
Facebook Comments