Loading...
चुनावमा जाने उपेन्द्र यादवको सोंच दूरगामी- एमाले र राजपाका पूर्वनेताहरु

नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी, राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्यहरु भीमराज यादव र भरत साह, यी तीनै जना केन्द्रीय स्तरका नेताहरुले सातादिन अघि मात्रै आफ्नो पार्टी एमाले र राजपा परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका यी तीनै जना नेताहरुले आफ्नो माउ पार्टी किन परित्याग गरे ? र फोरम नेपालमा प्रवेश गर्नुको कारण के हो ? प्रस्तुत छ, यिनै विषयमा गिरी, यादव र साहसँग गरिएको संक्षिप्त कुराकानी । 

राजपा किन परित्याग गर्नु भयो ?
भीमराज यादव– जुन ६ वटा पार्टी मिलेर राजपा बनेको छ त्यो कुनै नीति र सिद्धान्तको आधारमा मिलेर बनेको होइन । त्यो स्वार्थहरुको झुण्ड हो । नीति, सिद्यान्त र साझा एजेन्डा बिना कहीँ रातारात पार्टीहरु मिल्न सक्छन ? अहिले नै त्यहाँ खिचातानी हुन थालिसकेको छ । मेरो बुझाइमा मधेशको मुद्दालाई यो पार्टीले कुनै पनि बेला सत्तासँग स्वार्थमा छोडी दिने भएकाले बसिराख्नुको औचित्य थिएन, र मैले राजपा परित्याग गरे ।

संविधान संशोधन नहुँदै उपेन्द्र यादव स्थानीय तहको चुनावमा जानु भयो, तैपनि तपाई उहाँ नेतृत्वको पार्टीका किन जानु भयो ? 
हेर्नुस्, पार्टी संचालन र राजनीतिको लागि नीति र सिद्धान्त स्पष्ट हुनु पर्छ । देशमा आफ्नो मुद्दालाई कसरी स्थापित गराउन सकिन्छ, राजनीतिको त्यो गहिराईलाई बुझेको हुनुपर्छ । त्यो मैले उपेन्द्र यादवजी र उहाँको पार्टीमा पाएँ । उहाँले स्पष्ट ढंगले स्थानीय तहको चुनावलाई विकास र संघर्षलाई अधिकार प्राप्तिको लागि जुन नीति लिनुभएको छ । त्यो नै देश र मधेशको हितमा छ । प्रतिकूल परिस्थितिमा मधेशको लागि चुनावको उपयोग नै उत्तम मार्ग हो । उपेन्द्र यादवको यहीँ दूरगामी सोँचले प्रभावित गर्यो ।

राजपा परित्याग गर्नुअघि चुनाव कि आन्दोलन बारे छलफल गर्नु भएको थियो ? 
मैले राजेन्द्र महतोजीसँग कुरा गरेको थिएँ । तर, उहाँ आफै भ्रममा हुनुहन्छ । आन्दोलनमा जाने कि चुनाव भनेर मैले सोध्दा उहाँले प्रष्ट जवाफ नै दिन सक्नु भएन । कार्यकर्ता चुनावको मूडमा छन्, तर राजपाका नेताहरुले पार्टी दर्ता र चुनाव चिन्ह नपाएर तनावमा रहेको वास्तविकता लुकाउँदै आन्दोलनको गर्दैछन् । राजपाको यस्तै दोहोरो चरित्रले गर्दा पार्टी छाड्नु पर्यो ।

तपाईले राजपा छाड्नुको कारण के रहेछ ? 
भरत साह– राजपा गठन हुनुअघि तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा स्थापनाकालदेखि नै केन्द्रीय सदस्यको हैसियतले सक्रिय थिए । सप्तरीमा मैले नै ५ जनाबाट यो पार्टी निर्माण गरेको हुँ । तर, पार्टी बिस्तारसँगै नीति र सिद्धान्त भन्दापनि व्यक्तिको स्वार्थमा यो पार्टीको काम कारबाहीहरु हुन थाले । अहिलेको राजपालाई राजावादीहरुले घेरेर राखेका छन् । भन्नु पर्दा यो पनि कमल थापा कै भाइ पार्टी जस्तो भएको छ ।
पार्टी अध्यक्षले गैरराजनीतिक चरित्रका व्यक्ति निर्जला राउतलाई विगतको चुनावमा सांसद बनाए । पार्टीमा केशव झा जस्ता दलाल प्रविधिका व्यक्तिहरुको हालीमुहाली छ । यिनीहरुले पार्टीलाई कब्जा गरेर राखेका छन् । गलत प्रवृत्तिका व्यक्तिहरुका अगाडि अध्यक्ष पनि निरीह जस्तो बनेका छन् ।

संघीय समाजवादी फोरम नेपालमा के राम्रो एजेन्डा देखेर प्रवेश गर्नुभयो ? 
उपेन्द्र यादवजीले पहिलो मधेश आन्दोलनदेखि नै मधेशको वास्तविक मुद्दाप्रति प्रतिबद्ध हुुनुहुन्छ । मधेशी जनता र मधेशको समस्यालाई नजिकबाट बुझ्नु भएका उहाँले निरन्तर रुपले मधेशको मागलाई अगाडि बढाइरहनु भएको छ । उहाँले कहिले पनि मधेशको मुद्दा छोड्नु भएको छैन, छाड्नु पनि हुन्न । पछिल्लो समय संविधान संशोधनका लागि संसदमा दुई तिहाई बहुमत पुग्नै लागेको थियो । तर, राजावादीहरुको षड्यन्त्रले सांसद संख्या पुगेन, र संशोधन बीचैमा रोकियो । त्यो घटनापछि उपेन्द्र यादवजीले प्राप्त उपलब्धि नै खतरामा जान लागेकोले यसलाई संस्थागत गर्दै थप बाकी माग सम्बोधनका लागि संघर्षमा जाने जुन कदम उठाउनु भयो, उहाँको यस्तो दूरगामी सोँच देखेर म अत्यन्तै प्रभावित भएँ । स्थानीय चुनावको माध्यमबाट देशमा विकास ल्याउने हो । अहिलेको चुनाव बहिस्कार गर्ने हो भने मधेश झन् पछाडि पर्छ । चुनाव आन्दोलनको बाधक होइन । जनताबाट आफुलाई अनुमोदन गराई पुनः आन्दोलनमा जाने  कार्यदिशा भएकोले नै संघीय समाजवादी फोरम नेपाल मेरो पहिलो रोजाईमा पर्यो ।

स्थानीय चुनावकै बेलामा तपाईले एमाले किन परित्याग गर्नु भयो ? 
प्रहलाद गिरी– एमालेलाई मैले नजिकबाट चिनेको, देखेको र बुझेको छु । एमाले बाहिरबाट जस्तो देखिन्छ, भित्र त्यस्तो केही पनि छैन । समाजमा घृणा फैलाएर शान्ति, सदभाव र राष्ट्रवादको बीऊ रोपिँदैन । जातीय घृणामा आधारित केपी ओलीको यस्तो राष्ट्रवादप्रति मलाई घृणा जागेर नै एमाले छाड्नु पर्यो । राष्ट्रिय एकताको कुरा गर्दा दुई कित्तामा बाडेर हेर्ने एमाले नीतिप्रति मेरो कडा आपत्ति छ । मधेशी जनतालाई बिहारीको रुपमा देख्ने, मधेशको हरेक जायज सवाललाई भारतीय एजेन्डाको आरोप लगाउनु नै एमाले गम्भीर अपराध हो ।

एमालेका केही स्वघोषित विद्धानहरुले जसरी तराईलाई फिजी र मोरीसेल्ससँग जोडेर हेर्ने गर्दछन्, देशको लागि यो सोँच अत्यन्तै घातक छ । जुनबेला नेपालको इतिहास थिएन, त्यो समयमा विराट, मिथिला, सिम्रौनगढ, मिथिला र अवध जस्ता तराईको भू–भागमा हामी र हाम्रा सन्ततिको यहाँ बसोबास थियो । एमालेले उनीहरुकै अपमान गर्दैछ । यस्तो गर्नुको मुख्य कारण के हो भने एमालेमा नश्लिय सोँच र प्रवृत्तिका व्यक्तिहरुको हालीमुहाली बढ्दो छ । नेकपा एमलोले कहिल्यै पनि देशलाई एकसूत्रमा जोड्न सक्दैन, किनकि एमाले राष्ट्रिय विखण्डनको पक्षपाती पार्टी हो ।

एमाले छाडेर उपेन्द्र यादवसँग जोडिनुको कारण के हुन् ? 
हेर्नुस्, चुनाव भनेको प्रजातान्त्रिक प्रक्रिया हो । यसले स्थानीय विकासलाई अगाडि बढाउँछ । स्थानीय चुनाव र चुनावसँगको विकास मधेशमा आवश्यकता हो । अब विकासलाई रोक्ने चेष्टा कसैले गर्न हुँदैन । रोक्न सम्भव पनि छैन । चुनावमा भाग लिँदैमा मुद्दा छोड्यो भन्नु बेवकूफी हो । उपेन्द्र यादवमाथि मधेशको मुद्दा छाडेको आरोप लगाउनेहरु पूर्वाग्रही सोँचले ग्रस्त छन् । चुनाव अस्थायी कुरा हो ।  दुई तिहाईको अभावमा तत्काल संविधान संशोधन हुने अवस्था छैन । यसैलाई निँहु बनाएर स्थानीय चुनाव बहिष्कार गर्नु पनि बुद्धिमानी होइन । जतिबेला चाह्यो आन्दोलन घोषणा गर्दैमा केही हुँदैन । शिकार गर्न कहिलेकाही दुई कदम पछाडि पनि हट्न सक्नु पर्छ । चुनावलाई पनि संघर्षको कार्यदिशा बनाउनु नै आजको आवश्यकता हो । उपेन्द्र यादवमा मैले त्यो राजनीतिक सूझबूझ देँखे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *