
काठमाडौं, २० जेठ । सरकार परिवर्तनको रस्साकस्सीको बेला संघीय समाजवादी फोरमको संसदीय दलका नेता अशोक कुमार राईले सरकारमा जानका लागि आफूहरू लालायित नभएको बताएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाजी के प्रयोजनका लागि सरकार बनाउँदै छन् त्यो समेत स्पष्ट हुन नसकेको नेता राईले प्रतिक्रिया दिए ।
मधसी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग गत साउनमा ३ बुँदे सहमति गर्दा देउवा एक हस्ताक्षरकर्ता रहेको स्मरण गराउँदै पार्टीका वरिष्ठ नेता समेत रहेका राईले शनिबार भने, ‘३ बुँदेलाई क्रियान्वयनमा लैजान विश्वास दिलाउनु भयो भने कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्रीका लागि मत दिन सकिन्छ ।’ प्रधानमन्त्री उम्मेदवारको पक्ष वा विपक्षमा कुनमा मत हाल्ने भन्ने आधिकारिक निर्णय गर्नका लागि संघीय समाजवादी फोरमको संसदीय दलको बैठक २१ गते आइतबार १० बजे बस्दै छ ।
सभापति देउवाले शनिबार साँझसम्म मत पनि नमागेको र सरकार गठन सम्बन्धमा छलफल पनि नभएको राईले प्रतिक्रिया दिए, ‘देउवाजी कांग्रेस सभापतिको हैसियतले ३ बुँदेमा एक हस्ताक्षरकर्ता रहनुभएको आधारमा संविधान संशोधनका लागि प्रयत्न गर्ने विश्वास दिलाउन सक्नुभएमा मत दिन पनि सकिन्छ । तर त्यसको सुनिश्चितता हुनुपर्यो ।’ ‘सरकार कस्को नेतृत्वमा र के प्रयोजनका लागि बन्छ भन्ने कुरा यतिबेला संघीय समाजवादी फोरमको प्राथमिकताको विषय होइन,’ पार्टीका वरिष्ठ नेता राईले भने, ‘हाम्रो पार्टी पहिचान र अधिकारका लागि संविधानप्रति असन्तुष्टि राखेर लामो समय आन्दोलन गरेको हो । आन्दोलन सधैंका लागि बिसर्जनै गरिएको पनि अवस्था होइन तर अहिलेको परिस्थितीमा आन्दोलनकै रुपमा चुनावमा सहभागी मात्रै भएका छौं ।’
सरकारमा सहभागी हुने र नहुने कुरा महत्वको विषय नभएको जोड दिँदै नेता राईले थप भने, ‘सदिऔँदेखि विभेद खेपिरहेका उत्पीडित र उपेक्षित आदिवासी जनजाति, मेधसी, शिल्पी (दलित), मुस्लिम, महिलालगायत जनताको पहिचान, अधिकार र प्रतिनिधित्वको सम्बोधन प्रमुख कुरा हो ।’ व्यवस्थापिका–संसदको नियमावलीअनुसार प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मत हाल्नैपर्ने प्रावधान रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्ताव र रामचन्द्र पौडेल र विजयकुमार गच्छदारलगायत नेताहरूको समर्थकमा कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीका लागि शनिबार एक्लो मनोनयन दर्ता गरेका छन् । उनको पक्षमा स्पष्ट बहुमत देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री र चौंथो पटक कार्यकारी प्रमुख प्रधानमन्त्री हुने निश्चित देखिएको छ ।

Facebook Comments