
काठमाडौं, २० जेठ । संघीय प्रेस फोरमले प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानी बराललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । संघीय प्रेस फोरमका अध्यक्ष गोबिन्द छन्त्याल, महासचिव सरोज “खिलाडी” सचिव विजय चाम्लिङ, सदस्य देबेन्द्र खापुङ लगायतको टोलीले शनिबार सञ्चारग्राम तिलगंगास्थित बरालको कार्यकक्षमै पुगेर उनलाई बधाइ तथा शुभकामना दिएका थिए । बरालसँग भेट भएको अवसरमा संघीय प्रेस फोरमका पदाधिकारीहरूले पछिल्लो समय प्रेस काउन्सिलले विभिन्न मिडियाहरूलाई समाचारको विषयलाई लिएर पत्र पठाएको विषयलाई गम्भीर बनिदिन आग्रह गरेका थिए ।
केही दिनअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बोलेका कुरालाई एक पत्रिकाले ‘बुलेटको जवाफ व्यालेटले दिन्छौ र व्यालेटबाटै सत्ता कब्जा गर्छौ’ शीर्षकमा समाचार छापेपछि काउन्सिलले सो पत्रिकालाई आचारसंहिता उल्लंघन भएको भन्दै पत्र पठाएको थियो । सो अवसरमा अध्यक्ष छन्त्यालले सस्तो लोकप्रियता कमाउने नाममा काउन्सिलले जथाभावी ढंगले मिडियाहरूलाई पत्र काट्दै जाँदा काउन्सिलको विश्वसनीयता गुम्न सक्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।
काउन्सिलका अध्यक्ष बरालले आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलितलगायत समुदायप्रति राज्यको व्यवहार र दृष्टिकोणमा सुधार गर्नका लागि आफूले सबैलाई विश्वासमा लिएर काम गर्न खोजेको बताएका थिए । प्रेस काउन्सिलले सुरक्षित प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने भएकोले सबै पत्रकारहरूको पक्षमा काम गर्न काउन्सिल प्रतिबद्ध रहको र सोही अनुसार कार्य योजनाहरू बनिरहेको समेत बरालले बताए ।
Facebook Comments