Loading...
राजपाको आफ्नै निर्णय बाधक साबित हुदै, राजपा झन् संकटमा फस्दै, नेता कार्यकर्ता धमाधम पार्टी छाड्दै

काठमाडौं २१, जेष्ठ । पार्टी गठन भएको डेढ महिना नपुग्दै राजपा नेपालका केन्द्रीय नेताहरूले पार्टी छाड्न थालेका छन् । पार्टी नेतृत्व निर्वाचन जाने या नजानेबारे अलमलमा देखिएपछि चुनाव पक्षधर नेताहरू अन्य पार्टीमा जान थालेका हुन् । राजपाका सहमहामन्त्री समिम अन्सारी एमालेमा, केन्द्रीय सदस्यहरू भीमराज यादव फोरम नेपालमा, लक्ष्मी महतो राप्रपामा, रामनारायण मेहता फोरम नेपालमा, हरि गोले  लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् ।

राजपा छाडेका अधिकांश नेताहरू उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपालमा प्रवेश गरेका छन् । केही नेताहरू भने फोरम लोकतान्त्रिकमा आबद्ध भएका छन् । पार्टी छाडेका केही नेता राप्रपामा प्रवेश गरेका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केही दिनयता विभिन्न जिल्लामा पार्टी प्रवेश कार्यक्रममा व्यस्त छन् । राजपाले संविधान संशोधन र मधेसमा स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने अडान राख्दै आएको छ । फोरम नेपाल र फोरम लोकतान्त्रिकले भने चुनावको तयारी तीव्र पारेका छन् ।

राजपा छाड्नेमध्ये अधिकांशले चुनावमा उम्मेदवारी हुने आकांक्षा देखाएका छन् । राजपाका सहमहामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरेका छन् । बाराका अन्सारीले आफूसहित एक सय राजपाका कार्यकर्तालाई एमालेमा प्रवेश गराएको दाबी गरेका छन् ।
यसैगरी राजपाका केन्द्रीय सदस्य भीमराज यादव फोरम नेपालमा प्रवेश गरेका छन्। उनले सप्तरीको राजविराजबाट मेयरमा चुनाव लड्ने आकांक्षा राखेका छन् । उनी सद्भावना पार्टीबाट राजपामा गएका थिए । उनलाई फोरम नेपालमा ल्याउने कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका थिए ।

यसैगरी महोत्तरीका राजपाका अर्का केन्द्रीय सदस्य लक्ष्मी महतो राप्रपामा प्रवेश गरेका छन् । राजपाका अर्का केन्द्रीय सदस्य रामनारायण मेहता फोरम नेपालमा प्रवेश गरेका छन् । राजपाका केन्द्रीय सदस्य हरि गोले  लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । सर्लाहीका गोले राष्ट्रिय मधेस समाजवादी पार्टीबाट राजपामा गएका थिए । उनी पनि स्थानीय चुनावमा उम्मेदवारी हुने आकांक्षा राखेको स्रोतको भनाइ छ । राजपा गठन भएपछि राजपाका सांसद कमलेश्वर पुरी गोश्वामीले  सांसद मात्र रहने गरी राजपाका सबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

रूपन्देही ५ बाट प्रत्यक्ष चुनाव जितेका गोश्वामी राजपा गठन भएपछि राजपासँग असन्तुष्ट रहेको स्रोतको भनाइ छ । यसैगरी, नेपालगन्जका राजपाका नेता नन्दकिशोर बर्मा कुर्मी फोरम नेपालमा प्रवेश गरेका छन् । कुर्मीलाई फोरम नेपालमा प्रवेश गराउन फोरम नेपालका अध्यक्ष यादव आफंै नेपालगन्ज पुगेका थिए । राजपा गठन भएको दुई दिनअगाडि तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्य महाजन यादव फोरम नेपालमा प्रवेश गरेका थिए । यसैगरी राजपा गठन हुनु भन्दा एक हप्ताअगाडि सद्भावना पार्टीका तत्कालीन केन्दीय सदस्य योगन्द्र यादव पनि फोरम नेपालमा प्रवेश गरेका थिए।

फोरम नेपालमा प्रवेश गरेका यादवले तत्कालीन सद्भावना पार्टी नेतृत्वले गलत नीति लिएका कारण आफू त्यहाँ बस्न नसकेको बताए । ‘पार्टीले लिएको नीति मलाई मन परेन। त्यहाँ कुरा एउटा गर्ने, काम अर्को गर्ने नीति देखियो,’ यादवले भनेको आजको नागरिक दैनिकमा समाचार छ । यसैगरी, फोरम नेपालमा प्रवेश गरेका महाजन यादवले पार्टीले गलत नीति लिएको कारण आफू फोरम नेपालमा प्रवेश गरेको बताए । राजपाका केन्द्रीय सदस्य सिकु तिवारी र धीरेन्द्र यादव पनि फोरम नेपालमा प्रवेश गरका छन् । तत्कालीन सद्भावना पार्टीका महासचिव राजकुमार गुप्ता राजपा गठन हुनुभन्दा केही दिनअघि सद्भावना छाडेर फोरम नेपालमा प्रवेश गरेका थिए ।

तत्कालीन तमलोपा, सद्भावना पार्टी, तराईमधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना  पार्टीबीच एकीकृत भई गत वैशाख ७ गते राजपा नेपाल गठन गरिएको थियो। पार्टीका शीर्ष नेताहरूले भने पार्टी एकीकृत भएपछि कार्यकर्तामा उत्साह थपिएको दाबी गर्छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *