Loading...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं, जेष्ठ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । सभामुख ओनसरी घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेकी हुन् । यस भन्दा देउवा तीन पटक प्रधनमन्त्री बनिसकेका छन् । निवर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक तथा कांग्रेस नेता रामचन्द्र पौडेलको समर्थनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

देउवाको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतका दलका सांसदले देउवाको पक्षमा मतदान गरेका थिए । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् ।

२४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गरेको छ । प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । कांग्रेस सभापति देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन देखिएको छ ।

तीन सांसद भएको नेकपा संयुक्त, एक/एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *