
काठमाडौं, जेठ २५ – प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।
मन्त्रिमण्डलमा शेरबहादुर देउवा प्रधानमन्त्रीसहित हाललाई २३ मन्त्रालय, विजय कुमार गच्छदार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री, कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षा, ज्ञानेन्द्र बहादुर कार्की अर्थ मन्त्री, जनार्दन शर्मा गृह मन्त्री , फरमुल्ला मन्सुर श्रम तथा रोजगार मन्त्री , प्रभू शाह विना विभागिय मन्त्री भएका छन् ।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु, निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो । सपथ लगतै पदभार ग्रहण पश्चात नबनिर्बाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता जनाएका छन । साथै स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्व घोषित मिति असार १४ मा नै हुने समेत बताएका छन ।
हिजै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नयाँ सरकारको प्राथमिकता तोकेको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन सरकारको प्राथमिकतामा परेको छ । साथै दोस्रो चरणको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्ने, माघ ७ भित्र तीनवटै चुनाव सम्पन्न गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाइनेछ । यस्तै आर्थिक सम्बृद्धिलाई महत्व दिने र शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने सरकारका प्राथमिकता छन् ।
Facebook Comments