
काठमाडौं २३, जेष्ठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीको डेढ घन्टा लामो भाषणलाई एउटै शब्दले ध्वस्त पारिदिएका छन् । व्यवस्थापिका संसदमा मंगलबार ओलीले मधेस र मधेसी जनता बारे देखाएको सहानुभूतिलाई अध्यक्ष यादवले ‘गोहीको आँसु’ भनेर कडा टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा मत दिएर बाहिरिएका उपेन्द्र यादवले ओलीको लामो भाषणबारे छोटो तर कडा टिप्पणी गरेका हुन् । ‘उहाँको नक्कली कुरामा मधेसी जनतालाई विश्वास छैन’, फोरम नेपालका अध्यक्ष यादवले भने, ‘मधेसले कुनै पदक, विभुषण र मानपदवी मागेको होइन,अधिकार मागेको हो । पदक जति तपाईहरुले नै बाँडेर लिनुहोला ।’ मधेशी समुदायलाई लगातार अपमान गर्ने गरेको एमालेका अध्यक्ष ओलीले मधेशमा जनमत गुमाइसकेकोले मधेशप्रति झूठो सहानुभूति देखाएको भन्दै यादवले ओलीको सहानुभूतिलाई नक्कली भएको टिप्पणी गरेका छन् । यादवले ओली र एमालेले जतिसुकै ढाकछोप गर्न खोजे पनि मधेस विरोधी चेहरा उदाङ्गो भएको कटाक्ष गरे ।
Facebook Comments