Loading...
च्यातिएको र चुडिएको छाता भएपनि गाउ गाउबाट जनता चुनाबमा भाग लिन्छन, अशिना पानिले पनि मधेशी जनतालाइ रोक्न सक्दैन – उपेन्द्र यादव

काठमाडौं, २५ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनका लागि देशव्यापी रुपमा उत्साह छाएकोले जुनसुकै पार्टीले बहिष्कार गरेपनि चुनाव अब नरोकिने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले भने, ‘अब चुनाव हुन्छ, हुन्छ, कुनै पार्टीले चुनावमा जान्न भन्दा पनि अब चुनाव रोकिँदैन्, उपेन्द्र यादवको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, किनकी जनताले चुनाव चाहेका छन् ।’ यादवले आफू नेतृत्वको पार्टीले देशव्यापी रुपमा चुनावी तयारी गरिसकेको समेत जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेद्धवारी दिन्छ, यसमा कुनै शंका छैन् ।’

उनले जनताबाट आफ्नो पार्टीको पक्षमा देशव्यापी रुपमा उत्साह र समर्थन आइरहेको समेत जिकिर गरे । उनले यतिबेला आफ्नो पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको ठूलो लर्को नै लागेको उल्लेख गर्दै भने, ‘हेर्दै जानुहोला, ऋषि धमलाजी पनि हाम्रो पार्टीबाट सांसद बन्नु हुन्छ ।’ अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिए । उनले भने, ‘हामी चुनावी तालमेलको लागि सबैसँग खुल्ला छौं, राजपा नेपाललाई पनि तालमेलको लागि अपिल गरिरहेका छौं, हामी सँगै मिलेर चुनाव लड्नको लागि तयार छौं ।’ यादवले आफ्नो पार्टीले संघीयता, गणतन्त्र र परिवर्तन पक्षधरसँग चुनावी तालमेल गर्ने जानकारी दिए ।

प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा लर्को लागेर मतदान गर्न आउने मधेशी नेताहरु स्थानीय तहको निर्वाचनमा उठेका मधेशी नेताहरुलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत तेर्साए ।  उनले  भने, ‘प्रधानमन्त्रीको उम्मेद्धवार गैर–मधेशी हुँदा पनि उहाँहरुले भोट त हाल्नु भयो नि, अब तराईमा हुने चुनावमा मधेशी नै उम्मेद्धवार उठ्ने हुन ।’ उनले अरु पार्टीले भन्दा आफ्नो पार्टीले चुनावमा धेरै राम्रो परिणाम ल्याउने समेत दाबी गरे । यादवले भने, ‘म दाबाका साथ भन्छु हाम्रो पार्टीले अरु पार्टीभन्दा धेरै राम्रो परिणाम ल्याउँछ ।’

दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित भए जनतामा अति नै उत्साह छाउने उनको विश्वास थियो । उनले भने, ‘चुनाव अघि नै संशोधन प्रस्ताव पारित भए जनता रेनकोट ओढेर भएपनि मतदान गर्न आउँछन्, जनताले यति बेला निर्वाचन र समृद्धि खोजेका छन् ।’उनले जनताले खोजेको कुरा राज्यले समयमै पूरा गरिदिनु पर्ने बताए ।  आफ्नो पार्टीलाई अझैपनि संशोधन प्रस्तावपारित नभए निर्वाचनमा जानु हुन्छ कि हुँदैन भनेर प्रश्न गरिने गरेको बताउँदै भने, ‘हामी त निर्वाचनमा सहभागी भैसक्यौ नि, अबपनि यसबारेमा प्रश्न गर्ने हो र ? ।’ उनले आफ्नो पार्टीको विरुद्धमा चारैतिरबाट युद्ध छेडिएको समेत गुनासो पोखे । यादवले भने, ‘चुनावमा नजाँदा किन गएन भनेर प्रश्न गर्छन, अनि चुनावमा भाग लियो भने किन गयो भनेर प्रचारवाजी र विरोध हुन्छ, यस्तो किन भैरहेको छ मैले बुझ्न सकेको छैन् ।’

अध्यक्ष यादवले अहिले नै सरकारमाजानेबारे आफूहरुले नसोचेको समेत जानकारी दिए । उनले भने,‘हामीलाई अहिले सरकारमाजानकुनै हतारो छैन, यसबारेमाहामीले केही सोचेका छैनौं।’ यादवले आफ्नो पार्टीको पूर्ण ध्यान नै यतिबेला संविधान संशोधनमार्फत सबैको स्विकार्यता बढाउने र आफ्ना मुद्दा स्थापित गराउने रहेको बताए । उनले सरकारमा आफूहरु सहभागी भए वा नभए केही फरक नपर्ने बताउँदै मुलतः मुलुकका सामू रहेका तीन चूनौतिहरुको समाधान गर्न तर्फ सरकारले खासगरी नयाँ प्रधानमन्त्रीले ध्यान दिनु पर्नेमा जोड दिए । उनका अनुसार विगतमा विभिन्न आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र बलिदानबाट प्राप्त भएका सबै उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने मुख्य चूनौति रहेको छ ।

यादवले भने, ‘हामीले विभिन्न संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु आज एक एकगरि धरापमा पर्दैछन्, अब यी सबै उपलब्धिहरुको रक्षा गर्नु पर्छ ।’ त्यस्तै, उनले तीन वटै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने र संविधान संशोधन मार्फत् सबैको स्विकार्यता बढाउनु पनि ठूलो चूनौति अहिले रहेको बताए ।  सरकारले सुरुमै संविधान संशोधन र गाउँपालिका तथा नगरपालिका लगायतका स्थानीय तहको संख्या बढाईदिएको भए समयमै समस्या हल हुने थियो भन्दै अब पनि संविधान संशोधन मार्फत् सबैको स्विकार्यता बढाउन ढिलाई गर्न नहुने यादवको भनाई थियो । त्यस्तै, यादवले तत्काल सरकारले मुद्दा फिर्ता र बन्दी रिहाई गर्न समेत माँग गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *