Loading...
उपेन्द्र यादव मधेशको कटप्पा, ‘जबरजस्ती स्थानीय तहको चुनाव गराउन खोजिए मतपत्र च्यातिनेछ, बाकस फोडिनेछ”- राजकिशोर यादव

मधेशी जनताले आफ्नो हक अधिकारप्राप्तिकालागि आन्दोलन गर्दा पनि संविधान संशोधन नगरिन चुनावमा जानु भएको वर्तमान अधिकारविहिन मधेश विरोधी संविधानलाई स्वीकार गर्नु जस्तै भएको नेता महतोले बताए । ‘मधेशी जनतालाई मेयर र मुखिया बन्न हतारो छैन’ उनले भने ‘हामी चुनाव विरोधी होइनौं तर मधेशी जनताको माग संवोधन बिना कुनै पनि चुनावमा जाँदैनौं र चुनाव हुन पनि दिँदैनौं । जबरजस्ती मधेशमा बन्दुकको बलमा चुनाव गराउन खोजिए त्यसको जवाफ दिन जनता तयार रहेको उनले बताए ।राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवले संघीय समाजवादी फोरम नेपाललाई मधेशको एजेण्डालाई आत्मसात गर्न आग्रह गरे ।

अध्यक्ष यादवले हिन्दी फिल्म बाहुवलीको चर्चा गर्दै मधेशमा कटप्पा पात्रको भूमिकामा संघीय समाजवादी फोरमका अध्यक्ष प्रस्तुत भएकोले त्यसको सजाय जनताले दिने उनले टिप्पणी गरे । मधेशमा चुनावको माहौल बनिसकेको भन्दै केही अनलाइन मिडियाहरुले परिचालित भएर जनतामा भ्रम छर्ने काम गरिरहेकोले त्यसबाट सचेत रहन आग्रह गरे । राजपा विना देशमा कुनै पनि चुनाव नहुने भन्दै जबरजस्ती चुनाव गराउन खोजे त्यसको परिणाम भयावह हुने चेतावनी समेत नेता यादवले दिए ।

राजपाका महासचिव मनिषकुमार सुमनले मधेशका केही नेता बिक्री भए पनि मधेशी जनता संविधान संशोधन गरी हक अधिकार सुनिश्चित नगरेसम्म आन्दोलनबाट पछि नहट्ने चेतावनी दिए । व्यवस्थापिका संसदबाट संविधान संशोधन नभएसम्म चुनावको परिकल्पना नगर्न सरकारलाई चेतावनी दिँदै उनले भने ‘जबरजस्ती स्थानीय तहको चुनाव गराउन खोजिए मतपत्र च्यातिनेछ, बाकस फोडिनेछ ।’ कार्यक्रममा राजपाका वरिष्ठ उपाध्यक्षहरु मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर साह, शेखर कुमार सिंह, केन्द्रीय सह–महासचिव जयप्रकाश ठाकुर, नेताहरु पुष्पा ठाकुर, नेत्रविक्रम साहलगायतले सम्वोधन गरे । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरु राजपामा प्रवेश गरेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन हरेराम यादवले गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *