
सर्लाही २७, जेष्ठ । संघीय समाजवादी फोरम नेपालमा सर्लाहीका प्रभावशाली नेता एवं कार्यकर्ताहरुको प्रभावशाली समूह प्रवेश गर्दैछ । मधेशको विकास र सम्बृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहको निर्वाचन हुनु पर्ने पक्षमा रहेका हजारौं कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेर पार्टी प्रवेश गराउँदैछन् ।
संघीय समाजवादी फोरम नेपाल सर्लाहीले जिल्लाको क्षेत्र नं. ५ मधुवनमा आइतबार दिउँसो आयोजना गर्ने पार्टी प्रवेश एवं विशाल सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजपा परित्याग गरि हजारौंको संख्यामा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको फोरम नेपालका सर्लाही अध्यक्ष अशोक यादवले जानकारी दिए ।
राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र र महेन्द्र राय यादवको सर्लाही गृह जिल्लामा यसरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गर्न लागेका हुन् । फोरम नेपालले पार्टी प्रवेशको लागि आयोजना गरेको क्षेत्र नं ५ को मधुवन राजपाका महामन्त्री एवं सांसद् जंगीलाल राय यादवको निर्वाचन क्षेत्र हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश एवं चुनावी सभाको लागि आइतबार बिहान सर्लाही प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तहको चुनावलाई संघर्षको मुख्य कार्यदिशा बनाएर चुनावमा होमिएको फोरम नेपालमा पार्टी प्रवेश गर्नेको लहर पछिल्लो समय व्यापक हुँदै गइरहेको छ ।
Facebook Comments