
सर्लाही २९, जेष्ठ । संघीय समाजवादी फोरम नेपालमा जिल्लामा दख्खल राख्ने प्रभावशाली समूह प्रवेश गरेको छ । दुई दिनदेखि सर्लाहीमा सक्रिय रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेता कार्यकर्ताहरुलाई स्वागत गरेर पार्टीमा भित्र्याएका छन् । सोमबार सर्लाहीको हरिवनमा आयोजित पार्टी प्रवेश एवं चुनावी सभामा अध्यक्ष यादवले सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि आएका नेता कार्यकर्तालाई टिका लगाएर स्वगत गरेका छन् ।
राजपाका प्रमुख तीन जना नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गढ मानिएको सर्लाहीमा फोरम नेपालमा प्रवेश गर्नेको लहर व्यापक हुँदैछ । केही ठाउँमा राजपा कार्यकर्ताले असफल अवरोध गरेपनि फोरम नेपालको पार्टी प्रवेश तथा चुनावी सभाहरु निर्वाध भइरहेका छन् । सोमबार मात्रै हरिवनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) परित्याग गरी सयौंको संख्यामा स्थानीय नेताहरु फोरम नेपालमा आबद्ध भएका छन् ।
बुलेटको जवाफ ब्यालेटले दिन मधेश तयार छ– उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुलेटको जवाफ ब्यालेटले दिन मधेश तयार रहेको भन्दै सरकारलाई कडा चेतावनी दिएका छन् । अधिकार प्राप्तिको आन्दोलन गर्दा सरकारले चरम दमन गरेकोले त्यसको जवाफ ब्यालेटले दिन मधेश तयार भएर बसेको यादवले प्रष्ट पारेका हुन् ।
सोमबार सर्लाहीकोक मलंगवामा संघीय समाजवादी फोरम नेपाल जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले लोकतन्त्रमा चुनावलाई सदुपयोग गरेर अघि बढ्न राजपा लगायतका दलहरुलाई आग्रह गरेका छन् । स्थानीय चुनावलाई संघर्षकै कार्यदिशा बनाएर दोस्रो चरणको चुनावमा होमिएका अध्यक्ष यादवले स्थानीय चुनावले विकास र सम्बृद्धिको ढोका खोल्ने बताए । स्थानीय चुनाव विकास र सम्बृद्धिसँग जोडिएको हुनाले चुनावलाई उपयोग गर्न उनले सुझाव दिए ।
चुनाव बिथोल्ने घोषणा गरेर आन्दोलनमा गएको राजपालाई अध्यक्ष यादवले मधेशी जनतालाई मताधिकारबाट बञ्चित गर्ने अभियानमा नलाग्न आग्रह गरेका छन् । मधेश मुद्दाको एजेन्डाभन्दा बाहिर गएर जनतालाई दिग्भ्रमित पार्न छोडी आफू नै एजेन्डाप्रति प्रष्ट हुन राजपालाई उनले सुझाव दिए । स्थानीय चुनावलाई संघर्षको कार्यदिशा बनाउनु पर्नेमा मधेशलाई विकासबाट बञ्चित गर्ने रणनिति सार्वजनिक गर्नु लोकतान्त्रिक गणतन्त्रको उपलब्धि गुमाउनु मात्र भएको टिप्पणी गरे । पटक–पटक चुनाव सार्दै गए मुलुकमा प्रतिगमनकारी हावी हुने खतराप्रति यादवले सचेत गराएका छन् ।
राजपाले मधेसी नागरिकलाई स्वतन्त्रपूर्वक आफ्ना प्रतिनिधि छान्न पाउने अधिकारबाट बञ्चित गर्न खोजेको भन्दै यादवले स्थानीय तहको चुनाव बिथोल्न खोजेर दोहोरो चरित्र नदेखाउन उसलाई आग्रह समेत गरे । यद्यपि, सबैलाई समेटेर चुनावी वातावरण बनाउन यादवले सरकारलाई आग्रह गरेका छन् ।
Facebook Comments