
राजविराज, ०१, अषाढ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले निर्वाचन स्थल घेराउ गरी ५५ जना अधिकृतहरुलाई बुधवार नियन्त्रणमा लिएका छन् ।
राजविराज स्थित महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसमा राखिएको तालिम केन्द्रमा प्रवेश गर्ने क्रममा मतदान अधिकृत तथा सहायक अधिकृतहरुलाई उनीहरुले नियन्त्रणमा लिएका हुन् । कपलेश्वर यादव, तेजुलाल चौधरी, रविन्द्र साह, अरुण कुमार दास, वैद्यनाथ साह, नरेन्द्र कुमार मण्डल, मो. समिम अहमद, जोगेन्द्र रामसहित हालसम्म ५५ जना नियन्त्रणमा रहेका छन् ।
उनीहरुलाई राजपाका नेताहरुले आन्दोलनको औचित्यबारे गेटमै घेराभित्र प्रशिक्षण दिईरहेका छन् ।राजपाका नेता तथा कार्यकर्ताहरुले तालिम स्थल अगाडि घेराउ गरेका कारण सहभागीहरु भित्र प्रवेश गर्न पाएका छैनन् । कार्यक्रममा सहभागी हुन आएकाहरुलाई गेटमै बसाउन लगाएर नियन्त्रणमा लिएको राजपाका केन्द्रीय महासचिव मुनिष कुमार सुमनले जानकारी दिएका छन् ।
तालिम स्थलमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भने उता राजपाले मतदान अधिकृत तथा सहायक अधिकृतलाई तालिममा सहभागी हुन दिएको छैन । असहज अवस्थाका कारण केही मतदान अधिकृत तथा सहायक अधिकृतहरु तालिममा सहभागी नभईकनै फर्केका छन् ।
Facebook Comments