
काठमाडौं १, असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज दुई गते गर्ने सरकारको निर्णयप्रति तीब्र असन्तुष्टि जाहेर गरेका छन् । मधेशलाई घेराबन्दीमा पार्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मिलेर षड्यन्त्र बनाएकोर राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको यादवले टिप्पणी गरेका छन् ।
गृहनगर विराटनगर आफ्नै निवासमा बिहिबार संचारकर्मीसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने,– ‘कांग्रेस र माओवादीले पहिलेदेखि नै चाहन्थे कि दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस् । अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि दुई नं. लाई घेराबन्दी गर्न सजिलो हुने योजनाले उनीहरुले यस्तो गरेका हुन् ।’तीन चरणमा चुनाव गर्ने सरकारी निर्णय मधेशको लागिघातक भएको भन्दै अध्यक्ष यादवले आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिङ्गो मधेशको अस्तित्व माथि ठाडो प्रहार भएको टिप्पणी गरेका छन् ।
‘मेचीदेखि महाकालीसम्म बीस जिल्लाको तराई मधेशलाई आठ जिल्ला सीमित पार्ने षड्यन्त्र भएको छ । आठ जिल्लाको भूभाग मात्रै मधेश हो भनेर मान्यता उनीहरुले स्थापित गर्न खोजिएको छ ।’– यादवले भने ।तीन चरणको चुनाव मधेशको लागि घातक भएको भन्दै अध्यक्ष यादवले राजपाको दिशाहीनता र अपरिपक्व रवैयाले गर्दा कांग्रेस माओवादीको योजना सफल भएको टिप्पणी गरे ।
उनले भने,– ‘तीन चरणको चुनावले मधेशलाई नै घाटा हुन्छ । चुनाव जति लम्बिँदै गयो रटुक्राटुक्रामा हुने चुनावले मधेशलाई नै क्षति पुग्छ ।’दिशा र गन्तव्य बिर्सेर अनिर्णीयको बन्दी बनेको टिप्पणी गर्दै अध्यक्ष यादवले राजपाले आन्दोलनकोनाममा मधेशमा अराजकता मच्चाउने कार्य गरेकोले आठ जिल्लालाई छुट्टयाएर तीन चरणमा चुनाव गर्ने कांग्रेस माओवादीको योजना सफल भएको बताए ।
राजपाको दिशाहीन राजनीतिले गर्दा कांग्रेस माओवादीले मधेशको सिङ्गो मधेशको अस्तित्वमाथि प्रहार गर्ने मौका पाएको उनले जिकिर गरे ।‘पहाडमा एमालेसँग पराजय भोगेका कांग्रेस माओवादीलाई पहिलेदेखि नै थाहा थियो मधेशमा पनि पराजय निश्चित छ’– संघीय समाजवादी फोरम नेपाल मधेशमा पहिलो पार्टी बन्ने दाबी गर्दै अध्यक्ष यादवले भने,– ‘त्यहीँ डरले उनीहरुले आठ जिल्लाको निर्वाचनलाई स्थगित गरेका हुन् ।
Facebook Comments