
काठमाडौँ, १ असार । सङ्घीय समाजवादी फोरम, नेपालले विहीबार काठमाडौँको पुस्पलालपथ, खुसीबुँस्थित नेपाः ब्यांक्वेटमा पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भब्यताका साथ तेस्रो पार्टी स्थापना दिवस मनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा नेवाः प्रदेश समितिका अध्यक्ष न्हुच्छेलाल महर्जनको अध्यक्षतामा भएको सो कार्यक्रममा श्रेष्ठले सङ्घीयताका लागि तराई काङ्ग्रेस, सद्भावना, जनमुक्ति लगायतका पार्टीहरूले कुराको उठान गरेको भए पनि ती पार्टीहरूले पहिचानको मुद्दा नबोकेको हुँदा तिनीहरूको माग प्रशासनिक सङ्घीयतामा सीमित भएको भन्दै ससफो अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेस जन विद्रोह र आदिवासी जनजातिहरूको सङ्घर्षले नेपालमा पहिचान सहितको सङ्घीयताको आवश्यकतालाई उजागर गरेको कुरा बताए ।
उनले सङ्घीयताको सन्दर्भमा मात्र नभई बहुराष्ट्रिय मुलुकको समाजवादको ढाँचामा समेत तत्कालिन मधेसी जन अधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस समावेशी राष्ट्रिय पार्टीको समान धारणा भएकाले नै तीन पार्टीबिच ऐतिहासिक एकीकरण भएको स्मरण गरे ।
श्रेष्ठले पहिचानको मुद्दाले जातीय द्वन्द्व बढ्ने र देशको विकास नहुने भन्नेहरूका लागि इथियोपियाको उच्च वृद्धिदरले पाठ सिकाएको भन्दै विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार सन् २०१७ मा पहिचान सहितको सङ्घीयता भएको मुलुक इथियोपियाको आर्थिक वृद्धि विश्वमै सबैभन्दा उच्च ८ दशमलव ३ प्रतिशत हुने प्रक्षेपणले स्पष्ट पारेको बताए । पहिचान, सङ्घीयता र स्वशासनले आफ्नो ठाउँको विकास आफैले गर्न पाएका कारण इथियोपियाको आर्थिक वृद्धि उच्च हुन पुगेको उनले बताए ।
उनले नेपालमा पनि पहिचान र समृद्धि, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वायत्तता, भाषिक समानता लगायतका मुद्दा बोकेको तथा नेपाली क्रान्तिको सिद्धान्तको रूपमा सङ्घीय समाजवादलाई आत्मसात गरेको ससफो, नेपाल नै वैकल्पीक राजनीतिक शक्ति भएकाले परिवर्तनका पक्षधर सम्पूर्ण जनतालाई आफ्नो पार्टीमा एकताबद्ध हुन आव्हान गरे । उनले आफ्नो पार्टीले विश्वमा नै समाजवादको नयाँ नमुना प्रस्तुत गरेको समेत जिकिर गरे ।
श्रेष्ठले स्थानीय तहको निर्वाचनको सन्दर्भमा राष्ट्रिय जनता पार्टी नीति सिद्धान्तमा भन्दा कति चरणमा निर्वाचन गराउने जस्ता प्राविधिक विषयमा अलमलिएको भन्दै आफ्नो पार्टीले वर्तमान राजनीतिक शक्ति सन्तुलनको मुल्याङ्कन गरी संविधान संशोधनको पहललाई जारी राख्दै निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गर्ने नीति लिएको बताए । उनले स्थानीय निर्वाचन संविधान संशोधनसँग नभई विकाश निर्माणसँग सम्बन्धित भएकाले जनतासँग सम्बन्ध राख्न, प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न तथा प्रदेशको निर्वाचनभन्दा अगाडी संविधान संशोधन नभए पुनः आन्दोलनमा जानका लागि शक्ति सञ्चय गर्न निर्वाचनलाई उपयोग गरेको बताए ।
नेवाः प्रदेशका मुख्य सचिव सन्तोष सिलवालले सञ्चालन तथा केन्द्रीय सदस्य मञ्जु अन्सारीले स्वागत गरेको उक्त कार्यक्रममा पार्टी सचिव रत्नेश्वर लाल कायस्थले पार्टीले अग्रगामी परिवर्तनका लागि उठाएको कुनै पनि विषय नछोडेको बरु निर्वाचनको क्रममा पनि त्यस विषयलाई जनताको बिचमा लाने काम गरेको भन्दै आाफ्नो पार्टीले लिएको नीति सहि भएको बताए । उनले पार्टी एकीकरणले सशक्त राष्ट्रिय पार्टी निर्माण भएको बताए । पार्टी राजनीतिक समिति सदस्य राजन केसीले दुई वर्षको अवधिमा देशको राजनीतिमा यति धेरै प्रभाव पार्न सक्नु सामान्य कुरा नभएको भन्दै यो पार्टी केही वर्षभित्रै देशको पहिलो पार्टी बन्ने बताए । कार्यक्रममा केन्दीय सदस्य द्वय डा गणेश योञ्जन तथा लाल वहादुर तामाङले पनि मन्तव्य दिएका थिए ।
कार्यक्रममा पार्टीका सल्लाहकार समिति प्रमुख डा महेशमान श्रेष्ठ, राजनीतिक समिति सदस्य धीरेन्द्र वहादुर श्रेष्ठ, डा पुस्पराज राजकर्णिकार, डा गणेश योन्जन, आङकाजी शेर्पा, आङ्देण्डी शेर्पा, नहेन्द्र प्रधान, विद्ध्युत बज्रचार्य, सोनी लामा, लालबहादुर तामाङ, लिला सिटौला, रमेशचन्द्र प्रधान, पवित्र वज्राचार्य लगायत नेताहरु उपस्थित थिए । सो अवसरमा माओवादी केन्द्रका नेता विश्वनाथ तामाङ, काठमाडौँको चन्द्रागिरी नगरपालिकाको मेयरका उम्मेदवार विमल श्रेष्ठ, काठमाडौका स्थानीय बुद्धिजीवी महेश्वर विलाश जोशी लगायत करिब पाँच दर्जन युवाहरु सङ्घीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।
Facebook Comments