
गुप्ता आफूले पार्टीमा समेत निर्वाचनमा जानुपर्ने धारणा राखेको बताउँछन्। उनी प्रश्न गर्छन्- ‘त्यत्रो दिनदेखि यत्रो समय संघर्षमा छौं, उपलब्धी खै ? बरु ब्याटेल छाडेर जनतामा गई ब्यालेटको प्रेसरले उपलब्धी प्राप्त गर्न सजिलो हुन्छ।’ उनी आफूलाई पार्टीभित्र कारबाही हुनसक्ने भए पनि जनताको मान्छे भएकाले कुनै डर नभएको बताउँछन्। गुप्तालाई जस्तै राजपा तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका मनमोहन चौधरीलाई पनि जनताको मतमा विश्वास छ।
उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखका उम्मेदवार बनेका छन्। ‘नगरपालिका भर्खर बनेको छ। धेरै समस्या छन्। ती समस्या समाधान गर्न जनताले राम्रो मान्छे खोजेका छन्,’ चौधरी भन्छन्, ‘जनतासँग भिजेको, यहाँको समस्या बुझेको तिमीजस्तो मान्छे मेयर हुनुपर्छ भनेर मलाई यहाँका जनताले दबाब दिए। जनताको मनोभावना बुझेर मैले उम्मेदवारी दिएको हुँ।’ ‘कारबाही गर्ला नि त पार्टीले?’ चौधरीले प्रश्न भुइँमा झर्न नपाउँदै भने, ‘जनताको इच्छाले उठेको हो। मेरो पार्टीले पनि जनताको मनोभावना बुझ्छ भन्ने मेरो अपेक्षा छ।’
चौधरी मनोनयन दर्ताको अघिल्लो दिन असार ३ गतेसम्म उम्मेदवार बन्ने सुरुमा थिएनन्। उनी भैरहवामा थिए। ‘फर्किएपछि मलाई स्थानीय जनताको व्यापक दबाब भयो। थेग्नै गाह्रो भयो। त्यसैले उम्मेदवारी दिएँ,’ उनी आफू उम्मेदवार बन्नुको कारण बताउँछन्। जिल्ला स्तरका नेताहरुबाट किन निर्वाचनमा उठेको भन्दै चौधरीले पनि प्रश्नको सामना गरिरहेका छन्। केन्द्रीय नेताहरु भने सम्पर्कमा नरहेको उनले बताए। केन्द्रीय नेताहरुजस्तै आफ्नो पनि संविधान संशोधन र स्थानीय तहको संख्या थप लगायत मागमा स्पष्ट सहमति र समर्थन रहेको उनी बताउँछन् ।
‘राजपाका मागहरु सरकारले पूरा गर्नपर्छ भन्ने मेरो मान्यता हो, सरकारले धेरैपटक छल गरेको छ,’ उनी भन्छन्, ‘जनताबाट निर्वाचित भएर दबाब दिन लाग्छु।’ गुप्ता र चौधरी दुवैलाई स्थानीय राजपाका नेताहरुले केन्द्रले कारबाही गर्ने त होइन भनेर चिन्ता जनाउँदै प्रश्न सोधेका छन्। कपिवस्तुका गुप्ता र रुपन्देहीका चौधरीको भने एउटै छ – ‘म जनताको मान्छे हो।’
madheshpradesh.com बाट
Facebook Comments