
काठमाडौं ६, असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाउने राष्ट्रिय जनता पार्टी (राजपा) नेता प्रमाण जुटाउन नसकेपछि पन्छिएका छन् ।
फोरम नेपालका अध्यक्ष यादवले प्रमाण पेश गर्न खुल्ला चुनौती दिएपनि घटनाको पुष्टि गर्न राजपा नेता मनिश सुमन पन्छिएका हुन् ।अध्यक्ष यादवको चरित्र हत्या हुने किसिमको राजपा नेता सुमनले लगाएको आरोप मंगलबार चौबिस घन्टा बढी भइसक्दा पनि उनले प्रमाण पेश गर्न सकेनन् ।
जबकि, सुमनले सोमबार दिउँसो रिपोर्टर्स क्लबमा बोल्दै आफूसँग प्रमाण सुरक्षित रहेको दाबी गरेका थिए ।मनिशजी आरोप पुष्टि हुने प्रमाण खै त ? भनेर संचारकर्मीहरुलेप्रश्न गर्दा उनले प्रष्ट जवाफ दिनसकेनन् ।
‘उपेन्द्रजीसँग सार्वजनिक बहस गराउनुस्, त्यहीँ ठाउँमा प्रमाण दिन्छु’– सुमनले भने । तपाइँसँग प्रमाण छ भने पेश गर्न किन ढिलो गरेको भन्दा अकमकाउँदै नेता सुमनले पछि पुष्टि गर्छु भन्दै पन्छिएका छन् ।यता फोरम नेपालका केन्द्रीय सचिव रत्नेश्वर लाल कायस्थले सुमनको आरोपलाई सस्तो लोकप्रियता र राजपा नेताको राजनीतिक विचलन भनेर टिप्पणी गरेका छन् ।
‘हामीले आरोप पुष्टि गर्न खुला चुनौती दिएका थियौंं । उहाँहरुसँग प्रमाण छ भने पेश गरे भैगो नि ।‘चौबिस घन्टा बितिसक्दा पनि आरोप पुष्टि गर्न नसक्नुले नै प्रमाणित हुन्छ, आरोप निराधार हो’– कायस्थले भने ।
आफ्नै नेताहरुको भीडमा हराएकाहरुले मिडिया आउन र सस्तो लोकप्रियताको लागि राजपा नेताहरुले घटिया ढंगले आरोप प्रत्यारोपमा उत्रेको उनले टिप्पणी गरे । फोरम नेपालका नेता कायस्थले राजपा नेताहरुलाई पदीय मर्यादामा रहन र राजनीतिक संस्कार सिक्न सुझाव समेत दिएका छन् ।
Facebook Comments