Loading...
केपी ओलीको दादागिरी बढ्दा फुटको संघारमा एमाले

काठमाडौँ, असार ७ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजनीतिक दलहरुले अस्ति असार ४ गते उम्मेदवारी दर्ता गरे । निर्वाचनमा होमिएका राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आज चिन्ह दिदैंछ । प्रदेश नम्वर एक, पा“च र सातमा निर्वाचनको माहोल ह्वात्तै बढिरहेको छ ।  ३१ बैशाखमा भएको प्रदेश नम्बर तीन, चार र छ को निर्वाचनमा एमाले पहिलो शक्ति बन्यो । प्राविधिक रुपमा हेर्दा अन्य दलहरुभन्दा केही सिट बढी जितेर एमाले पहिलो दल पनि भएकै हो । तर, एमालेभित्रको गडबडीलाई हेर्ने हो भने त्यो जितको खास कुनै अर्थ छैन् । किनभने एमालेभित्र अध्यक्ष केपी ओलीको दादागिरी यसरी बढेर गइरहेको छ कि माधव नेपाल पक्षका नेताहरु आँशु पिएर चल्न विवस छन् । स्रोतका अनुसार ओलीको ज्यादती यस्तो छ कि अवस्था यस्तै रहिरहने हो भने एमाले कुनै पनि दिन, कुनै पनि क्षण विभाजित हुनसक्छ ।  स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटमा जुटिरहदा एमालेभित्र ओलीले ठूलै गडबडी गरिरहेका माधव नेपाल पक्षधर नेताहरुको जिकिर छ । हुन पनि ओली र उनी पक्षधरले कतिसम्म ज्यादती गरेका छन् भने नेपाल पक्षलाई तल्लै तहदेखि बढार्ने नीति लिएको देखिन्छ ।

पहिलो चरणमा निर्वाचन भएको चार महानगरपालिका, एक उपमहानगरपालिकासहित सबैजसो नगरपालिका, गाउँपालिकामा ओलीले आफ्ना अन्धभक्तहरुलाई टिकट दिएका थिए । जस्तो कि काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकामा थोरै मतले पराजित हरिकृष्ण व्यन्जनकार, मतको छिनोफानो हुन बाँकी भरतपुर महानगरपालिकाका देवी ज्ञवाली र पोखरा महानगरपालिकामा विजय हात पारेका मानबहादुर बिसी सबै जना ओली गुटकै भक्त हुन् । ओलीले माधव नेपाल पक्षलाई पेल्नकै लागि उनीहरुलाई टिकट दिएका थिए । जबकि काठमाडौंका हकमा पार्टी सचिव योगेश भट्टराई, दुई पटक केन्द्रीय सदस्य भइसकेका जीवनराम श्रेष्ठ महानगरको मेयर बन्न आकांक्षी थिए । उनीहरुलाई पाखा लगाउदै जिल्ला सचिवको मात्र हैसियतमा रहेका विद्यासुन्दरलाई ओलीले टिकट भिडाए ।  ललितपुर महानगरपालिकामा पनि महर्जन थरका व्यक्तिलाई टिकट दिएको भए एमालेले जीत हात पार्ने नेपाल पक्षको ठम्याइ छ । ओली बरु हार स्वीकार गर्न तयार भए । तर, आफ्नो गुट निकट नभएकैले उनले त्यहाँ महर्जन थरका व्यक्तिलाई महानगरपालिकाको टिकट दिएनन् ।

स्मरणीय के छ भने ललितपुर महानगरभित्र निर्णायक मत महर्जनहरुको छ । त्यसो त पोखरा महानगरमा पनि रवीन्द्र अधिकारीलगायत नेताहरु मेयरका आकांक्षी थिए । ओलीले उनलाई समेत पाखा लगाउँदै आफ्नै गुटका वफादार जिसीलाई टिकट दिए । उनी ओली गुटको भए पनि वामदेवका बढी निकट हुन । भरतपुरका एमाले उम्मेदवार ज्ञवाली पनि ओलीकै वफादार हुन् । यो क्रम ओलीले पहिलो चरणमा निर्वाचन भएको एक मात्र उपमहानगरपालिका हेटौंडामा पनि दोहोरयाए । त्यहाँ टिकट पाएर मेयर जितेका हरिबहादुर महत पनि ओली गुटकै वफादार हुन् ।  महानगरपालिका र उपमहानगरपालिकाहरुमा मात्र होइन्, नगरपालिकाका मेयर बनाउने कुुरामा पनि ओलीको तानाशाहीपन हावी भयो । यसको एक अब्बल उदाहरण हो, काठमार्डौकै बुढानिलकण्ठ नगरपालिका । एमालेको तीन नम्बर प्रदेश कमिटीले बुढानिलकण्ठ नगरपालिकामा पाँच नम्वर निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष समेत रहेका निलम कार्कीलाई टिकट दिने निर्णय गरेको थियो । कतिसम्म भने प्रदेश संयोजक तथा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कार्कीलाई फोन गरेर टिकट लिन आउनु भनेर बोलाई सकेकी थिइन । तर, अन्तिम क्षणमा ओलीले बुढानिलकण्ठको मेयरमा हस्तक्षेप गरी आफ्ना अनुचर उद्धव खरेललाई मेयरको उम्मेदवार बनाए ।

 ओलीले यसरी हस्तक्षेप गर्नुको कारण एउटै थियो, जो हो कार्की नेपाल पक्षधर थिए । स्मरणीय यो छ कि खरेल पशुपति विकास कोषको सदस्य हुँदा पशुपतिको जग्गाको वालुवा अवैध रुपमा ठेक्का दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका पात्र हुन् । तर, आफ्नो गुटको वफादार सदस्य भएकाले ओलीले तिनै दागी खरेललाई च्यापे । इमान्दार कार्कीलाई पाखामा धकेले । उल्लेखित घटना ओलीले एमालेभित्र नेपाल पक्षलाई तह लगाउन गरेका केही प्रतिनिधि सुचांक मात्र हुन् । यस्ता घटनाको फेहरिस्त निकै लामो छ ।  पहिलो चरणको निर्वाचनमा ओलीले पार्टीभित्र जे जति अन्याय गरे पनि दोस्रो चरणमा न्याय गर्लान भन्ने अपेक्षामा थियो, माधव नेपाल पक्ष । तर, तानाशाही प्रवृतिका ओलीले दोस्रो चरणको उम्मेदवार छनोटमा पनि नेपाल पक्षमाथिको ज्यादती कायमै राखेका स्रोतहरुको दावी छ । स्रोतका अनुसार दोस्रो चरणमा विराटनगर महानगरपालिकादेखि अन्य उपमहानगर र नगरपालिका हुँदै गाउँपालिकासम्ममा ओलीले आफ्नै वफादारहरुलाई उम्मेदवार बनाएका छन् । जसका कारण नेपाल पक्ष सहयोग गर्ने कि नगर्ने भन्ने बिलखबन्दमा परेको छ । नेपाल पक्षीय एक पोलिटब्युरो सदस्यका भनाइमा ओलीको ज्यादतीका कारण यो पक्ष यस्तो अप्ठ्यारोमा छ कि राम्रा–राम्रा स्थानमा एकलौटी भएकाले नखाउँ दिनभरको शिकार, खाउँ कान्छा बाउको अनुहार भन्ने उखान चरितार्थ भइरहेको छ । ती नेता भन्छन्, ‘यसको अर्थ यो हो कि निर्वाचनमा सहयोग नगरौं, एमाले नामको पार्टीका उम्मेदवार हार्ने त्रास छ । सहयोग गरौं ओलीको तानाशाह अझ बढेर जाने संकेत ढोकैमा प्रष्ट देखिइसकेको छ ।’

दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा ओलीले आफ्ना वफादार विनोद ढकाललाई टिकट थमाएका छन् । जबकि यहा“ नेपाल पक्षबाट महेश रेग्मीलगायत प्रतिस्पर्धाको मैदानमा थिए । उनीहरु ढकालभन्दा अग्रज पनि हुन् । तर, ओलीले आफ्ना लागि रसदपानीको व्यवस्था गरिदिने ढकाललाई नै टिकट दिएर छाडे । बिराटनगर मात्र के सिङ्गो मोरङमा ओली पक्षले एकलौटी गरेको भन्दै नेपाल निकटहरुले उनलाई उजुरी नै दिएका छन् । नेपाल पक्षले कतिसम्म चेतावनी दियो भने बागी मेयर उठाएर जिताइदिने एमाले सांसदकै भनाइ थियो । मोरङ क्षेत्र नं ८ बाट निर्वाचित एमाले सांसद चन्द्रबहादुर गुरुङ विगतमा पञ्चायतकालमा जनपक्षीयबाट एक पटक र बहुदल आइसकेपछि दुई पटक गरी तीन पटक गाविस अध्यक्ष जितेका जनप्रतिनिधि हुन् । एमालेलाई चौथो जित दिलाएर ०७० सालमा सांसद जितेका उनी अहिले आफ्नै गृहनगरमा पार्टीले कसलाई उम्मेदवार बनायो भन्नेमा बेखबर रहेछन् ।

सांसद गुरुङले १५ वर्षसम्म अध्यक्ष चलाएको इन्द्रपुर गाविस अहिले सुन्दर हरैंचा नगरपालिका बनेको छ । यहा“ कसले जित्छ ? जित्न के गर्नु पर्छ ? गुरुङ जतिका अनुभवी नेतालाई जानकारी नहुने कुरै भएन । तर, कसलाई टिकट दिउँ भनेर उनलाई न त जिल्ला पार्टीले एक शब्द सोध्यो न केन्द्रले नै । उनलाई एक शब्द पनि नसोधी ओली ‘महाराज’ ले त्यहा“ आफ्नो गुटमा सक्रिय जग्गा दलाललाई टिकट दिएछन् ।  यो असह्य सुनेपछि निर्वाचित सांसद गुरुङ माधव नेपालको ढोका ढक्ढक्याउन आइपुगेछन् । तर, ओलीको एक छत्रराज अघि नेपालको पनि के नै पो चल्थ्यो र ? गुरुङ उल्टै निरिह बन्दै जिल्ला फर्कन बाध्य भए । स्रोतका अनुसार सांसद गुरुङ कोशी हरैंचा नगरपालिकामा पुराना र क्षमतावान नेता एवं अहिले नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य राजकुमार ओझालाई मेयरमा उठाउनुपर्ने माग राख्दै नेपालकोमा आइपुगेका थिए । ओझा जनतासँग भिजेकाले उनी बाहेक अरुले जित्न नसक्ने गुरुङको दावी थियो । नेपालले गुरुङकै अघि ओलीलाई फोन गरे ।

ओलीले के रहेछ म हेरौला भन्दै नेपालको फोन राखेंका थिए । तर, ओलीले हेर्नुको साटो भोलिपल्ट एक सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिए, ‘जो जसले टिकट पाएका छन् । त्यो फेरबदल हुन्न । पार्टीलाई असहयोग गर्नेहरुलाई कारवाही गरिनेछ ।’ कोशी हरैंचा नगरपालिकामा बिराटनगर महानगरपालिकाका मेयर उम्मेदवार तथा मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले ओली गुटका भक्त केदार गुरागाईलाई मेयरको टिकट दिएका थिए । तर गुरागाईलाई मेयरमा उठाए एमालेले हार्ने सांसद गुरुङले नेपाललाई विवरण दिएका थिए । कतिसम्म भने मोरङ जिल्लामा केपी ओली पक्षले पुराना एवं त्यागी कार्यकर्तालाई पाखा लगाउँदै एकलौटी ढंगले पैसावालहरुलाई टिकट दिएको नेपाल पक्षको पीडा छ । ओझाजतिको जनपक्षीय नेतालाई टिकट नदिए आफूले बागी उठाएर जिताइदिने चेतावनी समेत दिएका थिए गुरुङले नेता नेपाललाई । यही चेतावनी सुनेपछि नै गुट च्याप्न अन्धो बन्ने ओलीले उम्मेदवार फेरवदल नहुने र आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेलाई कारवाही गर्ने काइते चेतावनी दिएका थिए ।

एमालेका एक पोलिटब्युरो सदस्यका भनाइमा कोशी हरैंचाको मेयरमा राजकुमार ओझा र उपमेयरमा अक्कली चौधरीलाई उठाउनुपर्ने स्थानीय जनताको माग थियो । तर, आफ्नो गुटमा नभएकैले ओलीले यी नामहरुलाई लत्याएका छन् । मोरङमा सुन्दर हरैंचा नगरपालिका बिराटनगरपछिको दोस्रो ठूलो नगरपालिका हो । मोरङको उदाउँदो शहरका परिचित बिराटचोक, सलकपुर, हरैंचा लगायतका बजारलाई समेटेर बनेको सुन्दर हरैंचा नगरपालिका बिराटनगरपछिको आकर्षक र ठूलो स्थानीय तहमा गनिन्छ । यस नगरपालिकोको जनसंख्या ८१ हजार ५ सय १८ छ । मोरङ जिल्लाका १७ स्थानीय तह छन । यी सबैजसो स्थानीय तहमा ओलीले आफ्नै गुटका वफादारहरुलाई टिकट दिएका मोरङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने एमालेका एक नेताले समयवद्धलाई बताएका छन् ।

ओलीले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि आफू निकटलाई नै टिकट दिलाएका छन् । बुटवल उपमहानगरपालिकाको मात्र के कुरा ? ओली राजको ज्यादतीले देशैभर नेपाल पक्ष पीडित छ । त्यसैले नेपाल पक्षका एक ऊर्जावान नेता भन्छन्, ‘अवस्था यस्तै एमाले ०५४ साल फागुनमै जस्तो फुट्न पनि सक्छ ।’

jhilko.com बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *