Loading...
माओवादी नेताहरु रोल्पाका गाउँ गाउँमा समग्र समृद्धिसहितको एजेण्डा लागू गर्नेमा नेताहरुको जोड

  रोल्पा, ७ असार । स्थानीय तहको निर्वाचनमा मतदानको मिति नजिकिदै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेताहरु रोल्पाका गाउँगाउँमा पुगेर पार्टीका उम्मेदवारलाई मत मागिरहेका छन् । माओवादी केन्द्रका कार्यालय सदस्य एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, कार्यालय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त, कार्यालय सदस्यहरु कुलप्रसाद केसी सोनाम, जयपुरी घर्तीलगातका नेताहरु रोल्पाका विभिन्न गाउँगाउँमा पुगेका छन् । माओवादी केन्द्रले रोल्पाका १० वटै पालिकामा जित हाँसिल गर्ने योजना बनाएको छ । रोल्पामा एक नगरपालिका र नौ गाउँपालिका छन् । माओवादीका नेताहरुले अधिकांश स्थानमा सहजै र केहीं स्थानमा प्रतिस्पर्धाकाबीचबाट जित हाँसिल गर्ने दावि गरेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेता महरा सुनछहरी नगरपालिकाको पोबाङमा आयोजित चुनावी सभाको सम्बोधन, सुवर्णावती र लुंग्री गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई संबोधन गरेर प्यूठानतिर लागेका छन् । उनले सुलीचौर थबाङ सडकको बहुचर्चित खण्ड सिरक्याङ भीरमा नेपाली सेनाले खोलेको ट्रयाकको अवलोकनसमेत गरेका छन् । माओवादी केन्द्रका अर्का प्रभावशाली नेता वर्षमान पुन अनन्त मनोनयन दर्तादेखि रोल्पामै छन् । उनले रोल्पा नगरपालिकाको लिबाङ, माडी गाउँपालिकाको घर्तिगाउँ, सुनछहरी गाउँपालिकाको पोबाङ, रोल्पा नगरपालिकाकै कोटगाउँ, त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा चुनावी सभा र सुवर्णावती र लुंग्री गाउँपालिकाको अगुवा कार्यकर्ता भेटघाटलाई संबोधन गरेका छन् । उनले साना ठूला भेटघाट गर्दै पार्टीका उम्मेदवारलाई भोट मागिरहेका छन् । उनी आज रुन्टीगढी गाउँपालिकाको चुनावी सभालाई संबोधन गरेर दाङ झर्दैछन् ।

अर्का युवा नेता कुलप्रसाद केसी सोनाम रुन्टीगढी गाउँपालिकाको होलेरी, त्रिवेणी गाउँपालिकाको जुँगारलगायतको चुनावी सभालाई संबोधन गरेका छन् । अर्का कार्यालय सदस्य जयपुरी घर्तीले दुईखोली गाउँपालिकाको दुईखोली, पोलिट्व्यूरो सदस्य झक्कु सुबेदीले थबाङ गाउँपालिकाको थबाङ, पोलिट्व्यूरो सदस्य जोखबहादुर महराले सुवर्णावती गाउँपालिकाको सुलीचौर र लुंग्री गाउँपालिकाको बडाचौर, पोलिट्व्यूरो सदस्य दीपेन्द्र पुन सिजलले सुकीदह गाउँपालिकाको जिनाबाङ, मानबहादुर बुढा विकल्पले सुनछहरी गाउँपालिकाको पोबाङको चुनावी सभालाई संबोधन गरिसकेका छन् । माओवादीका स्थापित नेताहरुले गाउँगाउँमा पुगेर आफ्नो पार्टीले देशैभर र रोल्पाका लागि आफ्नो पार्टीले गरेको कामहरु जनतालाई सुनाईरहेका छन् । रोल्पाका नेताहरुले जिल्लाको विकासको लागि माओवादीले कुनै कसर बाँकी नराखेको बताईरहेका छन् ।

घोराही थबाङ सहिदमार्ग निर्माण, प्यूठान रोल्पा सडक कालोपत्रे, लिबाङ दारबोट सडक, माडीचौर जिनाबाङ सडक, सुलीचौर गाम सडक, घर्तिगाउँ राँक सडक, दर्जनौँ पक्की पुलको निर्माण लगायतका सामरिक महत्वका सडकहरु माओवादीको पहलमा निर्माण भएको नेताहरुले बताएका छन् । माओवादीकै पहलमा अहिले उवा बाहेक रोल्पाका स्थानीय तहका हरेक वडालाई सडक सञ्जालले जोडेको र प्राय सबै वडामा रिङरोड बनेको जनतालाई प्रष्ट पारिरहेका छन् त्यसैगरी लिबाङमा प्राविधिक शिक्षालय, रेउघाको जिल्ला अस्पतालको स्तरउन्नती, माडीचौरमा कृषि क्याम्पस निर्माण सुरुजस्ता माओवादीले गरेको कामको पनि प्रचार गरिरहेका छन् ।

स्थानीय उद्योग, कृषिको व्यवसायीकरण, जिल्लाका सहकारीमार्फत स्वरोजगार कोषको कार्यक्रम लागू गरेर स्वरोजगारको सृजना जस्ता कार्यक्रमको बारेमा जनतालाई सुनाईरहेका छन् । माओवादी नेताहरुले रोल्पाली जनताले निर्वाचित गरेका र रोल्पामा जन्मिएका माओवादीका नेताहरु नै अहिले देशको महत्वपूर्ण स्थानमा रहेकोले रोल्पामा माओवादीको कुनै विकल्प नभएकोसमेत बताइरहेका छन् । ‘हामीले रोल्पाको विकासका लागि कुनै कसर बाँकी राखेका छैनौँ, विकासका धेरै काम पूरा भएका छन्, धेरै काम सुचारु छन् र, धेरै काम सुरु हुनेवाला छन्,’ माओवादीका जिल्ला ईन्चार्ज दीपेन्द्र पुन सिजलले भने, ‘तर हामी हामीले गरेका काम जनतामा भन्न सकिरहेका छैनौँ, अरु पार्टीकाले सिन्को नभाँचेको कामलाई पनि पहाड फोर्यौँ भनेर प्रचार गरिरहेका छन् ।’ उनले यसपाली जनतालाई सबै कुरा प्रष्ट पारिएको बताए ।

जिल्ला ईन्चार्ज पुनले रोल्पाका सबै गाउँपालिकामा माओवादीले जित्ने दावि गरे । ‘हामीले जितिसकेका छौँ, अब त्यो व्यालेट बक्समार्फत प्रमाणित गर्नमात्रै बाँकी छ,’ पुनले भने, ‘अब हामी रोल्पाका सबै तहमा विजयी हाँसिल गरेर माओवादीको वास्तविक जनपक्षीय एजेण्डा लागू गर्न चाहान्छौँ ।’ जिल्लामा माओवादीका शिर्ष नेताहरु नै मैदानमा उत्रिएर भोट माग्न थालेपछि आफ्ना कार्यकर्ताहरु झनै उत्साहित भएको र विपक्षी पार्टीहरुको मनोबल कम्जोर हुँदै गएको माओवादी केन्द्रका स्थानीय नेताहरुले दावि गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *