
काठमाडौं, ७ असार । राष्ट्रिय जनता पार्टी नेपालका प्रभावशाली नेता राजकिशोर यादवले गणतन्त्रका लागि संघर्ष गरेका महन्थ ठाकुरविरुद्ध अभिव्यक्ति दिने कार्य स्वीकार्य नभएको बताएका छन् ।नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता यादवले गणतन्त्रका लागि महन्थ ठाकुरले जति योगदान कुनै पनि मधेसी नेताहरूले नदिएको दाबी गरे ।
‘महन्थ ठाकुरजीले गणतन्त्रका लागि संघर्ष गरेको ठूलो नेता हो’, उनले भने, ‘उहाँको योगदानको कसैले अबमूल्यन गर्न पाउँदैन ।’संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस क्रान्तिका बेला राजपा नेपालका नेताहरू सरकारमा बसेर दमन गरेको भनेर कठोर अभिव्यक्ति दिइरहेका बेला राजपाका नेता राजकिशोर यादवले आफूहरूको बचाउ गरेका हुन् ।
उपेन्द्र यादवका पछिल्ला अभिव्यक्तिहरूप्रति आक्रामक देखिएका नेता यादवले भने, ‘दरबारबाट पैसा लिएर पहिलो संविधानसभा चुनाव लड्नेहरूले अहिले आएर ठूला कुरा गर्न मिल्दैन ।’राजपा नेता यादवले भने, ‘मधेसका जनताको पक्षमा संघर्ष गर्ने राजपा मात्रै सच्चा पार्टी हो । अरु कहाँबाट साञ्चालित छन् थाहा छैन ।’राजपाको आन्दोलनलाई नयाँ तरिकाले अगाडि बढाउने तयारी भएको उनले बताए । ‘अहिले हामी संघर्षमा छौँ । आन्दोलनलाई कसरी नयाँ तरिकाले उर्जासहित अगाडि बढाउने भनेर छलफल गरिरहेका छौँ’, नेता यादवले भने ।
Facebook Comments