
पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्ज उपमहानगरपालिकाको लागि मेयर पदमा बलियो प्रतिस्पर्धी भएर संघीय समाजवादी फोरम नेपालको तर्फबाट चुनावी मैदानमा होमिएका कमरुदीन राईनले नेपालगंजको स्थानीय समस्याको उठान गर्दै त्यसको ठोस समाधानसहित चुनावी एजेन्डा बनाएका छन् । प्रस्तुत छ, चुनावी प्रचार प्रसार र घरदैलोमा व्यस्त मेयर पदका उम्मेदबार राईनसँग गरिएको संक्षिप्त कुराकारी ।
नेपालगञ्ज उपहानगरका समस्या के के हुन ?
यहाँको मुख्य रुपमा फोहर, ढल, सडक, खानेपानी, अव्यवस्थित बसोबास, शिक्षा, स्वास्थ्य, जनताको दिनचर्याका र किसानको समस्या हो भने राजनीतिक रुपले विगत लामो समयदेखि कांगे्रस, एमाले, माओवादीले यो नगरलाई भ्रष्टाचारको अखडा बनाएका छन् । यसको समाधान कसरी गर्ने योजना छ ?
फोहरको दीर्घकालीन समाधानलाई पहिचान गरी त्यसको प्रकार छुट्याउने र त्यस अनुसारको व्यवस्थापन गर्ने हो । फोहोरलाई पनि व्यवस्थापन गर्ने हो भने नगरको आम्दानीको स्रोत बनाउन सकिन्छ । यसमा दृढ इच्छा शक्ति र कुशल व्यवस्थापकको कमी छ, जनताले मेरो विजयसँगै उपलब्धि प्राप्त गर्नेछन् ।
ढल व्यवस्थापन ः
नेपालगञ्जका जनताले अहिलेसम्म वर्षायामको सास्ती खेप्दै आएका छन् । ठूलो पानी परेका बेला सहर पूरै डुबानमा पर्ने गरेको छ । ढलको सही ढंगले मर्मत र व्यवस्थापन गर्न नसक्दा यो समस्या जनताले भोग्दै आउनु भएको छ ।
ढल व्यवस्थापनका लागि वर्षेनी बजेट निकासा हुने गरेको छ । तर, ठूला दलका नेताहरुले कर्मचारीहरुको मिलेमतोमा सरकारी बजेट झ्वाम पार्ने गरेका छन् । कांग्रेस, एमाले र माओवादी विकास विरोधी पार्टी भईसकेका छन् । यिनीहरुले विकासको कुरा मात्रै गर्छन् तर काम गर्दैनन् । विगत २० वर्षदेखि यिनीहरुले विकासको कुरा मात्रै गरिरहेका छन् । अब यही चुनावमार्पmत जनताले यस्ता पार्टीलाई भोट नदिएर डण्डित गर्नेछन् ।
सडक
यस नगरलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ । यसका लागि सडक पूर्वाधार चाहिन्छ । सडकको विकास गर्न जरुरी छ ।
अर्काे कुरो सहरलाई परिक्रमा गर्ने रिङरोड बनाउने योजना पनि छ । अनि नाकाहँुदै सहरबाट बाहिरिने मालबाहक गाडीहरुलाई बाइपास बाटो बनाएर यो सहरलाई अनावश्यक भिडभाडबाट मुक्ति दिलाउनु पर्ने छ । यसैगरी सडक बत्ति लगाएर सहरलाई उज्यालो बनाउनुपर्ने छ ।
खानेपानी
यहाँ पानीको स्रोत त छ । तर पिउनयोग्य छैन । स्वच्छ पिउनेपानीले जनताको स्वास्थ्यमा प्रत्यक्ष सराकार राख्ने हुनाले नगरपालिकाको जनताको स्वास्थ्यसँग पनि सरोकार राख्नेहुनाले यस क्षेत्रमा पनि काम गर्नुपर्ने हुन्छ ।
शिक्षा र स्वास्थ्य
यहाँका दलित तथा गरिब परिवारका बालवालिका शिक्षाबाट बञ्चित हुन नपरोस भनेर पनि उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याएरै अभियानको रुपमा घरदैलो गएर बालवालिकालाई गुणस्तरीय शिक्षाको प्रतिवद्धत जनाएको छु । यो सामाजिक जीवनको महत्पूर्ण कार्य भएकाले मेरो यसमा विषेश रुची पनी छ ।
अव्यवस्थित बसोबास
हिजोआज बसाइ सराइ गरी आउने क्रम तीव्र भएको छ । योसँगै नगर क्षेत्रमा नयाँनयाँ घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ । अहिले जथाभावी रुपमा भवन निर्माणको अनुमति दिइदा सहरको सुन्दरता बिग्रिदै गएको छ । अब सफा, सुन्दर हरियाली सहर निर्माणका लागि पनि काम गर्नुपर्ने छ ।
भ्रष्टाचार
भ्रष्टाचार यहाँको मुख्य समस्या हो । यो नगरमा पहिला पनि ठूलो बजेट थियो । यो सबै यहाँका ठूला दलहरुले आपसी मिलेमतोमा खाने गरेका छन् । उनीहरुले भ्रष्टाचारलाई संस्थागत नै गरेका छन् । त्यसैले नगरबासीले आजको दिनमा सास्ती खेप्नु परेको छ । अबको मेरो पहिलो राजनीतिक एजेण्डा नै भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाउने हो ।
कृषक
यस उपमहानगरपालिको आधाभागमा कृषकहरुको बसोवास छ । यो क्षेत्र भनेको देशको जीडीपीलाई योगदान दिने क्षेत्र हो । यसकारण मैले कृषि क्षेत्रको आधुनिकीकरणमा ध्यान दिएको छु । कृषि क्षेत्रको विकास हुँदा जनताको आर्थिक उन्नति हुन्छ, आर्थिक हैसित सुध्रिन्छ ।
यस क्षेत्रमा बजारको अभाव छैन । कृषकले उत्पादन गरेका चिजहरु यहीँको बजारमा खपत हुन्छ । कृषि क्षेत्रको विकास गर्न सके यहाँका युवाहरुलाई विदेश पलायन हुनबाट पनि रोक्न सकिन्छ ।
मैले प्रत्येक कृषकको घरमा सिंचाइ विजुलीको व्यवस्था गर्ने योजना बनाएको छु । प्रत्येक दश कठ्ठा बराबर एक सिंचाइ डिप बोरिङ निःशुल्क व्यवस्था गर्नेछु ।
सबै जनताले भोट दिनेछन्
यस क्षेत्रमा धार्मिक रुपमा मुस्लिम र हिन्दु समुदाय मिश्रित बसोबास छ । वर्षौदेखि यी समुदाय आपसमा सामाजिक एकताका साथ बसोबास गर्दै आएका छन् ।
हाम्रो पार्टीले सबै जाति भाषा, धर्म र समुदायको एकताको पक्षमा संघर्ष गरिरहेकाले यहाँका जनताले मलाई भोट दिनुहुनेमा पूर्ण विश्वस्त छु ।
Facebook Comments